+
+

‘तिम्रो मन बदलिएछ’ भन्दा बलियो कि कमजोर ‘किन यसरी’को भिडियो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १७:५३

गायक प्रमोद निर्वाणले २ दशक अगाडि तयार पारेको गीत हो, ‘किन यसरी विना अर्थले’ । आफूलाई धोका दिएकी प्रेमिकाको यादमा प्रमोदले यो गीत तयार पारेका थिए । यो गीतले सो समयमा हंगामा नै मच्चाएको थियो । यस्तै केही गीत सार्वजनिक गरेपछि प्रमोद घरयासी काममा नै व्यस्त बने । उनी, म्युजिक क्षेत्रमा त सक्रिय थिए तर नयाँ पुस्ताले उनलाई विर्सिएको थियो ।

उनै, प्रमोदसँग सहकार्य गर्दै बले इन्टरटेन्मेन्टले यो गीतको रिमेक गरेको छ । रिमेक गीतको भिडियो सार्वजनिक भएसँगै एकपटक फेरि वियोगान्त यो गीत दर्शकको मस्तिष्कमा घुम्न थालेको छ ।

बले इन्टरटेन्मेन्टले यसअघि ‘तिम्रो मन बदलिएछ’ बोलको गीतको रिमेक गरेको थियो । यश कुमारको स्वरमा कुनै समय सुपरहिट भएको यो गीत दर्शकमाझ आएपछि फेरि चर्चामा रह्यो । गीतको भिडियोलाई समेत दर्शकले उत्कृष्ट भने ।

के बले इन्टरटेन्मेन्टले ‘तिम्रो मन बदलिएछ’ जस्तै यो गीतलाई पनि उत्कृष्ट बनाएको छ त ? के सफल निर्देशक निकेश खड्काले यसपटक पनि दर्शकमाझ निर्देशकिय जादु छर्न सफल भएका छन् त ?

कस्तो छ भिडियो ?

यो भिडियोले एक प्रेमीको वियोगान्त कथा भन्छ । आफूले माया गरेकी प्रेमिकाले साथ छाडेपछिको कथा निर्देशकले देखाएका छन् । भिडियोमा सागर लम्साल र शिक्षा संग्रौलाविचको प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा कुशल श्रेष्ठ र संजिता पाण्डेलाई सहयोगी कलाकारको रुपमा हेर्न सकिन्छ ।

आफूले माया गरेकी प्रेमिकाको गाडीको ठक्करले निधन भएपछि उसकै यादमा तड्पिएको एक प्रेमीको कथा हो, ‘किन यसरी’को भिडियो । मायामा झगडा परेपछि आक्रोशमा सडकमा निस्किएकी एक यूवतीलाई एक यूवकले चलाएको गाडीले ठक्कर दिन्छ । घटनास्थलमा दुबै जनाको निधन हुन्छ । तर, दर्शकले यो भिडियोको अन्तिममा मात्र शिक्षा र कुशलको निधन भैसकेको थाहा पाउँछन् । निर्देशकले कथामा ट्विष्ट ल्याएका छन् ।

अभिनयका हिसाबले सागर र शिक्षाले उत्कृष्ट काम गरेका छन् । दर्शकले डान्सिङ भिडियोमा मात्रै हेर्दै आएका सागरले ५ मिनेटको भिडियोमा आफ्नो अभिनय कला देखाउने प्रयास गरेका छन् । शिक्षाको काम पनि उत्कृष्ट छ । सहयोगी कलाकारको रुपमा कुशल र संजिताको भूमिका थोरै छ, तर विशेष छ ।

निर्देशक निकेश खड्काले २ वटा चलचित्र निर्देशन गरिसकेका छन् । उनी भिडियोमा पनि सिंगो चलचित्रको जस्तै कथा भन्न सिपालु छन् । उनले यसअघि ‘तिम्रो मन बदलिएछ’मा बोलेको कथाले दर्शकलाई रुवायो । यसपटक पनि उनले यस्तै प्रयास त गरेका छन् ।

भिडियो मेकिङमा सागर उनको टिमले कञ्जुस्याँई गरेको छैन । तर, यो भिडियो ‘तिम्रो मन बदलिएछ’सँग तुलना गर्दा भने केही कमजोर छ । दर्शकले सागर र शिक्षाको केमेष्ट्रीमा प्रेमको भाव गहिरो तरिकाले पाएका छैनन् । प्रेमको सोही गहिराई देखाउन नसक्दा शिक्षा र सागरको विछोडमा पनि दर्शकको मन चसक्क नहुन सक्छ ।

‘किन यसरी’ गीतको अडियोले जुन मर्म बोलेको छ, भिडियोमा निकेशले सोही मर्मलाई प्रस्तुत गर्ने कोशिश गरेका छन् । तर, यसपटक ‘तिम्रो मन बदलिएछ’ले जसरी दर्शकको दिमाग हल्लाउन यो भिडियोले सकेको भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?