
२५ असोज, इलाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले बाढीपीडित परिवारलाई भेटेर राहत वितरण गरेका छन् ।
मन्त्री घिसिङले माइखोलास्थित टापु क्षेत्रमा बाढीले बगाएका २८ घरपरिवारसँग भेट गरी राहत वितरण गरे ।
८ दिनदेखि अवरुद्ध मेची राजमार्गको राजदुवाली सडक खण्डको निरीक्षण गर्दै मन्त्री घिसिङले सडक खोल्ने कार्यलाई पहिलो प्राथमिकता राखेको बताए ।
उनले अवरुद्ध सडकका बारेमा भूगर्भविद् तथा डिभिजन सडक कार्यालय इलामका इन्जिनियरसँग समेत छलफल गरे ।
गृहमन्त्री ओमप्रकाश अर्याल समेत इलाम आउने कार्यतालिका सार्वजनिक गरिएको थियो । तर, उनी आएनन् । इलाम नगरपालिकाको मात्र निरीक्षण गरेको भन्दै अन्य पालिकाका पीडितहरूले सामाजिक सञ्जालमा मन्त्रीको आलोचना गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा इलाममा इन्धन र स्वास्थ्य संकट चुलिएको छ ।
१८ गते आएको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परि इलाममा मात्र ३९ जनाले ज्यान गुमाएका छन्, १ जना बेपत्ता छन् भने घरमा भएको क्षतिका कारण २६५ परिवार विस्थापित भएका छन् । जसमध्ये १७२ परिवार इलाम नगरपालिकामा मात्र छन् ।
प्रतिक्रिया 4