+
+

टेस्ला सीईओ एलन मस्कको वार्षिक तलब शून्यमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:४९

झण्डै एक खर्ब ९० अर्ब डलर सम्पत्ति भएका विश्वका तेश्रो धनी व्यक्ति हुन् एलन मस्क । विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला तथा अन्तरीक्ष कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले ती कम्पनीहरुबाट वार्षिक कति तलब बुझ्दछन् होला ?

सबैलाई अचम्म लाग्न सक्दछ कि एलन मस्कले गत वर्ष सन् २०२० मा एक सुको पनि तलब बुझेनन् अर्थात् उनको वार्षिक तलब शून्य रहेको छ ।

टेस्लाले बुझाएको वित्तीय प्रतिवेदन अनुसार सन् २०२० मा एलन मस्कले कम्पनीबाट कुनै पनि तलब बुझेनन् र उनको तलब शून्यमा झरेको छ ।

जबकि सन् २०१९ मा उनको वार्षिक तलब २३ हजार ७६० डलर तथा सन् २०१८ मा ५६ हजार ३८० डलर थियो । अर्थात् सन् २०१९ सम्म मस्कलाई उनको कम्पनीले क्यालिफोर्नियाको मजदुरको न्युनतम तलब बराबरको वार्षिक तलब दिन्थ्यो । तर, सन् २०२० देखि उनको न्यूनतम ज्याला पनि हटेको छ ।

सो तलबमानका बाबजुत उनले आफ्नो तलब कहिल्यै पनि स्विकार नगरेको कम्पनीको दाबी छ  । टेस्लाका अनुसार एलन मस्ककै अनुरोध सन् २०१९ को मे महिनादेखि उनको आय तथा आधारभूत तलब सबै हटाइएको छ ।

सन् २०१८ मा कम्पनीसँग सीईओ मस्कले गरेको तलब भत्ता सम्बन्धी सम्झौतामा उनको तलब प्याकेज कम्पनीको शेयरमा आधारित हुने व्यवस्था उल्लेख थियो । टेस्ला कम्पनीलाई उचाइमा पुर्‍याउने उनको मनसायकै कारण उनले त्यस्तो सम्झौता गरेका थिए । त्यसमा विभिन्न १६ वटा लक्ष्य तोकिएको छ । जसमध्ये १२ वटा कोशेढुंगा पार गर्नुपर्ने हुन्छ । शुक्रबारसम्म ६ वटा लक्ष्य पूरा भैसकेका छन् । कम्पनीका सबै १२ लक्ष्य पूरा भएमा उनले ७०.०१ डलर प्रतिशेयर मूल्यमा टेस्लाका १० करोड एक लाख कित्ता शेयर खरिद गर्न पाउनेछन् । जबकि अहिले टेस्लाको प्रतिशेयर मूल्य ७ सय डलर भन्दा धेरै छ ।

टेस्ला कम्पनीको मूल्य सन् २०२० मै ६ खर्ब ५० अर्ब डलर नाघिसकेको छ । शुक्रबार बजार बन्द हुँदासम्म टेस्लाको बजार मूल्य ७ खर्ब ४ अर्ब डलर भन्दा बढी थियो ।

एलन मस्कले टेस्ला कम्पनीबाट सन् २०२० मा कुनै नगद तलबभत्ता नबुझेपनि शेयरको रुपमा उनले अर्बौंडलर हात पारेका छन् । सन् २०२० मा मस्कले झण्डै २२ अर्ब डलर बराबरको कम्पनीको शेयर प्राप्त गरेका छन् । यो अमेरिकाका कुनै पनि प्रमुख कार्यकारीहरुले प्राप्त गरेको रकमभन्दा धेरै हो ।

अर्थात् कार्यसम्पादन सम्झौता अनुसारका लक्ष्य प्राप्तिको मापदण्डका आधारमा उनले सन् २०२० मा ३ करोड ३८ लाख कित्ता शेयर खरिद गरे । २ अर्ब ४० करोड डलरमा खरिद गरेको उक्त शेयरको मूल्य हाल २१ अर्ब ९० करोड डलर रहेको छ ।

त्यस्तै सन् २०२१ मा टेस्लाले थप २ वित्तिय लक्ष्य हासिल गरेको हुँदा मस्कले थप एक करोड ६९ लाख कित्ता शेयर खरिद गर्न पाउनेछन् । उक्त शेयर खरिदबाट उनले अहिलेको मूल्य १० अर्ब ९० करोड डलर आम्दानी गर्न सक्नेछन् ।

प्रायः ठूला प्रविधि कम्पनीका सीईओहरुले आफ्नो होल्डिंग्सलाई विविधिकरण गर्न तथा कर तिर्नका लागि कम्पनीको आफ्नो शेयर बेच्ने गरेका हुन्छन् । तर मस्कले चाहिं टेस्लाको आफ्नो शेयर बेचेका छैनन् ।

गत जुन ३० सम्मको तथ्यांक अनुसार टेस्ला कम्पनीमा उनको हाल १७ करोड कित्ता शेयर छ भने थप ७ करोड ३५ लाख कित्ता शेयर किन्नसक्ने अधिकार छ । अर्थात् टेस्ला कम्पनीको शेयरमा उनको २३ प्रतिशत हिस्सा रहेको छ । मस्कको कुल सम्पत्ति एक खर्ब ८६ अर्बमध्ये टेस्लाको शेयरको मूल्य नै १ खर्ब ७१ अर्ब डलर छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?