+
+

छायांकनका लागि कुन–कुन चलचित्र छन् तयार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते ११:३४

जिल्ला प्रशासन कार्यलय, काठमाडौंले चलचित्र छायांकन र प्रदर्शनका लागि अनुमती दिएसँगै अब चलचित्र क्षेत्र पनि चलायमान हुने अपेक्षा गरिएको छ । चलचित्र प्रदर्शनका लागि ५० प्रतिशत अकुपेन्सी र छायांकनका लागि २५ जना सदस्य राखेर काम गर्न सकिने प्रशासनको निर्देशन छ । योसँगै अब चलचित्रको छायांकनको काम अगाडि बढ्ने विश्वास गर्न सकिन्छ ।

निषेधाज्ञा अगाडि नै केही चलचित्रको काम सुरु भएर पनि रोकिएको थियो । चलचित्र ‘बाबरी’को केही प्रतिशत मात्र छायांकन सकिएको छ । यो चलचित्रको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ । चलचित्र ‘प्रेमगञ्ज’को पनि छायांकन निषेधाज्ञा अगाडि सुरु भएको थियो । तर, काम हुँदाहुँदै निषेधाज्ञा भएपछि चलचित्रको काम रोकिएको थियो ।

निर्देशक कविराज गहतराज चलचित्र ‘मिरर’को छायांकन अगाडि बढाउने तयारीमा थिए । तर, निषेधाज्ञा भएपछि यो चलचित्रको काम पनि रोकिएको थियो । यस्तै, चलचित्र ‘म राजेश हमाल’को छायांकन भने धनगढीबाट सुरु गरिएको छ । चलचित्रको छायांकनका लागि नायक आर्यन सिग्देल, नायिका संचिता लुइटेल लगायतको टिम धनगढी पुगिसकेको छ ।

चलचित्र ‘कबड्डी ४’को छायांकन पनि रोकिएको थियो । निषेधाज्ञा अगाडि नै चलचित्रको छायांकन सुरु गर्ने योजना रहेपनि काम सुरु हुन सकेको थिएन । यो चलचित्रको छायांकनको काम पनि अब सुरु हुने अपेक्षा गर्न सकिन्छ । चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन पनि बाँकी छ । निर्माणपक्षले ७० प्रतिशत भन्दा बढी प्रतिशत छायांकन सकेको जनाएको छ । नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरी यो चलचित्रको मुख्य भूमिकामा छन् ।

निर्देशक आकाश अधिकारीले नायक सौगात मल्ललाई अनुवन्धित गर्दै अनटाइटल प्रोजेक्टको घोषणा गरेका थिए । यस्तै, नायक भूवन केसीको ‘पारस’, माधव वाग्लेको ‘विवेक’ लगायतका चलचित्रको काम पनि निषेधाज्ञाका कारण अगाडि बढ्न सकेको थिएन ।

नायक राजेश हमाल, पल शाह र अनुप विक्रम शाहीको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’को छायांकन अगाडि बढाउने तयारी निर्माणपक्षको छ । यसका लागि पोखरामा भव्य सेट समेत तयार पारिएको छ । निषेधाज्ञाका कारण छायांकनमा जान नसकेका दर्जन बढी चलचित्रको काम अब अगाडि बढ्ने देखिन्छ । यसले, चलचित्र क्षेत्रलाई फेरि चलायमान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?