Comments Add Comment

जातीय विभेद प्रकरण : मन्त्री श्रेष्ठलाई प्रधानमन्त्रीले गराए सचेत

१५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा मन्त्री श्रेष्ठले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । आवेशमा आएर यस्तो काम नगर्नुहोस् । जुन काम तपाईंले गर्नुभयो, त्यो ठीक भएन भन्नुभएको छ ।’

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । तीन दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नो झण्डावाल गाडीमा लिफ्ट दिएर लगेका थिए ।

जातीय विभेदको आरोप लागेको व्यक्तिलाई संरक्षण दिएको र अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठको आलोचना भइरहेको छ । कतिपयले उनलाई राजीनामा दिन सुझाव दिएका छन् भने कतिपयले प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment