+
+

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

श्रवण देव श्रवण देव
२०७८ असोज १३ गते २०:०७

१३ असोज, जनकपुरधाम । प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।

‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा नियमितता भएको आशंकामा अख्तियारको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले भने अख्तियारको कदमप्रति आपत्ति जनाएका छन् । यो प्रदेश सरकार र आफूलाई बद्नाम गर्ने षड्यन्त्र मात्र भएको उनको दाबी छ ।

३ घण्टा लगाएर कागजपत्र नियन्त्रणमा

मुख्यमन्त्री राउत सरकारले निकै प्रथामिकताका साथ अघि सारेको ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

हालसम्म ४१ हजार २६२ थान साइकल खरिदमा करिव २९ करोड खर्च भएको छ । साइकल खरिद प्रक्रियामा अनियमितता भएको आरोप लाग्दै आएको छ ।

महालेखा परीक्षकको कार्यालयले पनि आˆनो प्रतिवेदनमा यसबारे प्रश्न उठाएको छ । प्रतिवेदनअनुसार प्रदेश २ का ८ जिल्लाका सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्ने भने पनि विद्यार्थीको संख्या यकीन नगरी साइकल वितरण गरिएको थियो । प्रधानाध्यापकमार्फत दिइएको साइकल विद्यार्थीसमक्ष पुगेको वा नपुगेको पनि प्रष्ट नभएको महालेखा परीक्षकको कार्यालयले बताएको छ ।

यसबारे उजुरी परेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अख्तियारको बर्दिबासस्थित कार्यालयका अनुसन्धान अधिकृत उपसचिव मेघनाथ रिमालले जानकारी दिए । उनी नेतृत्वको ६ जनाको टोलीले झण्डै ३ घण्टा लगाएर कागजपत्र नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्रीको आपत्ति

अख्तियारले आफ्नो कार्यालयमा छापा मारेकोमा मुख्यमन्त्री राउतले भने आपत्ति जनाएका छन् ।

अनियमितता भयो भनेर समाचार आउनु, अख्तियारको टोली आउनु र तत्काल सबैतिर खबर आउनु षड्यन्त्रपूर्ण भएको उनले बताए । सुशासनको सवालमा आफूहरु गम्भीर रहेको भन्दै मुख्यमन्त्री राउतले भनेका छन्, ‘तपाईहरुले सजिलै फाइल लिएर जान सक्नुहुन्छ । यो तरिका तरिका भएन ।’

यसबारे आफूले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग पनि कुराकानी गरेको र उनले पनि तरिका ठीक भएन भनेर स्वीकार गरेको राउतले बताए ।

सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल पनि अख्तियारको शैली आपत्तिजनक भएको बताउँछन् । अख्तियारले भ्रष्टाचारबारे अनुसन्धान गर्न पाउने भएपनि निर्वाचित प्रदेश सरकार प्रमुखको शक्ति तथा गरीमामा आघात पुग्ने गरी छापामारी शैलीमा अनुसन्धानको प्रक्रिया थालेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो आपत्तिजनक र दुराशयपूर्ण हो भन्ने कुरामा दुईमत हुन सक्दैन ।’

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?