+
+

क्यानडा निर्वाचन : ट्रुडोले पाएनन् बहुमत, सत्तामा भने कायम रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १२:३७

५ असोज, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार भएको संसदीय निर्वाचनमा जित हात पारेको छ ।

यद्यपि यो पार्टीले बहुमत भने हात पार्न सकेन । प्रधानमन्त्री जस्टिन ट्रुडोले मध्यावधि संसदीय निर्वाचनको घोषणा गरे पनि उनका लागि यो निर्वाचन त्यति फलदायी भने रहन सकेन ।

लिबरल पार्टीले सन् २०१९ मा भएको निर्वाचनमा पाएको जति नै सिटमा अहिले जित हासिल गरेको छ वा जित्न सक्ने अवस्थामा छ । सन् २०१५ देखि जस्टिन ट्रुडो निरन्तर क्यानडाको सत्तामा छन् ।

सोमबार भएको निर्वाचनमा लिबरल पार्टीले १५७ सिटमा जित हात पारेको वा जित्न सक्ने अवस्थामा देखिएको छ । २०१९ मा पनि लिबरल पार्टीले त्यति नै सिट पाएको थियो ।

क्यानडाको संसद हाउस अफ कमन्समा बहुमतको लागि १७० सिट आवश्यक पर्छ । कन्जर्भेटिभ्स पार्टीले १२१ सिटमा जित हासिल गरेको वा जित्न सक्ने अवस्थामा देखिएको छ । २०१९ मा पनि यो पार्टीको अवस्था यस्तै थियो ।

वामपन्थी न्यु डेमोक्रेट्स २९ सिटमा अगाडि छ । अघिल्लोपटकको तुलनामा यो पार्टीले पाँच सिट बढी जितेको छ । ब्लक क्युबेकोइसको सिट घटेर २८ मा आइपुगेको छ ।

ट्रुडोले स्थिर सरकारको लागि भन्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । यद्यपि उनको सरकार ढल्ने कुनै सम्भावना देखिएको थिएन । विपक्षीले ट्रुडोमाथि मध्यावधि निर्वाचनको कुनै आवश्यकता नभएको तर उनले आफ्नो महत्वाकांक्षाको लागि यो निर्णय गरेको आरोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?