+
+
Shares

ओलीलाई प्रचण्डको सन्देश– देश संकटमा छ, भावना फराकिलो बनाएर एक बनौं

‘केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ,’ प्रचण्डले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले काठमाडौंमा भएको पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई एकताका लागि आह्वान गरे।
  • उनले मुलुक असाधारण संकटमा रहेको भन्दै सबै आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
  • प्रचण्डले केपी ओली, मोहन विक्रम, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलगायत कम्युनिस्ट समूहको एकता ऐतिहासिक आवश्यकता बनेको उल्लेख गरे।

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन् । उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।

‘म फेरि पनि भन्न चाहन्छु, नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकताबद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ । माधवजीले केपी ओलीको नाम लिँदाखेरि अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता, देशभक्त र लोकतन्त्रवादीहरूको एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ,’ प्रचण्डले भनेका छन् ।

विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा  भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकतावद्ध हुन जरुरी रहेको प्रचण्डको भनाइ छ । हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता कार्यकर्ताहरूलाई जोड्ने जिम्मेवारी समेत आफूहरूकै काँधमा रहेको उनको भनाइ छ ।

‘म यो मञ्चबाट ती सबै कमरेडहरू जसलाई हामीले विगतमा विभिन्न रूपमा सहकार्य गर्‍यौँ, एकता गर्‍यौँ, थुप्रै–थुप्रै उतारचढावहरू भोग्यौँ, आज देश असाधारण संकटमा छ । यो बेला हामी सबैले आफ्नो सोचाइलाई, आफ्नो बुझाइलाई, आफ्नो भावनालाई अझ फराकिलो गर्नुपर्ने, सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा राखेर, देशलाई प्राथमिकतामा राखेर एकतावद्ध हुने आजको आवश्यकता हो । हामी सबै त्यसैमा केन्द्रित होऔं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?