+
+

ईपीएलमा काठमाडौं पोखरासँग डीएल मेथडमा पराजित, प्लेअफ पुग्न अन्तिम खेल जित्नैपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १८:५२

१८ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा वर्षाले प्रभावित बनेको खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स ११ लाई डीएल मेथडका आधारमा १४ रनले पराजित गरेको छ ।

काठमाडौंले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाउँदा टीयू मैदानमा पानी पर्न थालेपछि खेल प्रभावित बनेको थियो ।

त्यसपछि थप खेल हुन सकेन र डीएल मेथडका आधारमा पोखराले जित हात पार्‍यो । कुनै समय ३६ रन हुँदा ४ विकेट गुमाएको पोखराका लागि लक्ष्य पछ्याउनु कठिन देखिएको थियो । तर साहान अराचचिके र विवेक यादवले संयमित ब्याटिङ गर्दै पोखराको इनिङ्स उकासे । विवेकले बलिङमा समेत ३ विकेट लिएका थिए ।

साहान आउट भएपछि लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ८ बलमै १८ रन बनाउनु पनि काठमाडौंका लागि घाटा बन्यो ।

पोखराका लागि साहानले २३ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४३ रन बनाए । यस्तै विवेकले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा अविजित ४१ रन बनाएका थिए । लोकेशले ८ बल खेल्दै ३ चौका मद्दतमा १८ रन जोडे ।

काठमाडौंका लागि जितेन्द्र मुखिया र गुल्शन झाले समान २ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले अमित श्रेष्ठ र रायन बर्लको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । १६ रनमा दुवै ओपनर गुमाएको पोखराका लागि अमित र रायनले १०६ रनको साझेदारी गरेका थिए । अमितले ४१ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा ५६ रन बनाए । ४३ बल खेलेका रायनले २ चौका र ३ छक्का मद्दतमा ५० रन जोडे । छैटौं नम्बरमै ब्याटिङ गरेका कप्तान सन्दीपले ११ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ३१ रन बनाए ।

रहमानुल्लाह गुर्बाज १२, सुवास खकुरेल २, अशन प्रिएनजन ५, अमर सिंह राउटेला ७ र राजु रिजाल शून्यमा आउट भए ।

पोखराका विवेक यादवले अन्तिम ओभर मात्रै बलिङ गर्दा ७ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै विक्रम सोब, किशोर महतो र नन्दन यादवले समान १ विकेट लिए ।

प्लेअफ पुग्न काठमाडौंले अन्तिम खेलमा भैरहवालाई हराउनैपर्ने

काठमाडौंलाई हराएपछि पोखरा ५ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स प्लेअफमा पुगिसकेको छ । ५ खेलबाट ४ जित र १ हारपछि ८ अंक जोड्दै शीर्ष स्थानमा रहेको चितवन क्वालिफायरमै पुगेको छ । चितवनले क्वालिफायर जिते सिधै फाइनल पुग्नेछ । चितवनको क्वालिफायर विपक्षी मंगलबार टुंगो लाग्नेछ ।

लिगको अन्तिम खेलमा मंगलबार काठमाडौंले भैरहवा ग्लाडिएटर्ससँग खेल्नेछ । काठमाडौंलाई प्लेअफ पुग्न भैरहवालाई हराउनुपर्ने बाध्यता छ ।

उद्घाटन खेलमै साविक विजेता ललितपुरलाई हराएर उत्कृष्ट शुरुवात गरेको काठमाडौं त्यसपछि लगातार तीन खेलमा पराजित भयो । ४ खेलबाट १ जित र ३ हारपछि काठमाडौं २ अंकसहित पाँचौं स्थानमा छ ।

काठमाडौंभन्दा अघि साविक विजेता ललितपुर छ । ५ खेल खेलिसकेको ललितपुरको ३ अंक छ । ललितपुर लिगबाट बाहिरिसकेको छैन । ललितपुरको भाग्य पनि अन्तिम खेलमा निर्भर छ ।

यदि काठमाडौंले खेल जितेमा काठमाडौं चौथो हुँदै प्लेअफ पुग्नेछ । भैरहवाले काठमाडौंलाई पराजित गरेमा भने ललितपुर भाग्यमानी बन्दै प्लेअफ पुग्नेछ । जितले भैरहवा शीर्ष दुईमा रहँदै क्वालिफायरमै पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?