१९ कात्तिक, काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेले आफू कारागारबाट बाहिर निस्कनासाथ सार्वजनिक भएको पत्रबारेमा आफूलाई केही थाहा नभएको बयान दिएका छन् ।
जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा पुगेका उनले सबैतिर भीडभाड र हुलदंगा भएपनि कारागारकै सुरक्षाकर्मी र कर्मचारीले आफूलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएको बयानका क्रममा बताएका छन् ।
कारागारबाट बाहिर निस्कने बेलासम्म आफूलाई पत्रबारेमा कुनै जानकारी नभएको भन्दै उनले पछिमात्रै त्यसबारे जानकारी पाएको जिकिर समेत गरे ।
‘कारागार प्रशासनले नै मलाई परिवार र रास्वपा नेताहरूको जिम्मा लगाएर छाडेको हो’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँले आफू निस्कने बेलामा जेलरलाई नभेटेको भन्दै त्यस्तो अवस्थामा अरु केही पनि थाहा नभएको बयान दिनुभएको छ ।’
जाँचबुझ आयोगले नख्खु कारागारका जेलसँग पनि सोधपुछ गरेको थियो । सो क्रममा उनले जाँचबुझ आयोगका सदस्यहरूसँग ‘आदेश’ आएपछि पत्र बनाएको बताएको स्रोतले बताएको छ ।
तर, उनले क–कसको आदेश आएको भन्नेचाहीँ बयानका क्रममा खुलाएका थिएनन् ।
जेनजी आन्दोलनको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कार्यकर्ताहरू नख्खु कारागार गएर त्यहाँ रहेका सभापति रवि लामिछानेलाई बाहिर निकालेका थिए ।
त्यसक्रममा जेलरले तयार पारेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो ।
प्रतिक्रिया 4