Comments Add Comment

इमर्जिङ प्लेयर बन्नुअघि विवेकले पाएको सरप्राइज

१८ माघ, काठमाडौं । शनिबार सकिएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ सबै खेल हार्ने एक मात्र टिम बन्यो । तर त्यही टिमका एक सदस्य विवेक यादव इमर्जिङ (उदीयमान) खेलाडी चुनिए ।

शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै आर्मी च्याम्पियन बनेको थियो । फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा कमल सिंह ऐरी उत्कृष्ट खेलाडी बन्दा शाहब आलम उत्कृष्ट बलर र पृथु बास्कोटा उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

उदीयमान खेलाडी भने विवेक बने । उनले भने शुक्रबार नै अर्को सरप्राइज पाइसकेका थिए । फ्रेबुअरी दोस्रो साता कतारसँग हुने टी–२० सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउँदा त्यसमा विवेक पनि परे । सिनियर खेलाडीलाई आराम दिएको क्यानले प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा युवा खेलाडी छनोट गरेको थियो ।

‘यसरी छानिन्छु भनेर थाहा थिएन’ विवेक भन्छन्, ‘मेरो लागि सरप्राइजजस्तै भयो । सुरुमा विश्वास नै भएन । आमा–बुबा, साथीभाइको कल आएपछि विश्वास लाग्यो ।’

‘पहिलो पटक राष्ट्रिय टिमको लागि क्याम्पमा परेको छु । मेरो लागि यो ठूलो दिन थियो’ उनले अघि भने ।

बन्द प्रशिक्षणपछि टी-२० सिरिजका लागि १४ जनाको अन्तिम टिम घोषणा हुनेछ । प्रशिक्षणमा राम्रो गर्न प्रयास गर्ने भन्दै विवेकले टिममा पर्ने वा नपर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको सुनाए ।

कक्षा ७ मा पढ्दादेखि क्रिकेटसँग रमाउन थालेका विवेक यहाँसम्म आइपुग्नुमा अनिल यादवको योगदान रहेको बताए । ‘दाइकै कारणले म एकेडेमीमा ट्रेनिङ गर्न जान्थेँ । मलाई क्रिकेटमा ल्याउने श्रेय उहाँलाई नै जान्छ’ विवेकले भने, ‘मेरो फस्ट टुर अन्डर–१९ झापा जिल्ला सेलेक्ससन थियो तर खेल्न पाइन । अर्को पटक मैले पूर्वाञ्चलबाट सातौं राष्ट्रिय खेलेँ । त्यसपछि स्कुल लिग खेलेँ । पूर्वाञ्चलको लिड गरेको थिएँ, फाइनलमा हार्‍यौं ।’

भारतको हैदरावादमा भएको यू–१९ क्रिकेट प्रतियोगिता खेलेका उनी प्रधानमन्त्री कपका लागि प्रदेश २ को टोलीमा परे । ‘हाम्रो टिमले चारमा चारै म्याच हार्‍यो, तर व्यक्तिगत रुपमा प्रदर्शन राम्रो रह्यो’ विवेक भन्छन्, ‘प्रधानमन्त्री कप मेरा लागि ठूलो स्टेज थियो । यहाँ मैले धेरै सिक्न पाएँ ।’

प्रदेश २ बाट समूह चरणमा चार खेल खेलेका उनले दुई खेलमा अर्धशतक प्रहार गरे भने एक खेलमा ४१ रन जोडे । कुल १५७ रन बनाएका विवेक प्रतियोगितामा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा आठौं स्थानमा थिए । उनले प्रतियोगितामा ४ विकेट पनि लिएका थिए । अलराउण्ड प्रदर्शन गरेका विवेकले जुनसुकै अर्डरमा ब्याटिङ गर्दा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment