+
+

क्यानडाले रिहा गरेकी हुवावेकी वित्तीय प्रमुख को हुन् ? यस्ता छन् ५ तथ्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १३:४८

चिनियाँ प्रविधि कम्पनी हुवावे टेक्नोलोजिजकी प्रमुख वित्तीय अधिकृत मेंग वान्झोउ क्यानडाले रिहा गरेसँगै हालै स्वदेश फर्किएकी छन् ।

सन् २०१८ मा अमेरिकी वारेन्टका आधारमा क्यानडाको भ्यानकुभरस्थित विमानस्थलमा पक्राउ परेकी मेंगमाथि व्यावसायिक ठगी तथा धोकाधडी लगायतको अभियोग लगाइएको थियो ।

अमेरिकी अभियोजकसँगको कानूनी सम्झौता र चीनमा बन्धक रहेका दुई जना क्यानेडालीलाई रिहा गर्ने सहमतिसँगै मेंगलाई अभियोगबाट सफाइ दिइएको थियो । हुवावे कम्पनीका संस्थापककी छोरी रहेकी मेंगलाई एयर चाइनाको चार्टर्ड विमानबाट सेन्झेन शहरमा ल्याइएको हो ।

विश्व कूटनीति, अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रलाई तरंगित बनाउने मेंग आखिर को हुन् ? उनको व्यक्तिगत, व्यावसायिक तथा कैदी जीवनका पाँच रोचक तथ्य यस्ता छन् :

हुवावेकी राजकुमारी

न्युयोर्क टाइम्सका अनुसार मेंगको अंग्रेजी नाम पनि छन् । उनी आफूलाई क्याथी तथा सबरिनाको नामबाट पनि चिनाउने गर्छिन् । हुवावे संस्थापक रेन झेंगफेइकी छोरी मेंगलाई चिनियाँ सरकारी सञ्चार माध्यमहरुले हुवावेकी राजकुमारीको उपमा दिएका छन् । चीनको सिचुआन प्रान्तस्थित छेंग्दुमा जन्मिएकी मेंगले हुआन्झोउ विश्वविद्यालयबाट लेखामा स्नातकोत्तर गरेकी छन् । सन् १९९३ मा आफ्ना बुवाको कम्पनी हुवावेमा संलग्न हुनु अगाडि उनले चिनियाँ पुनर्निर्माण बैंकमा जागिर गरेकी थिइन् ।

अमेरिकी कन्सुलेटकी छिमेकी

क्यानडामा पक्राउ परेसँगै उनले आफ्नो निर्दोष भएको भन्दै अमेरिका सुपुर्दगीविरुद्ध संघर्ष जारी राखिन् । भ्यानकुभरमा बन्दी अवस्थामा रहेकी उनलाई २४ सै घण्टा निजी सुरक्षा प्रदान गरिएको थियो, जसको खर्च उनी आफैंले व्यहोरिन् ।

उनी बसेको ठाउँको छिमेकमै अमेरिकी कन्सुलेट कार्यालय थियो । उनलाई राति अबेरसम्म घरमै नजरबन्दमा राखिन्थ्यो भने रातको ११ बजेतिर उनका परिवारका सदस्यहरुलाई भेट्न दिइन्थ्यो । उनका पति तथा दुई जना बच्चा उनलाई भेट्न आउँथे ।

मोलमोलाइको कैद

मेंगलाई क्यानडाले पक्राउ गरेसँगै चीनले दुई जना क्यानडालीलाई पनि पक्राउ गर्‍यो । त्यसमध्ये एक जनालाई सुराकीको अभियोगमा गत अगष्टमा ११ वर्षको जेल सजाय सुनायो । त्यसलाई चीनको बदलाको रुपमा हेरिएको थियो । मेंगलाई अमेरिकी उजुरीको आधारमा क्यानडामा पक्राउ गर्नुलाई चीनले राजनीतिक उद्देश्य प्रेरित घटनाको रुपमा हेरेको थियो । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले पनि त्यसलाई मलजल गरेको थियो  । रोयटर्ससँगको कुराकानीमा ट्रम्पले यदि अमेरिकाको राष्ट्रिय सुरक्षाको स्वार्थ तथा चीनसँग व्यापारिक सम्झौताको लाभ हुन्छ भने मेंगको मुद्दामा आफूले अमेरिकी न्याय मन्त्रालयमा समेत हस्तक्षेप गर्ने बताएका थिए ।

पारिवारिक सम्बन्ध

४९ वर्षीया मेंग हुवावेका संस्थापक रेनकी पहिलो पत्नीबाट जन्मिएकी हुन् । उनी सौतेनी बहिनी एन्नबेल याओ उनीभन्दा २५ वर्ष कान्छी छिन् । मेंग पक्राउ पर्नु केही हप्ताअघि मात्र उनले पेरिसस्थित फेसन शो ले बाल डेस डेबुटेन्ट्समा सहभागी भएर तहल्का मच्चाएकी थिइन् ।

अनौठो

मेंगलाई बेला बेलामा सिलाइ गरिएका बिजनेस पहिरन लगाएर नजरबन्दमा राखिएको घरबाट निस्किई आफैं अदालतमा गएको देख्न सकिन्थ्यो । उनको खुट्टामा चाहिं निगरानी गर्नका लागि उपकरण राखिएको हुन्थ्यो ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?