Comments Add Comment

एनएसएल प्लेअफ : धनगढीविरुद्ध काठमाडौंलाई बदला लिने मौका

२७ वैशाख, काठमाडौं । पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को प्लेअफका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टमा आयोजना भएको प्रतियोगितामा ७ टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको २१ खेलपछि शीर्ष चार स्थानमा रहने टिमहरु प्लअफका लागि छनोट भएका छन् ।

जसमा शीर्ष स्थानमा रहेको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी एफसीबीच प्लेअफको पहिलो खेल हुनेछ । उक्त खेलको विजेता सिधैं फाइनल प्रवेश गर्नेछ भने पराजित हुने टिमले पनि अर्को अवसर भने पाउनेछ ।

यस्तै तेस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र चौथो स्थानको बुटवल लुम्बिनी एफसीबीच पहिलो एलिमिनेटर खेल हुनेछ । उक्त खेलमा विजयी हुने पहिलो खेलमा पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

काठमाडौं लिगमा सर्वाधिक ४ खेल जित्ने एक मात्र टिम हो । ६ मध्ये ४ खेल जितेको काठमाडौंले १३ अंक जोडेको थियो । काठमाडौंले एक खेल बराबरी खेल्दा एक मात्र हार बेहोरेको थियो । त्यो हार धनगढी विरुद्ध नै थियो ।

पोखरा थण्डर्ससँग भने काठमाडौं गोलरहित बराबरीमा रोकिएको थियो । प्रतियोगितासर्वाधिक ९ गोल भएको खेलमा काठमाडौंले विराटनगरलाई ५-४ ले पराजित गरेको थियो । उक्त खेलमा काठमाडौंका मेसोउके ओलोमेएले लिगको पहिलो ह्याट्रिक गरेका थिए ।

उद्घाटन खेलमै ललितपुर सिटीलाई १-० ले पराजित गरेको काठमाडौं दोस्रो खेलमा धनगढीसंग ३-० ले पराजित भएको थयो । धनगढी भने पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३-० ले पराजित भएको थियो तर दोस्रो खेलमै पुनरागमन गर्न सफल भएको थियो ।

धनगढीले ६ मध्ये ३ खेलमा जित हात पार्दा २ खेलमा पराजित भयो भने एक खेल बराबरी खेलेको थियो । राष्ट्रिय टिमका कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको नेतृत्वमा धनगढीले खेलिरहेको छ ।

यस्तै राष्ट्रिय टिमका नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा काठमाडौंले खेलिरहेको छ । आइ लिग खेलेकोले किरण विदेशी कोटामै आइकोनिक प्लेअरका रुपमा धनगढीमा अनुबन्ध भएका थिए । विकेश भने काठमाडौंको मार्की खेलाडी हुन् ।

विकेशले अन्तिम लिग खेलमा चितवन विरुद्ध आराम लिँदा तेज तामाङ काठमाडौंको कप्तानी गरेका थिए जुन खेलमा काठमाडौं २-१ ले विजयी भएको थियो ।

काठमाडौंमा विकेश र तेजसँगै राष्ट्रिय टिमबाट खेलेका सन्जोग राई उमेर समूहको राष्ट्रिय टिममा खेलेका विश्वास श्रेष्ठ लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काठमाडौंले विदेशी खेलाडीको समेत रम्रो साथ पाएको छ । सर्वाधक ५ गोल गरेका ओलोमोउसँगै स्टेफेन विनोङ र फ्लोराले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उता धनगढीको मुख्य हतिकार पनि नाइजेरियन खेलाडी ओलावाले आफिस रहेका छन् । उनले ४ गोल गरिसकेका छन् । बुटवल विरुद्धको अन्तिम लिग खेलमा उनले खेलेनन् ।

त्यसअघिको खेलमा उनी आधा घण्टापछि नै घाइते हुँदै मैदान बाहिरिएका थिए । धनगढीका लागि यसले धक्का लाग्न सक्छ । यस्तै राष्ट्रिय टिमका मिडफिल्ड विशाल राई, दर्शन गुरुङ, डिफेण्डरद्वय दिनेश राजवंशी र निशान खड्का धनगढीमा छन् । यस्तै निशान सुब्बा, सौजन राई र बुद्दधबल तामाङले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

काठमाडौंको प्रशिक्षकमा गत चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि दिलाएका बालगोपाल महर्जन छन् । धनगढीको मुख्य प्रशिक्षक युगल किशोर राई रहेपनि नाइजेरियन फुजात तोपले रणनीतिमा साथ दिइरहेका छन् ।

काठमाडौं र धनगढबीद्बको खेल बालगोपाल भर्सेस फुजा तथा विकेश भर्सेस किरणबीचको खेल समेत मान्न सकिनेछ ।

लिगमा धनगढीले काठमाडौंमाथि सहज जित हात पारेकोले काठमाडौं त्यसको बदला लिने अवसरमा हुनेछ भने धनगढी त्यसैलाई निरन्तरता दिन चाहन्छ । लिगको अन्तिम खेलमा दुई टोलीको फरक नतिजा थियो । काठमाडौंले चितवनलाई हराउँदै शीर्ष स्थानमा रहेर लिग चरण सकाएको थियो । धनगढी भने अन्तिम खेलमा बुटवलसंग पराजित भएको थियो ।

लगको अन्तिम खेलपछि काठमाडौंका प्रशिक्षक बालगोपालले प्लेअफमा राम्रो प्रदर्शन गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment