१८ असोज, काठमाडौं । चीन, भारत, बंगलादेशसहित ६ देशका पार्टीका नेताहरूले नेपाली कांग्रेसको १५ औं महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।
लिखित शुभकामना सन्देश दिनेहरूमा भारत सरकारको नेतृत्वकर्ता दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन, अल इन्डिया कंग्रेस कमिटीका अध्यक्ष मल्लिकार्जुन खड्गेलगायत छन् ।
उनीहरूले नेपाली कांग्रेससँगको पुरानो राजनीतिक सम्बन्धको निरन्तरता र थप सुदृढ बन्ने विश्वास व्यक्त गरेका छन् । भाजपाको पत्रमा हालै नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनर्स्थापनामा भारतको सहयोग जारी रहने पनि उल्लेख छ ।
यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीले पनि कांग्रेस महाधिवेशन सफलताको शुभकामना दिएको छ । चीनले पनि दुई देशका पार्टी र जनताको तहमा सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेको छ ।
स्पेनका प्रधानमन्त्रीबाट पनि शुभकामना
कांग्रेस समेत सदस्य रहेको सोसलिस्ट इन्टरनेसनलका सभापति पेड्रो सान्चेजले पनि कांग्रेसलाई शुभकामना सन्देश दिएको कांग्रेस महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
पेड्रो सान्चेज स्पेनका प्रधानमन्त्री समेत हुन् । तर उनले प्रधानमन्त्रीको रुपमा नभई सोसलिस्ट इन्टरनेसनलको रुपमा शुभकामना सन्देश पठाएका छन् ।
सान्चेजले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन चाहेको भए पनि पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको उल्लेख गरेका छन् ।
महाधिवेशनले नेपालमा लोकतान्त्रिक तथा प्रगतिशील शक्तिलाई बलियो बनाउने अवसर प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
नेपालमा हालै आएको विनाशकारी बाढीप्रति गहिरो दु:ख व्यक्त गर्दै उनले बाढी प्रभावितहरुप्रति सहानुभूति व्यक्त गरेका छन् । बाढीको घटनालाई जलवायु परिवर्तनका विनाशकारी असरप्रति विश्वव्यापी चेतावनीका रूपमा उल्लेख गर्दै उनले त्यसको सामना गर्न सामूहिक प्रयास बढाउनुपर्ने उल्लेख गरेका छन् ।
कठिन परिस्थितिमा नेपाली जनताले सामना गरिरहेको चुनौती र नेपाली कांग्रेसले समुदायलाई सहयोग गर्दै लोकतन्त्र तथा सामाजिक प्रगतिका लागि काम गरिरहेको भन्दै उनले प्रशंसा समेत गरेका छन् ।
बंगलादेशबाट बीएनपीको शुभकामना
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष एवम् प्रधानमन्त्री तारिक रहमानले पनि नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका तर्फबाट महाधिवेशनमा सहभागी हुन पठाइएको निमन्त्रणाको जवाफ दिँदै रहमानले काठमाडौंमा हुने कांग्रेस महाधिवेशनको सफलताको कामना गरेका हुन् ।
रहमानले नेपाली कांग्रेस र बीएनपीबीच लामो समयदेखि कायम रहेको मित्रवत् सम्बन्धप्रति आफूले उच्च मूल्यांकन गरेको उल्लेख गर्दै नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउन बंगलादेशले महत्व दिँदै आएको बताएका छन् ।
उनले आफ्ना पिता तथा बंगलादेशका पूर्वराष्ट्रपति स्वर्गीय जियाउर रहमानले दक्षिण एसियाली मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध र सहकार्य विस्तारमा जोड दिएको स्मरण गरेका छन् । जियाउर रहमानकै पहलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापनाको आधार तयार भएको उनको पत्रमा उल्लेख छ ।
सार्क सचिवालय रहेको नेपाल सार्कको महत्वपूर्ण सदस्य रहेको उल्लेख गर्दै तारिक रहमानले आफ्नी आमा तथा बंगलादेशकी पूर्वप्रधानमन्त्री स्वर्गीय बेगम खालिदा जिया र नेपालका पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला लगायतका नेताले प्रधानमन्त्रीका रूपमा सार्कको मञ्चमा आ–आफ्ना देशको प्रतिनिधित्व गरेको स्मरण गरेका छन् ।
रहमानले आफूले पनि दक्षिण एसियाली क्षेत्रीय सहकार्यको उक्त विरासतलाई निरन्तरता दिन चाहेको बताएका छन् ।
उनले बीएनपीका तर्फबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको कामना गर्दै महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वलाई समेत शुभकामना दिएका छन् ।
यसैगरी दक्षिण कोरियाको आइक्याप स्ट्यान्डिङ कमिटीका अध्यक्ष चुङ उई योङ र बेलायतको लेबर पार्टीले पनि कांग्रेसको १५ औं महाधिवेशन सफलताको लिखित शुभकामना दिएका छन् ।
यस्ता छन् शुभकामना पत्रहरू

प्रतिक्रिया 4