Comments Add Comment

चितामा राखेकाे कोरोना सं‌क्रमितकाे शवमा रगत देखिएपछि…

१८ कात्तिक, विराटनगर । विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शवलाई चितामा राखेर जलाउन खोज्ने क्रममा रगत देखिएपछि मृतकका आफन्तले तीन घण्टासम्म शव जलाएनन् ।

विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय कपडा व्यापारीको मंगलबार बिहान न्यूरो अस्पताल विराटनगरको कोभिड १९ अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि नेपाली सेनाको शव व्यवस्थापन टोलीले मंगलबार दिउँसो करिब १२ बजे विराटनगर हाटखोलामा रहेको परमबिश्रान्ती घाटमा बनाइएको चितामा शव राखिदिएको थियो । तर शव हेर्दा अनुहारमा रगत देखिएपछि आफन्तले शवबाट मानव अंग निकालेको आशंकामा चितामा आगो लगाउन अस्वीकार गरेका थिए ।

छोरा महावीर रौनियारका अनुसार बुबाको शव दिउँसो १२ बजे नेपाली सेनाको टोलीले घाटमा लगिदिएको थियो । ‘मृत्यु हुँदाको समयमा बुबाको शरीरमा रगत थिएन,’ मृतकका छोरा महाबीरले भने, ‘तर चितामा अन्तिम पटक बुबाको मुख हेर्दा रगत देखिएपछि आशंका लागेर दागबत्ती नदिएका हौं ।’

अस्पतालको चिकित्सकको टोलीले मुखबाट रगत आएको र रगत आउने कारण बताएपछि आफन्तले तीन घण्टापछि मात्रै शव जलाएका थिए ।

न्यूरो अस्पतालका डाक्टर अनिल मेहताका अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको नाक र मुखबाट रगत आउन सक्छ । फोक्सोमा समस्या हुँदा रगत जमेर निस्कन सक्ने उनले बताए । रगत आउन सक्ने कारण बताएपछि आफन्तले अन्तिम संस्कार गरेको उनले बताए ।

१४ कात्तिकमा कोरोना पोजेटिभ देखिएका पुरुषको मंगलबार बिहान ३ः५० मा न्यूरो अस्पतालको कोभिड १९ अस्पतालमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment