Comments Add Comment

उसु अवार्ड : निमा, विजय, मंगल र जुनी सर्वोत्कृष्ट खेलाडी

२२ चैत, काठमाडौं । निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् । सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए ।

भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्वेटमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जिते । सुस्मिता तामाङ ‘मोस्ट भ्यालुएबल प्लेयर’ ठहरिन् । आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद सागको प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ ।

अवार्ड विजेता सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । ६ जनै खेलाडी १३ औं सागमा पनि पदक जितेका थिए । मंगलबाहेक सबै खेलाडीले १३ औं सागमा स्वर्ण जितेका थिए । मंगलले भने रजत हात पारेका थिए ।

विजेतालाई पूर्वमन्त्री एवं संघीय सांसद महेश बस्नेत, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा, नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नुनम सुब्बा, हिमाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विज्ञान राई, आयोजक कमिटीका संयोजक मन्जुर महर्जन, अवार्ड संयोजक राजीव महर्जनलगायतले एक कार्यक्रमबीच ट्रफी, प्रशंसा पत्र, जनही नगद ५ हजार र गिफ्ट ह्याम्पर प्रदान गरे ।

नागरिक विकास र यो यो बैंक्वेटको मुख्य प्रायोजनमा भएको अवार्ड कार्यक्रमका अवसरमा १३ औं सागका प्रशिक्षक तथा लामो समयदेखि उसु प्रशिक्षणमा संलग्न प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment