
१५ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेकका सेवा, पसल र यातायात बन्द हुने भएपछि उपत्यका छाड्नेहरु बढेका छन् ।
कोरोना भाइरस संक्रमण बढेपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन् भने उपत्यकाबाहिरका पनि धेरै जिल्लामा निषेधाज्ञा लगाउन थालिएको छ । काठमाडौंमा पढ्न, व्यवसाय गर्न, मजदुरी गर्न र रोजगारीका लागि बसेकाहरु निषेधाज्ञाका कारण आफ्नो गाउँ फर्किन लागेका हुन् ।
२०७६ सालको चैतमा सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्दा धेरै मानिस काठमाडौंमा घरभित्रै थुनिएका थिए । पछि लकडाउनकै बीचमा पैदल हिँडेर र कतिपय स्थानीय तहले पठाएको गाडी चढेर मानिसहरु गाउँमा पुगेका थिए । तर यस पटक भने सरकारले गाउँ फर्किन दुई दिनको समय दिएर निषेधाज्ञा घोषणा गरेको छ । यद्यपि यो छोटो समय भएकाले भिड अत्यधिक देखिएको छ ।
काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वरलगायत उपत्यका छाड्ने नाकाहरुमा सर्वसाधारणको भिड लागेको छ । सवारी साधनहरु पनि अरु बेलामा भन्दा धेरै देखिएका छन् ।
टिकट काट्ने र गाडी चढ्ने बेलामा सर्वसाधारणको लामो लाइन देखिएको छ । लाइनमा बसेका बेला स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको देखिँदैन, त्यसैले उपत्यका छाड्नेहरुको भिडबाट पनि कोरोना संक्रमण फैलिने देखिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4