+
+

प्रचण्डको दाबी : केही दिनमै नयाँ सरकार, चुनावमा ओलीविरुद्ध मोर्चाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २८ गते २०:३१

२८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् । साथै उनले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउने बताए ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको तीन दलको बैठक सकारात्मक भएको बताए । उनले भने, ‘केपीले त बर्बाद पार्ने भयो, सत्ता कब्जा नै गरेर हामी सबैलाई सिध्याउने भयो भनेर कांग्रेस आउनु ठूलो कुरा ठान्छु ।’ जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उनले भने, मलाई लाग्छ, केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।’

नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने उनले सुनाए । ‘हामीहरु र नेकपा एमालेको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ’ शनिबार भएको कर्मचारीको कार्यक्रममा माधवकुमार नेपाल समूहका नेताले आफूहरुले भन्दा राम्रो बोलेको सुनाउँदै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अर्कोले डिभोर्स गरिदिए पनि त्यो लभ त गएको छैन नि ।’

जसपाका नेताहरुसँग पनि आफूहरुको वेभलेन्थ मिल्ने भन्दै उनले मोर्चा बन्नसक्ने सुनाए । कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गर्नुपर्ने बताएका उनले मोहनविक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग मोर्चा बन्नसक्ने सम्भावना औंल्याए ।

नेपाल पत्रकार महासंघमा आफूहरुकै अग्रसरतामा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको भन्दै उनले भने, ‘ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ । आउने चुनावमा राम्रोसँग मोर्चा बनायौं र इमान्दार भयौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?