१२ असार, काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म ८ खर्ब ७० अर्ब ९४ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको तुलनामा १२.६ प्रतिशतले बढी हो । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको जेठ मसान्तसम्मको वित्तिय विवरणमा रेमिट्यान्स बढेको देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थयो । तर, चालु आवमा अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । गत वर्ष वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।
चालु खाता र शोधनान्तर घाटामा
चालु आवको ११ महिनामा चलु खाता २ खर्ब ९३ अर्ब ५७ करोडले घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष समिक्ष अवधिमा चालु खाता घाटा ६२ अर्ब ५९ करोड ११ घाटामा थियो ।
खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई १६ अर्ब २० करोड कायम भएको छ ।अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको थियो ।
एक मुलुकले अर्को मुलुकसँग मौद्रि क कारोबार गर्न सरकारसँग चालु, पुँजीगत र वित्तीय खाता रहेका हुन्छन् । मुलुकको चालु आय र व्ययको विवरण देखाउने खाता नै चालु खाता हो । यो खातामा वस्तु आयात/निर्यात, सेवा आयात/निर्यात, रेमिट्यान्ससहितका रकम ट्रान्सफर भएको रकमसहित मुलुकलाई प्राप्त आय र व्यय दुबैको हिसाव राखिन्छ ।
शोधनान्तर अवस्था चालु खाताभित्रकै एक पक्ष हो । चालु खाता घाटामा रहनु र शोधनान्तर स्थिति नकारात्मक रहनुबीच सम्बन्ध रहेको हुन्छ । आय बढ्दा चालु खाता नाफामा देखिन्छ । व्यव बढ्दा घाटामा देखिन्छ ।
चालु खाताबाहेक पुँजीगत खातामा अन्य मुलुकसँग सम्पत्ति खरीद-बिक्रि, ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसहितका हिसावको कारोबार हुन्छ । वित्तीय खातामा समेत ठूला परियोजनामा विदेशबाट भएको लगानीका तथ्यांकहरु राख्ने गरिन्छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा छ ।
नेपाल भित्रने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानुको मतलव नेपालबाट बढी रकम विदेसिएको छ । त्यसको तुलनामा कम रकम नेपाल आइरहेको छ । यो जेठ महिनाको अवस्था हो ।
बढ्दो आयात र कम निर्यातका कारण यस्तो अवस्था आउने गर्छ । पर्यटनतर्फको आय समेत कम भएको छ । शोधनान्तर स्थितिलाई भुक्तानी सन्तुलन समेत भनेर बुझिन्छ । यो व्यक्ति, उद्योगी व्यवसायी र सरकारले गर्ने सबै कारोबारको एकमुष्ट हिसाव हो ।
उदाहरणका लागि नेपालबाट विश्वभर १ करोड रुपैयाँ बराबरको मौद्रिक कारोबार भयो र विश्वभरबाट नेपालमा १ करोड ५० लाख रुपैयाा बराबरको मौदि्रक कारोबार भयो भने त्यो महिना नेपालको सोधनान्तर स्थित ५० लाख घाटामा रहेको मानिन्छ ।
२०७७ असार मसान्तमा रु.१४ खर्ब ०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा रु.१३ खर्ब ६५ अर्ब ६५ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ । यसले १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।
प्रतिक्रिया 4