
१० फागुन, काठमाडौं । साताको दोस्रो दिन सोमबार हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेपनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा झिनो अंकले उकालो आइतबार नेप्से परिसूचक बढेको थियो ।
सोमबार भने नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । तर हाइड्रोपावरको सेयर मूल्यमा चमक देखिएको छ । नेप्सेमा कारोबार हुने सबै समूह घटेर राताम्मे देखिदा समेत हाइड्रोपावर र अन्य समूहमा रहेका केहि कम्पनीहरुको सेयर मूल्य उकालो लागेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले ओरालो लागेर २ हजार ६ सय ०७ दशमलव ६७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२२ अंकले घटेको छ ।
यी हुन् धेरै कमाउने कम्पनीहरुः
सोमबार धेरै कमाउने अधिकांश हाइड्रोपावर कम्पनीहरुकै लगानीकर्ताहरु देखिएका छन् । दोस्रो बजारमा सूचीकृत भएर कारोबार शुरु भएसँगै लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को सेयर मूल्य सोमबार पनि १० प्रतिशतले बढेको छ ।
अघिल्लो साताको आइतबारदेखि दोस्रो बजारमा शुरु भएको निफ्राको सेयर मूल्य लगातार बढेर अहिले ६६० रुपैयाँमा पुगेको छ । उता आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । यसपछि धेरै बढ्नेमा अन्य हाइड्रोपावर कम्पनीहरु नै देखिएका छन् ।
निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर मूल्य अत्यधिक बढेको छ ।
कुन–कुनकाे सेयर मूल्य घट्याे ?
केहि दिन यता निकै चर्चामा रहेको सिभिल बैंक र सेञ्चुरी कमर्सीयल बैंकको सेयर मूल्य पनि घटेको छ । सबैभन्दा धेरै गुमाउनेहरुमा सेञ्चुरी कमर्सीयल बैंकका लगानीकर्ताहरु पहिलाे नम्बरमा देखिएका छन् भने दोस्रोमा सिभिल बैंकका लगानीकर्ता देखिएका छन् । दुबै बैंकको ५ प्रतिशत भन्दा धेरैले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया 4