Comments Add Comment

काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च

२९ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको अध्यक्ष बिसीले बताए । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको उनले बताए । ‘संघले तोकेको मूल्य ब्रोइलर कुखुराको मासु काठमाडौं उपत्यकामा बिक्री इतिहासकै सबैभन्दा धेरै हो’,अध्यक्ष बिसीले भने । यसअघि कुखुराको मासुको मूल्य संघले ४०० रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।

ब्रोइलर मासुको बिक्री थालेको २२ वर्षको अनुभवमा अहिलेको मूल्य यसअघि कहिल्यै नदेखेको संघका निवर्तमान कोषाध्यक्ष बल्लु बलराम खड्गीले बताए । ‘संघले ४१० रुपैयाँ तोकेको छ, खुद्रामा ४३० रुपैयाँ भन्दा धेरैमा मासुको मूल्य रहेको हुनसक्छ’, खड्गीले भने । मासुको खुद्रा बिक्रीकर्ताहरुका अनुसार मासुको बजार प्रति किलो मूल्य ४३० रुपैयाँ भन्दा धेरै छ । तयारी कुखुराको प्रतिकिलो मूल्य नै ३९० रुपैयाँ भन्दा धेरै होलसेलमा पर्ने गरेको काठमाडौं नागार्जुनका मासु व्यवसायी पूर्णबहादुर श्रेष्ठले बताए । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुन्छ ।

जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस अघि किसानले प्रतिकिलो अधिकतम २७० रुपैयाँमा पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको अध्यक्ष बिसीले बताए । ‘पछिल्लो समय दुई पटक मूल्य बढ्दा २८० रुपैयाँ हुँदै २९० रुपैयाँ पुगेको छ, किसानले पनि राम्रै मूल्य पाएका छन्’, अध्यक्ष बिसीले भने । गत असोजमा ब्रोइलर कुखुराको मासुको मूल्य पछिल्लो तीन वर्षयताकै सबैभन्दा कम २०५ रुपैयाँमा झरेको थियो ।

किन बढ्यो मासुको मूल्य ?

कोरोनापछि सबै व्यवसाय र क्षेत्रहरु पूर्ण रुपमा सञ्चालनमा आउँदा मासुको माग उच्च भएको व्यवसायीहरुले बताएका छन् । जाडोका कारण अहिले बजारमा आउनुपर्ने कुखुराको उत्पादन घट्नुको असर मूल्यमा परेको संघका अध्यक्ष बिसीले बताए । काठमाडौं उपत्यकामा दैनिक साढे दुई लाख किलो मासुको माग हुने गरेकोमा उत्पादन भने कम रहेको संघले जनाएको छ ।

देशभर दैनिक सरदर १० लाख किलो मासुको माग रहेकोमा कोभिड तथा अन्य कारणले उत्पादनमा ह्रास आएको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले जनाएको छ । कच्चा पदार्थको मूल्य बढ्नु, बर्डफ्लुको त्रास तथा यसअघि राम्रो मूल्य नपाउनु जस्ता कारणले किसान हतोत्साही हुँदा उत्पादनमा असर परेको संघका अध्यक्ष जनक पौडेलले बताए । ‘जाडो, कोभिड र दाना लगायतका वस्तुमा भएको मूल्य वृद्धिको मारमा किसान परेपछि बजारमा त्यसको असर देखियो’, पौडेलले भने ।

बिचौलियको नाफा धेरै भयो

काठमाडौं उपत्यकामा खुद्रामा ४५० रुपैयाँसम्ममा कुखुराको मासु बिक्री हुँदा किसानले पाउने मूल्य भने किलोमा १६० रुपैयाँसम्म कम रहेको भन्दै नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले भने आपत्ति जनाएको छ । जिउँदो र तयारी मासुमा प्रतिकलो १०० रुपैयाँको अन्तर ठिकै भए पनि १६० रुपैयाँसम्म हुनु भनेको उपभोक्ता र किसान माथि ठगी भएको संघका अध्यक्ष पौडेल बताउँछन् ।

‘राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मासुको मूल्य तोक्दा बिचौलियाले नाफा धेरै राखेको छ, किसानसँग तयारी ब्रोइलर खरिद गरेको भन्दा मासुको बिक्री मूल्य १२० रुपैयाँले बढी तोक्नु किसान र उपभोक्ता माथिकाे लुट हो’, अध्यक्ष पौडेलले आरोप लगाए । किसान र उपभोक्ता मूल्यमा देखिएको अन्तर बिचौलियाको नाफा भएको भन्दै त्यसलाई घटाउन वाणिज्य विभागले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस काठमाडौंमा कुखुराको मासु तीन वर्षयताकै सस्तो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment