Comments Add Comment

लाइसेन्स लिन ७० को उत्तीर्णाङ्क, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर

जेठ १ देखि नयाँ नियम

२३ चैत, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो ।

जेठ १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।

हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ निर्देशिका लागू गर्नेबारे प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने बताए ।

निर्देशिकाले लिखित परीक्षा विद्युतीय माध्यमबाट र प्रयोगात्मक परीक्षा कम्प्युटरमा आधारित स्वचालित प्रणालीको प्रयोग गरेर अंक दिनसक्ने गरी सञ्चालन गरिने बताए ।

प्रश्नपत्र सार्वजनिक, सवारी साधन आफ्नै

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गर्नेछ । त्यही संग्रहभित्रबाट २० वटा वस्तुगत बहुउत्तर प्रश्न सोधिनेछ । ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।

लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन सक्नेछन् । तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

कार जीपको हकमा कम्तीमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

निर्देशिकाअनुसार ट्रायलमा प्रयोग गरिने सवारीमा इन्धन आपूर्ति, ब्रेक र ट्रान्समिसन प्रणाली चुस्त हुनुपर्नेछ । झ्याल, ढोका, लकलगायतका प्रणाली ठीक हुनुपर्छ । ट्रायल गर्दा कार/जीपको ‘रेयर भ्यू’ क्यामेरा छोप्नुपर्नेछ ।

मोटरसाइकल/स्कुटरको ट्रायल

मोटरसाइकल/स्कुटर/मोपेडको ट्रायल परीक्षा १०० अंकको हुनेछ । त्यसमा कम्तीमा ७० अंक ल्याए मात्रै उत्तीर्ण भएर लाइसेन्स हात पर्नेछ ।

१. घुमाउरो ‘8’

मोटरसाइकलको ट्रायलमा अब घुमाउरो ‘8’ को चरणलाई २० अंक दिइएको छ । घुमाउरो ‘8’ मा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा बढी भुइँमा खुट्टाले टेकेमा, ठीक दिशाबाट ठीक तरिकाबाट 8 नबनाएमा र सवारीको स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । तर, ‘8’ भित्र एक पटकसम्म अंकित रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५–५ अंक काटिनेछ ।

२.साँघुरो फलेक

साँघुरो फलेकको चरणलाई १० अंक राखिएको छ । यो चरणमा परीक्षार्थी भुँइमा टेक्ने वा फलेक पार गर्नुअघि नै बाहिर निस्किएमा अनुत्तीर्ण हुनेछ ।

३. यू–टर्न

‘यू–टर्न’लाई पनि १० अंकभार छ । सवारीमा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, अंकित रेखा छोएमा भने अनुत्तीर्ण हुनेछ ।

४. ट्राफिक लाइट

ट्राफिक लाइटको चरणलाई १५ अंक राखिएको छ । यदि ट्राफिक लाइट नियम पालन नगरेमा १५ अंक नै काटिनेछ । तर, परीक्षार्थी अनुत्तीर्ण भने हुने छैन ।

५. उबड–खाबड (बम्प्स)

उबड–खाबड (बम्प्स) चरणलाई १५ अंकको भार छ । यो भागमा एक पटकसम्म खुट्टाले भुइँ टेकेमा ५ अंक काटिनेछ । यो भागमा एक पटकसम्म सवारीको स्टार्ट बन्द भएमा पनि ५ अंक घट्नेछ । यी दुवै गल्ती एकपटक भन्दा बढी गरेमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।

६. उकालो (र्‍याम्प)

उकालो (र्‍याम्प) को अंकभार २० छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द भए पनि अंक काटिने छैन ।

७. व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको मूल्याङ्कनलाई १० अंक दिइएको छ । सवारी चलाउनुपूर्व सवारीको ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक काटिनेछ । हेल्मेटको लक नलगाई सवारी चलाएमा ४ अंक काटिनेछ । अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।

कार/जीपको ट्रायल

कार, जीप र भ्यानको ट्रायलको पूर्णाङ्क पनि १०० छ । त्यसमध्ये परीक्षाका विभिन्न चरणमा गरी ७० अंक जोड्ने परीक्षार्थीले लाइसेन्स पाउनेछन् ।

१. घुमाउरो ‘8’

कार जीपको ट्रायलमा पनि घुमाउरो ‘8’लाई २० अंकको भार दिइएको छ । घुमाउरो ‘8’ मा दुई पटकसम्म अंकित रेखा छुन पाइनेछ । तर, प्रत्येक पटक ५–५ अंक काटिनेछ । दुई पटकभन्दा बढी छोएमा, टायर अंकित रेखाभन्दा बाहिर गएमा, ठीक दिशाबाट ठीक तरिकाबाट ‘8’ नबनाएमा र अगाडि बढ्नुपर्ने बेला सवारी साधन पछाडि सारेमा भने परीक्षार्थी अनुत्तीर्ण हुनेछ ।

२. उबड–खाबड (स्पिड ब्रेकर)

उबड–खाबड (स्पिड ब्रेकर)को चरणलाई १० अंकभार छ । एक पटकसम्म सवारीको स्टार्ट बन्द भयो भने ५ अंक काटिनेछ । तर, एकपटक भन्दा बढी स्टार्ट बन्द भएमा भने अनुत्तीर्ण हुनेछ ।

३. यू–टर्न

यू–टर्नको चरणलाई १० अंकको भार छ । युटर्न गर्दा टर्निङ इन्डिकेटर लाइट नबालेमा १० अंक काटिनेछ । तर, यो भागमा अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ ।

४. ट्राफिक लाइट

ट्राफिक लाइटलाई १५ अंकभार छ । ट्राफिक लाइटको नियम पालना नगरेमा १५ अंक नै काटिनेछ ।

५. उकालो (र्‍याम्प)

उकालो (र्‍याम्प)लाई १५ अंकभार छ । यो भागमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, ओरालो झर्दा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अघि बढेमा, एकपटकभन्दा बढी सवारी स्टार्ट बन्द भएमा परीक्षार्थी अनुत्तीर्ण हुनेछ । उकालोमा एकपटकसम्म सवारीको स्टार्ट बन्द गर्दा अंक घट्ने छैन ।

६. ग्यारेज पार्किङ

ग्यारेज पार्किङको चरणलाई २० अंकभार छ । यो भागमा सवारी पछाडि सार्ने क्रममा एक पटकसम्म अघि सरेमा १० अंक काटिनेछ । एकपटकभन्दा बढी अगाडि सरेमा वा अंकित रेखा छोएमा अनुत्तीर्ण हुनेछ ।

७. व्यवहारगत पक्ष

परीक्षार्थीको व्यवहारगत पक्षको परीक्षालाई १० अंकभार छ । सवारी साधन चलाउनुपूर्व ऐना, टायर, ब्रेकको सामान्य परीक्षण नगरेमा ३ अंक, सिटबेल्ट नलगाई सवारी चलाएमा ४ र अस्वाभाविक रुपले असंयमित तरिकाले सवारी चलाएमा ३ अंक काटिनेछ ।


यो पनि पढ्नुहोस लाइसेन्सको प्रस्तावित नयाँ नियम : ६० अंकका नाममा चलखेलको जोखिम 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment