+
+

रंगमञ्च : हटेको छैन अन्यौलको पर्दा

सुशील नेपाल सुशील नेपाल
२०७८ भदौ २६ गते १९:५५

२६ भदौ, काठमाडौं । कोरोना महामारीका कारण रंगमञ्च क्षेत्र पनि प्रभावित बन्यो । पहिलो चरणको लकडाउनपछि रंगमञ्चले उठ्ने प्रयास गर्दै थियो । तर, कोरोनाको दोस्रो लहर आएसँगै गरिएको निषेधाज्ञाले रंगमञ्चलाई पुनः ठप्प बनाइदियो ।

अहिले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटेसँगै रंगमञ्च (थिएटर) खुल्न थालेका छन् । रंगकर्मीको सक्रियता शुरु भएको छ । केही नाटकको तयारीमा लागेका छन् भने केहीले नाटक मञ्चन शुरु गरिसकेका छन् ।

टेकुस्थित कौसी थिएटरमा शुक्रबारदेखि ‘हरेक बबाल कुरा’ नाटक मञ्चन सुरु भएको छ । नाटक एक साता मञ्चन हुने थिएटरकी निर्देशक रंगकर्मी आकांक्षा कार्कीले बताइन् । नाटकलाई उनले नै निर्देशन गरेकी हुन् ।

कार्कीका अनुसार कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सीमित दर्शक राखेर नाटक मञ्चन शुरु गरिएको हो । रंगमञ्चलाई गति दिन नाटक मञ्चन शुरु गरिएको उनले बताइन् ।

यो कौसीको भौतिकरुपमा डेढ वर्षपछि भएको नाटक मञ्चन हो । ‘निषेधाज्ञा हटेकाले आँट गरिएको हो’ कार्कीले भनिन्, ‘थोरै दर्शक राखेर, धेरै लगानी नपर्ने गरी नाटक मञ्चन शुरु गरेका हौं ।’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शुक्रबारदेखि भष्ट्राचारमाथि गरिने नाटक रिहर्सल शुरु भएको छ । थिएटरका निर्देशक घिमिरे युवराजका अनुसार देशका विभिन्न स्थानमा नाटक देखाउने लक्ष्यका साथ रिहर्सल शुरु गरिएको छ । दशैंलगत्तै सुनसरी, मोरङ, झापालगायतका जिल्लाबाट नाटक मञ्चन शुरु गरिने उनले बताए ।

शेक्सपियरको ‘एज यू लाइक इट’ नाटक ६ दिन मञ्चन गर्ने तयारी पनि शिल्पीको छ । यो नाटक १० दिनपछि शुरु हुनेछ । ‘अहिले यी दुईवटा काम भइरहेको छ । पुरानो लयमा फर्किने कोशिस गरिरहेका छौं’ युवराजले अनलाइनखबरसँग भने । शिल्पी थिएटरमा निषेधाज्ञाकै बीचमा ‘अनुपस्थित तीन’ नाटक मञ्चन गरिएको थियो । दर्शक राखेर फेसबुकमा ‘लाइभ स्टि्रमिङ’ गरिएको उक्त नाटक हेर्न रंगकर्मीको समेत उपस्थिति थियो । नाटक तीन दिनसम्म चलेको थियो ।

चाडपर्व नजिकिएसँगै नाटक-मण्डली पनि जाग्न थालेका छन् । रंगकर्मीहरु विभिन्न नाटकको तयारीमा जुटेका छन् । यद्यपि दर्शक धेरै नआउने भएकाले किफायती ढंगले नाटक तयार गर्नुपर्ने बाध्यता छ

सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा असोज १ गतेदेखि नाटक ‘म’ मञ्चन हुन लागेको छ । रंगकर्मी सुलक्षण भारतीले नाटकको लेखन तथा निर्देशन गरेका छन् ।

रंगकर्मी केदार श्रेष्ठ थोरै दर्शक राखेर भएपनि नाटक मञ्चन गर्ने काम रंगकर्मीबाट शुरु भएको बताउँछन् । उनले माहोल केही सामान्य बन्दै गएसँगै यतिबेला रंगकर्मीहरु नाटकको तयारीमा रहेको बताए ।

‘आफ्नो हिसाबले त काम गरिरहेका थियौं । तर, देखिने गरी भएको थिएन । अहिले चाहिँ थोरै संख्यामा दर्शक राखेर भएपनि नाटक मञ्चन गर्ने काम साथीहरुबाट शुरु भएको छ’, केदारले सुनाए ।

कीर्तिपुरमा रहेको आफ्नो ‘थिएटर मल’मा भने दशैंअगाडि नाटक मञ्चन नहुने उनले बताए । नाटकको तयारीबारे भने छलफल भइरहेको केदारले बताए । उनले दुईवटा कथामा तयारी थालेको बताए ।

राष्ट्रिय नाचघरले पनि नाटकलगायत कार्यक्रमको तयारीबारे छलफल शुरु गरेको छ । नाचघरका सहायक नाटक प्रबन्धक वीरेन्द्र हमालले भने, ‘कार्यक्रम शुरु गर्ने भनेर छलफल गरिरहेका छौं । केही कार्यक्रमबारे तयारी गर्न थालेका छौं ।’

संकटमा गुज्रिए

‘सबैभन्दा ठूलो त थिएटर र रंगकर्मी आर्थिक समस्याबाट गुज्रिनुपर्‍यो । अहिलेपनि गुज्रिरहनुपरेको छ’ शिल्पी थिएटरका निर्देशक एवं रंगकर्मी घिमिरे युवराज कोरोनाले रंगमञ्चमा पारेको असरबारे भन्छन्, ‘कति साथी गाउँतिर जानुभयो । अझै फर्किनुभएको छैन ।’

रंगकर्मीहरु भन्छन्, -‘रंगमञ्चले जुन उपलब्धि पाएको छ, हामी निजी तवरबाटै यहाँसम्म आएका हौं । यसलाई जोगाएर अगाडि बढाउन सरकारको सहयोग अत्यन्तै आवश्यक छ । यसमा रंगकर्मीले पनि दबाब दिन जरुरी छ ।’

उनी भाडामा संचालनमा रहेका थिएटरलाई अझ उभिनै समस्या रहेको बताउँछन् । त्यस्तै कोरोनाले रंगकर्मीमा मनोवैज्ञानिक असर परेको हुनाले लामो समयपछि काममा फर्किँदा गुणस्तरमा समेत असर पर्ने उनले बताए ।

कौसी थिएटरकी निर्देशक आकांक्षा पनि कोरोनाका कारण थिएटर समस्याबाट गुज्रिनुपरेको बताउँछिन् । उनी पनि कतिपय रंगकर्मी रंगकर्म छाडेर अन्यत्र गएको बताउँछिन् ।

उनले भनिन्, -‘सबैभन्दा ठूलो असर त आर्थिक रुपमा नै पर्‍यो । भावनात्मकरुपमा पनि ठूलो असर गर्‍यो । थिएटरमा काम गरिरहनुभएको र पुगिरहेको तर, अहिलेको समयमा कति कुर्ने भनेर अरु क्षेत्रमा जाने कलाकार पनि हुनुहुन्छ । धेरै रंगकर्मी निराश हुनुपर्ने अवस्था आयो र यो अवस्था अहिले पनि छ ।’

यत्तिकै भने बसेनन्

लकडाउन र निषेधाज्ञाको समयमा पनि रंगकर्मी यत्तिकै भने बसेनन् । पहिलो चरणको लकडाउन भएदेखि नै रंगकर्मीले भर्चुअल नाटकको अभ्यास शुरु गर्न थालेका थिए । थिएटर मलले पहिलो लकडाउन शुरु भएको तीनदिनमै नाटकहरू भर्चुअल माध्यमबाट प्रस्तुत गरेको थियो । जुन १६ दिनसम्म प्रस्तुत गरिएको थियो । त्यसबीचमा बालबालिकाको लागि कथा सुन्ने प्लेटर्फमका रुपमा युट्युबबाट नाटक प्रशारण शुरु गरेको थियो ।

त्यस्तै मण्डला थिएटरले अभिनेता दयाहाङ राई निर्देशित नाटक ‘मितज्यू’ युट्युबमार्फत् सार्वजनिक गर्‍यो । यता, कौसी थिएटरले अनलाइनबाट ‘प्ले ब्याक थिएटर’ शुरु गर्‍यो । जहाँ कलाकारले घर-घरबाटै भर्चुअलरुपमा नाटक प्रस्तुत गरेका थिए । ‘यो भनेको कलाकारले दर्शकको कुरा सुनेर त्यसलाई प्रस्तुत गर्ने एउटा नाट्य शैली हो’ कौसीकी निर्देशक कार्कीले भनिन्, ‘त्यो भौतिकरुपमा पनि गरिन्थ्यो, तर त्यसलाई हामीले भर्चुअलरुपमा पनि गर्‍यौं ।’

त्यस्तै कौसी थिएटरले ‘सर्ट फिल्म’ निर्माण गर्‍यो । यसैबीचमा नाट्य कार्यशालासमेत कौसीले सम्पन्न गर्‍यो । यता, शिल्पी थिएटरका निर्देशक घिमिरे युवराज कोरोनाकालमा केही अभ्यास भएको बताउँछन् । पहिलो चरणको लकडाउनपछि शिल्पीले ‘६ पात्रको एकालाप’ नाटक १० दिनसम्म मञ्चन गरेको थियो । शिल्पीले तीन महिना तालिमसमेत आयोजना गर्‍यो । यता रंगकर्मीहरु नागरिक आन्दोलनसँग सडकमा धेरै दिन सक्रिय रहे । ‘हामीले सडकमा १४ वटा प्रस्तुती गर्‍यौं’ घिमिरे युवराजले भने, ‘डा. केसीको समर्थनमा वा मजदुरको पक्षमा । त्यस्तै ओली शासनको अराजकताको विषयमा पनि नाटक गर्‍यो ।’ शिल्पीले केही समयअघि ‘अनुपस्थित तीन’नाटक दर्शकसहित अनलाइन लाइभमा प्रस्तुत गरेको थियो ।

कोरोनाकालमा रंगकर्मीहरु आफ्नो अभिभावक को हो त भन्नेबारे सोच्न बाध्य भए । उनीहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ध्यानाकर्षण पत्रसमेत बुझाए । तर, उपलब्धि केही नभएको रंगकर्मीहरु बताउँछन् ।

यता, मण्डला थिएटरले केही दुई साताअघि नाटक ‘युद्धका घाउहरु’ भर्चुअलरुपमा प्रदर्शन गर्‍यो । यो मण्डलाको पहिलो ब्याचका विद्यार्थीले तयार पारेको नाटक थियो ।
कहिलेदेखि गतिशील होला ?

थिएटरका ढोका बिस्तारै खुल्दैछन् । तर, गतिशील कहिलेदेखि हुने भन्ने कुरामा अन्योल रहेको रंगकर्मीहरु बताउँछन् । ‘लयमा फर्किन, कलाकारलाई दर्शकसँग जोड्न केही समय लाग्छ’ रंगकर्मी घिमिरे युवराज भन्छन्, ‘आर्टको कुरामा पब्लिक स्पेशमा मानिसहरु जान चाहन्छन् वा चाहँदैनन् भन्ने अहिलेको प्रश्न छ । यदि तेस्रो लहर आएन भने दशैंपछिबाट केही गतिविधि होला ।’ उनी दर्शकलाई क्रमशः बानी पार्दै लैजानुपर्ने बताउँछन् । त्यसका लागि दर्शकलाई तान्ने नाटक आउनुपर्ने उनको भनाइ छ । आफूहरुले प्रस्तुत गरेको नाटकमा दर्शकको उत्साह देखेर आशावादी भने रहेको उनले बताए ।

रंगकर्मी केदार श्रेष्ठ पनि रंगमञ्च कहिलेदेखि गतिशील हुने भन्ने अन्योल नै रहेको बताउँछन् । ‘साथीहरुले प्रयास गरिरहनुभएको छ । सबैको सानोसानो प्रयासले गतिशील हुँदै जाने हो’ उनले भने, ‘यद्यपी सबै हिसाबले सहज भएपनि कोरोनाअघिको अवस्थामा फर्किन समय लाग्छ ।’

रंगमञ्च पहिलेकै अवस्थामा फर्किन झण्डै एक वर्ष लाग्ने रंगकर्मीहरु बताउँछन् । रंगमञ्चलाई सरकारी पक्षबाट केही सहयोग नभएको रंगकर्मीले गुनासो गर्दै आएका छन् । रंगमञ्च यो स्थानसम्म निजी तवरबाट उठेको उनीहरुको भनाइ छ । रंगकर्मीहरु भन्छन्, -‘रंगमञ्चले जुन उपलब्धि पाएको छ, हामी निजी तवरबाटै यहाँसम्म आएका हौं । यसलाई जोगाएर अगाडि बढाउन सरकारको सहयोग अत्यन्तै आवश्यक छ । यसमा रंगकर्मीले पनि दबाब दिन जरुरी छ ।’

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?