+
+

दशैंमा नयाँ नेपाली फिल्म रिलिजको सम्भावना कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १२:२०

गत वर्षको दशैंमा नयाँ नेपाली चलचित्र रिलिज हुन सकेनन् । कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन सकिंदा पनि हलहरु भने खुलेका थिएनन् । यसैले, दशैंमा राम्रो व्यापार गर्ने निर्माताहरुका लागि ठूलै घाटा लाग्यो ।

यस वर्ष पनि सरकारले ५० प्रतिशत अकुपेन्सीमा उपत्यकाका हलहरु संचालन गर्न दिने निर्णय गरिसकेको छ । तर, दशैं आउनका लागि एक महीना पनि बाँकी नरहेको अवस्थामा अझै पनि नयाँ नेपाली चलचित्र रिलिजको कुनै संकेत देखिएको छैन । के यो वर्ष पनि दशैंमा हलहरु खाली नै हुनुपर्ने हो त ?

नेपाल चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान दशैंमा मात्र नभएर अब निरन्तर नयाँ चलचित्र रिलिजका लागि आफूहरुले कुराकानी अगाडि बढाइरहेको बताउँछन् । उनी भन्छन्–‘हामीले कुराकानी अगाडि बढाएका छौं । बरु, एक दुई साता ढिलो होस् तर हल खोलेपछि बन्द गर्नुपर्ने अवस्था नआओस् भन्नेतर्फ हामी सचेत छौं । यसैले, पनि हामीले चलचित्र विकास बोर्ड, निर्माता र वितरकसँग कुराकानी गरिरहेका छौं ।’

आफूहरुले नयाँ चलचित्र रिलिजका लागि ‘म यस्तो गीत गाउँछु २, हिजो आजका कुरा, चपली हाइट ३, लक्का जवान’ लगायत चलचित्रका निर्मातासँग कुरा अगाडि बढाएको प्रधानले बताए । के दशैंमा नयाँ चलचित्र रिलिज हुन्छ त, प्रधान भन्छन्–‘हामीले कोशिश गरिरहेका छौं । दशैं मात्र नभएर त्यसपछि पनि निरन्तर चलचित्र रिलिज गर्ने प्रयास हाम्रो छ ।’

अहिलेसम्म दशैंलाई लक्षित गरेर कुनै पनि नयाँ चलचित्रले प्रदर्शन मिति तोकेका छैनन् । निर्माताहरु आफ्नो लगानी मात्र भए पनि सुरक्षित हुने पक्का भए मात्र चलचित्र रिलिज गर्ने मूडमा छन् ।

सरकारले उपत्यकामा मात्र हल खोलेको र ५० प्रतिशत अकुपेन्सीको नियम तोकेका कारण पनि निर्माताहरु चलचित्र रिलिज गर्न तयार छैनन् । यस, विषयमा आफूहरुले संचार मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएको प्रधानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?