Comments Add Comment

२०२१ को एसियन भलिबल च्याम्पियनसिपमा नेपाली टिम पठाउने निर्णय

१ पुस, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले सन् २०२१ मा चीनमा आयोजना हुने एभिसी एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिमलाई पठाउने निर्णय गरेको छ ।

एनभीएको बुधबार बसेको कार्यसमिति बैठकले महिला टिमले एसियन च्याम्पियनसिपमा पठाउन पहल गर्ने निर्णय गरेको हो । एनभीए अध्यक्ष मनोरन्जन रमण शर्माले महिला टिमको पछिल्ला प्रदर्शनहरुको आधारमा यो निर्णय गरेको अनलाइनखबरलाई बताए ।

‘हाम्रो महिला टिमले पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरेका छन् । त्यसैले अर्को वर्ष हुने एसियन च्याम्पियनसिपमा नेपाली महिला टिमलाई पठाउने निर्णय गरेका हौँ,’ शर्माले भने ।

अर्को वर्षको मध्यतिर हुने च्याम्पियनसिपका लागि २०२१ जनवरीसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । कूल १६ टिमले प्रतिस्पर्धा गर्ने च्याम्पियन्सिपमा आयोजक चीनसहित १० राष्ट्र छनोट भइसकेका छन् । सन् २०१९ मा दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा शीर्ष दशमा रहेका टिमहरु सिधै छनोट भएका हुन् ।

जसमा चीन चौथो भएको थियो । आयोजकको हिसाबले चीन छनोट भएको हो । चीनको स्थानको एसियाको अर्को उच्च वरियतामा रहेको हङक पनि छनोट भइसकेको छ । चीन र हङकङसहित अघिल्लो संस्करणको विजेता जापान, उपविजेता थाइल्याण्डसहित दक्षिण कोरिया कजाखस्थान चाइनिज ताइपेई इरान इन्डोनेसिया अष्ट्रेलिया र भारत सिधै छनोट भएका हुन् ।

बाँकी पाँच स्थानका लागि एसियाका पाँच जोनबाट एक एक टिम छनोट हुनेछन् ।

त्यसमध्ये सेन्ट्रल जोनमा नेपाल भन्दा बलियो टिम भारत छनोट भइसकेको र नेपालले गत वर्ष बंगलादेशमा भएको पहिलो संस्करणको महिला सेन्ट्रल जोन जितेकोले नेपालको सम्भावना बढी रहेको छ ।

एसियामा सेन्ट्रल जोनसहित इस्ट जोन वेस्ट जोन साउथ इस्ट जोन र ओसियान जोन रहेको छ ।

अब नेपालले च्याम्पियनसिपमा सहभागिता जनाउनको लागि तोकिएकै मितिमा टिम दर्ता गर्नुपर्नेछ । र त्यसलाई एसियाली भलिबल महासंघ एभिसीले स्वीकृति दिएमा नेपाली महिला टिमले अर्को वर्ष एसियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

बाँकी पाँच स्थानको लागि त्यो भन्दा बढी टिमले दाबेदारी गरेमा प्रदर्शनको आधारमा टिम छनोट गरिनेछ ।

कोरोना महामारीका कारण २०२० मा आयोजना हुने भनिएको सेन्ट्रल जोन लगायत विभिन्न प्रतियोगिता स्थगित/रद्द भएका छन् । जसले गर्दा नेपाली टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएन ।

नेपालको महिला र पुरुष टिमले पछिल्लो पटक एक वर्षअघि नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा प्रतिस्पर्धा गरेका थिए । जसमा महिला टिमले ऐतिहासिक रजत जित्दा पुरुष टिम भने समूह चरणबाटै बाहिरिएको थियो ।

अर्को वर्ष अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा टिम पठाउनका लागि पहल गर्ने योजना बनाए पनि नेपाल भलिबल संघले तत्काल राष्ट्रिय टिमको प्रशिक्षण भने सुरु नगर्ने भएको छ । ‘अहिले ठूलो महामारी छ । यो हेलचेक्राइ गर्ने विषय होइन । हाम्रो आर्थिक अवस्था पनि राम्रो छैन । त्यसैले हामीले तत्काल प्रशिक्षण गर्ने भन्दा पनि पर्ख र हेरको अवस्थामा छौँ,’ संघका अध्यक्ष शर्माले भने, ‘हामीले दुई महिनाको लागि हेर्ने र अवस्था सामान्य भए त्यसपछि प्रिकसनहरु अपनायर प्रशिक्षण सुरु गर्ने विषयमा सल्लाह गरेका छौँ । यो बारे अर्को सम्भवत बैठकमा निर्णय हुनेछ ।’

बुधबारको बैठकले संघका उपाध्यक्ष निरोज मास्केको संयोजक्तवमा नेपाली भलिबल क्लबहरुलाई नियमित गर्नेगरी समिति बनाएको पनि अध्यक्ष शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment