+
+

आफ्नोपन गुमाउँदै गरेको इलामे वास्तुशिल्प (तस्वीर)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ वैशाख ११ गते १०:००

इलाममा यतिबेला बडा-बडा विकासे बिस्कुन बिच्छ्याइँदैछ । त्यहाँ नेता–कार्यकर्ताको मेला लागेको छ । ‘इलामलाई कस्तो बनाउने ?’ सम्भवत: नेताहरु यही मुद्दामा मन्थन गर्दैछन् ।

मनसुन सुरु हुनै लाग्दा इलाममा चुनावी तापमान बढेको छ । जगजाहेर नै छ, चुनावअघि विकास र निर्माणको कुरा उत्कर्षमा पुग्ने गर्छ । के बनाउने ? कस्तो बनाउने ? कसरी बनाउने ? कहिले बनाउने ? कसले बनाउने ? यही प्रश्न चियाबारीदेखि चिया दोकानसम्म प्रतिध्वनित भइरहन्छ । सोही मेलोमा इलामलाई एक फन्को लगाएपछि मलाई लाग्यो, ‘इलामलाई कस्तो बनाउने होइन । बरु, कस्तो नबनाउने ?’ भन्ने कुरामा विमर्श हुनुपर्थ्यो ।

किनभने इलामलाई बनाउने भन्दा बढी भत्काउने काम भएको जस्तो लाग्छ । इलाम जस्तो हुनुपर्थ्यो, त्यस्तो देखिएन । खासगरी सहरी वास्तुकलाको सन्दर्भमा ।

थाहा छैन, पूर्वी पहाडको यो डाँडामा कहिले मान्छेहरु पुगे ? कसरी बस्ती बसाए ? कसरी त्यहाँको सभ्यता फैलिंदै गयो ?

के चाहिं अनुमान गर्न सकिन्छ भने आफ्नो मौलिक वास्तुशिल्पसँग यो सहरले जग बसाल्यो ।  जस्तापाताको छानो, ढुंगामाटोको पर्खाल, काठको झ्यालढोका, काठकै बार्दली, मझौला आकारको घर । यो घर केवल घर मात्र थिएनन्, यहाँका पुर्ख्यौली सीप र ज्ञान पनि थियो । किनभने धेरैजसो समय ओसिलो रहने यहाँको हावापानीमा यस्तै वास्तुशिल्प उत्तम हुँदो हो । स्थानीय स्रोत र साधन प्रयोग गरी निर्माण गरिएका यी घरहरु सुरक्षित, सहज र वाताअनुकूलित हुँदो हो ।

तर दुःखलाग्दो कुरा ।

चोक बजारमा उभिएर मैले आसपासका दृश्यहरु कैद गर्दा इलामे विरासतसँगै ठडिएका यी घरहरु ‘लोपोन्मुख’ देखिए । कंक्रिटका ठूला-ठूला घरहरुले यहाँका मौलिक वास्तुशिल्पलाई च्याप्दै र ठेल्दै एकातिर थन्को लगाइदिएझैं लाग्छ ।

स्वभाविक हो, समयअनुसार र अनुकूल सबैले आफ्नो स्वरुप बदल्छन् । कतिपय अवस्थामा आवश्यकता र बाध्यताले पनि धेरै कुरा फेरबदल गराउँछ । अग्लो, ठूलो र बलियो घरको आवश्यकताले गर्दा इलामका मौलिक वास्तुशिल्पलाई क्रमश: ओझेल पारेको हुनसक्छ ।

यद्यपि आफ्नो विशिष्ट वास्तुशिल्प नै त्यस सहर (बजार/बस्ती)को खास चिनारी बन्ने हो । किनभने त्यसले सहरलाई पृथक मात्र देखाउँदैन इतिहास र त्यसको पुर्ख्यौली विरासतलाई पनि जोडिरहन्छ । पुर्खाले वर्षौंवर्ष लगाएर कसरी त्यस्ता वास्तुशिल्पको रचना गरे ? कसरी त्यस्ता संरचना निर्माण गरे भन्ने प्रश्नलाई बचाइराख्छ । र, त्यो इतिहासको साक्षी बनेर सधैं सगर्व उभिरहन्छ ।

तर अहिले इलामले आफ्नो मौलिक वास्तुशिल्प जोगाउन नसकेको हो कि ? खिन्नता महसुस हुन्छ ।

तस्वीरहरु  

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?