+
+
Shares

एमसीसी उपाध्यक्षको पहिलो राजनीतिक भेटघाट ओलीसँग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १४:४०

२४ भदौ, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार बिहीबार काठमाडौं आएलगत्तै राजनीतिक भेटघाट शुरु गरेकी छन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी उनले भेटवार्ताको क्रम प्रमुख विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट सुरु गरेकी छन् । बिहीबार दिउँसो उपाध्यक्ष फतिमासँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स  ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

एमसीसी पदाधिकारीसँग ओलीको छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।  यसअघि ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन पहल गरे पनि सकेको थिएन । नेपालमा विद्युत प्रशारण लाइन र सडकका विभिन्न परियोजनाका लागि एमसीसीसँग ५० करोड अमेरिकी डलर अनुदानमा हस्ताक्षर भए पनि एमसीसी सम्झौता संसदबाट अनुमोदन नहुँदा काम सुरु हुन सकेको छैन ।

एमसीसी सम्झौता संसदबाट अनुमोदनको पहल गर्नका लागि उपाध्यक्ष फतिमाको टोली काठमाडौं आएको हो । यो टोलीले प्रधानमन्त्री र अरु दलका शीर्ष नेताहरुसँग पनि भेट्नेछ ।

सरकारले एमसीसी परियोजनाको विषयमा विभिन्न जिज्ञासा राखेर पठाएको पत्रको जवाफ फतिमाले बुधबार मात्र दिएकी थिइन् ।

फतिमा नेपाल आएको केहीबेरमा काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी उनी एमसीसी पूर्वाधार कार्यक्रम कार्यान्वयनको अर्को चरणको लागि आवश्यक छलफलका लागि आएको जनाएको छ ।

‘साथै उनले अर्थमन्त्रालयले राखेको प्रश्नको जवाफ दिनेछिन् र नेपालका मानिसको कुरा पनि सुन्नेछिन् । उनले विशेषगरी एमसीसी परियोजना सैन्य रणनीतिको भाग होइन र यसले नेपालको सार्वभौमसत्ता जोखिममा पर्दैन र यो सम्झौता नेपालको संविधानभन्दा माथि हुँदैन भन्ने आश्वस्त गराउनेछिन्’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल र अमेरिकाबीच सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर भएको थियो । तर हालसम्म पनि उक्त सम्झौता संसदबाट अनुमोदन नभएपछि कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?