News Summary
Generated by OK AI. Editorially reviewed.- एमसीए–नेपालले नवलपरासीको सुनवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन ९ महिनामा निर्माण सम्पन्न गरेको छ।
- यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ।
- एमसीसी अनुदानमा कुल ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ, र थप तीन प्याकेजको ठेक्का सम्झौता भइसकेको छ।
२८ भदौ, काठमाडौं । एमसीए–नेपालले १८ किलोमिटर प्रसारण लाइन शिलान्यास गरेको ९ महिनामा निर्माण सम्पन्न गरेको छ । यो एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका वडा नम्बर १३ मा निर्माणाधीन न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको उक्त प्रसारण लाइन खण्डको निर्माण आइतबार सम्पन्न भएको हो ।
तत्कालीन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत डिन आर थम्प्सनले १० मंसिर २०८२ मा यो प्रसारण लाइनको शिलान्यास गरेका थिए।
‘नेपालको अहिलेको आवश्यकतालाई दृष्टिगत गरी यो लाइन निर्माणलाई हामीले तीव्रता दियौँ,’ एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने।
एमसीए–नेपालले भारतीय कम्पनीले ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ८ भदौ २०८१ मा उक्त प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा २१ महिनाभित्र यो आयोजना निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि वैदेशिक सहायताबारे समीक्षा थाल्दै केही समयलाई सम्पूर्ण सहयतालाई स्थगित गरेपछि आयोजनाको कार्यान्वयन पनि रोकिएको थियो ।
बुटवल–गोरखपुर प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण एमसीए–नेपालले गरेको हो । यो लाइन निर्माणसँगै दोस्रो सीमापार प्रसारण लाइनको नेपालतर्फको खण्ड तयार भएको छ ।
एमसीसीको अनुदानमा कुल ३ सय १५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदै छ । ती आयोजनाको थप तीन प्याकेजमा निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । त्यसका साथै, ४०० केभीकै विद्युत सबस्टेसन तथा सडक सुधार आयोजना पनि कार्यान्वयन हुँदै छ ।
प्रतिक्रिया 4