+
+

चौथो औद्योगिक क्रान्तितिर फड्को मार्दैछ चीन

डेभिड पी गोल्डम्यान डेभिड पी गोल्डम्यान
२०७८ असोज २४ गते १३:११

जब कोभिड-१९ ले सबैभन्दा पहिला चीनमा हमला गर्‍यो तब पश्चिमी मिडियाले यसलाई चीनको ‘चेर्नोबिल दुर्घटना’ भनेर प्रचार गरे । महामारी नियन्त्रणमा चीनले पाएको सफलतापछि यस्तो प्रचार सुनिन छाड्यो । तर चिनियाँ बजारमा सामान्य समस्या देखिनबित्तिकै चीनको आर्थिक पतनको भविष्यवाणी गर्न थालिन्छ ।

स्ट्राटफरका जर्ज फ्रिडम्यानले ठूलो स्वरले ‘चिनियाँ शक्तिको निकै बढाइँचढाइँ भएको’ र अपर्याप्त आर्थिक स्रोतसाधनका कारण चीनले आफ्नो वैश्विक महत्वाकांक्षा घटाउनुपर्ने भन्छन् ।

हल ब्रान्ड्स र माइकल बेक्लीले फरेन अफेयर्समा २००८ पछि ‘चीन ओरालो लागिरहेको’ र ‘चिनियाँ उदयका कारकहरू निष्प्रभावी बनिरहेको वा पूर्णत: गलत दिशातर्फ गइरहेको’ दाबी गर्छन् ।

यी दाबी विगत २० वर्षको अवधिमा अमेरिकी उत्पादन र प्राविधिक तथा शैक्षिक उपलब्धिमा क्षति पुर्‍याउन सहयोगी भूमिका खेलेका निष्क्रिय सम्भ्रान्तलाई आत्मसान्त्वना दिने भ्रम मात्रै हुन् । र, यी सम्भ्रान्तहरू पतनबाट जोखिने उपायबारे केही बोल्दैनन् ।

अत्यधिक ऋणले थलिएको एउटा घरजग्गा कम्पनीमा निकै खराब वित्तीय समस्या देखिएको छ तर ठूलो सरप्लस (अतिरिक्त बचत) र बचत दर उच्च रहेका मुलुकमा संकट आउँदैन । यस्ता मुलुकले आफ्नो पुनर्संचरना गर्छन् । चीनमा जनसांख्यिकीय समस्या छ तर जापान, दक्षिण कोरिया वा ताइवानको जस्तो गम्भीर छैन । यो समस्या अमेरिकाको भन्दा केही गम्भीर भने पक्कै छ ।

अँध्यारो सुरुङको अन्त्यमा देखिने भनेर यी विज्ञले ठानेको मधुरो प्रकाश अगाडिबाट तीव्र गतिमा आउँदै गरेको रेल गाडी अर्थात् चौथो औद्योगिक क्रान्तिको प्रकाश हो ।

अमेरिकीहरूले १८७३ को संकट र लगत्तैको लामो मन्दी सम्झदैनन् । न त १८९३, १८९६, १९०१ वा १९०७ को आर्थिक संकटबारे नै कुरा गर्छन् । उनीहरूले अन्तर महादेशीय रेलमार्ग, म्याककर्म्याकका कृषि यन्त्र, स्टिल उत्पादनमा एन्ड्रु कार्नेगीको नेतृत्व, उज्यालोका लागि जोन डी रकफेलरले व्यवस्था गरेको सस्तो मट्टितेल, सहरको विद्युतीकरण र हेनरी फोर्डले गरेको मोडेल-टीको आम उत्पादनलाई सम्झिन्छन् । १८९० अन्त्यतिर भएको र अमेरिकालाई विश्व शक्तिको हैसियतमा पुर्‍याएको दोस्रो औद्योगिक क्रान्ति निकै महत्वपूर्ण थियो ।

कार्नेगीले बेलायती आविष्कारक हेनरी बेस्सेमरबाट स्टिल उत्पादन प्रक्रिया सिकेका थिए भने एडिसनले बेलायती आविष्कारक जोसेफ स्वानको सिद्धान्तअनुसार विद्युतीय चिमलाई परिस्कृत गरे (स्वानले पेटेन्ट अधिकार उल्लंघन गरेको भन्दै एडिसनविरुद्ध मुद्दा हालेका र उक्त मुद्दा जितेका थिए) । बेलायती प्रतिभाहरूले आफ्नो साम्राज्यबाट सजिलै पैसा कमाएका थिए र आफ्नो विचार अमेरिकीहरूलाई नै छोडिदिए । अनि अमेरिकीहरूले बेलायती विचारलाई अभूतपूर्व तरिकाले आम उत्पादन (मास प्रोडक्टशन) मा परिणत गरे ।

अहिले शारीरिक श्रम गर्न नचाहेमा अमेरिकीहरू नै बढी छन् र उत्कृष्ट अमेरिकी प्रतिभाले तत्कालै धन कमाउने आशमा स्मार्टफोनका एप बनाउँछन् ।

अब आउने चिनियाँ पुस्ताले एन्ट फाइनान्सियलको कष्ट, एभरग्रान्डेको विफलता, यस वर्षको ऊर्जा अभाव, वा चौथो औद्योगिक क्रान्तिका सानातिना अड्चनबारे कुरा गर्ने छैनन् । उनीहरूले स्वचालित वेयरहाउस, फाइभ-जी नेटवर्कमा स्मार्ट पोर्ट, रिमोट कन्ट्रोलबाट चल्ने खानी, आफैं चल्ने रोबोटबाट सञ्चालित फ्याक्ट्री र चालकरहित ट्याक्सीबारे कुरा गर्नेछन् ।

हाल चीनमा यो सबै पर्याप्त मात्रामा भइरहेको छ । युट्युबमा राखिएका भिडियो लिङ्कबाट तपाईँले पश्चिमी मिडियामा पढ्नेभन्दा बढी जानकारी पाउनुहुन्छ । चीनमा भइरहेको आर्टिफिसियल इन्टेलिजन्स (एआई) को प्रयोग काल्पनिक कथा (साइन्स फिक्शन) जस्तो लाग्छ । तर यो पानी जत्तिकै छर्लङ्ग र हाम्रा आँखा अगाडि भइरहेको कुरा हो ।

जुन मात्रामा औद्योगिक क्रान्तिले अमेरिका र जर्मनीलाई रूपान्तरण गरेको थियो सोही मात्रामा नै लचकतापूर्ण उत्पादन, स्मार्ट लजिस्टिक्स, स्वास्थ्य तथा अन्य क्षेत्रमा बिग डाटा र एआईको प्रयोगबाट आर्थिक जीवन रूपान्तरण हुनेछ ।

सायद इतिहासकारले जनवरी २०२० अर्थात् चीनमा कोभिड-१९ ले हमला गरेको समयलाई एआई क्रान्तिको मिति भनेर उल्लेख गर्लान् । जस्तै, गुगलका पूर्व सीईओ एरिक स्मिट र हार्बार्डका इतिहासकार ग्राहम एलिसनले गत अगस्टमा निम्न कुरा लेखेका थिए :

भाइरसले यो शताब्दीको एउटा महत्वपूर्ण प्रतिस्पर्धा अर्थात् एआईमाथिको श्रेष्ठताका लागि अमेरिका र चीनबीच जारी प्रतिद्वन्द्वितालाई छताछुल्ल बनाइदिएको छ । उद्घाटित दृश्यबाट अमेरिकीहरू सतर्क बन्नुपर्छ । चीन अमेरिकालाई उछिन्ने दिशामा मात्रै छैन, महत्वपूर्ण क्षेत्रमा अमेरिका चीनभन्दा पछि पर्न थालिसकेको छ ।

अधिकांश अमेरिकीहरू अत्याधुनिक प्रविधिमा आफ्नो मुलुकको अग्रता चुनौतीरहित भएको ठान्छन् । तर वित्तीय क्षेत्र र राष्ट्रिय सुरक्षामा एआईको प्रयोग हेर्ने हो भने चीन सशक्त प्रतिस्पर्धी बनिसकेको छ । चीनले एआईमा श्रेष्ठता हासिल गर्ने प्रयास मात्रै गरेको छैन, एआईमा श्रेष्ठता हासिल गरिसकेको छ ।

चीनले भाइरस नियन्त्रण गर्न ६ करोड मानिस बस्ने हुबेइ प्रान्तभर लकडाउन गर्‍यो । उक्त जनसंख्या अमेरिकाको पूर्वी तटमा रहेका प्रत्येक राज्यका बासिन्दाभन्दा धेरै हो । चीनले ठूल्ठूला स्वास्थ्य केन्द्र बनिरहेका बेला एआईबाट परिष्कृत अल्गोरिथममार्फत् मानिसहरूको निगरानी गर्दै र परीक्षण क्षमता बढाउँदै भाइसर फैलिन दिएन ।

नागरिकको हिंडडुलमाथि निगरानी तथा उनीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्ने वा नपर्ने भनेर निर्धारण गर्न सहज होस् भनेर चीनका ठूला प्रविधि कम्पनीहरू कोडसहितका ‘स्वास्थ्य’ एप बनाई तत्कालै प्रतिकार्यमा लागे । त्यसपछि क्वारेन्टाइन लागू तथा व्यापक रूपमा कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्यमा चिनियाँ अधिकारीलाई सघाउन आर्टिफिसियल इन्टेलिजेन्स महत्वपूर्ण भूमिका खेल्यो । व्यापक रूपमा संकलित तथ्याङ्कका कारण बेइजिङका अधिकारीहरू सफल भए तर वाशिङ्टनका अधिकारीहरू बिफल भने ।

मैले यो समाचारलाई गत वर्ष मार्चमा नै एसिया टाइम्समा सबैभन्दा पहिला छापेको थिए ।
चीनका अधिकांश महत्वपूर्ण बन्दरगाह पूर्ण वा लगभग स्वचालन (अटोमेशन) को अवस्थामा छन् । औद्योगिक अटोमेशन मन लोभ्याउने खालको भए पनि अझै परीक्षणकै चरणमा छ । हुवावेले फ्याक्ट्री अटोमेशनका लागि १६ हजार निजी फाइज-जी नेटवर्क निर्माणाधीन रहेको बताएको छ । झण्डै २८ लाख फ्याक्ट्री (२०१५ को तथ्याङ्क अनुसार) रहेको चीनमा उक्त संख्या निकै थोरै हो तर अवधारणाको प्रमाणका लागि यो निकै धेरै हो । यसबाहेक, टेलिकम कम्पनी हुवावेले ३४ हजार अस्पतालमध्ये १८ सय अस्पतालमा फाइभ-जी नेटवर्क जडान गरिसकेको छ ।

चीनले ४० वर्षको अवधिमा निर्वाहमुखी किसानलाई औद्योगिक श्रमिकमा बदल्दै ६० करोड मानिस सहरमा ल्यायो र यस क्रममा प्रतिव्यक्ति जीडीपी १० गुणाले बढेको थियो ।

अमेरिकालाई आफ्नो प्रतिव्यक्ति जीडीपी १० गुणाले वृद्धि गर्न १२५ वर्ष (१८७०-१९९५) लागेको थियो । तर चीनले भने २८ वर्ष (१९९२-२०२०) मै यो काम गर्‍यो । अवश्य पनि, ब्रान्ड्स र बेक्लीले भने झैं चीनले वृद्धिको यो स्रोतबाट लाभ लिएको छ । कैयौं कुरामा चिनियाँ नेतृत्व सही छैन । तर एउटा कुरामा भने सही छ र त्यो भनेको भावी उत्पादकत्वसम्बन्धी योजना बनाउन सक्नु हो ।

देङ सियाओपिङले चिनियाँ किसानलाई औद्योगिक श्रमिकमा परिणत गरे र सी जिङफिङले तिनै श्रमिकका छोराछोरीलाई इन्जिनियर बनाइरहेका छन् । देङले आर्थिक सुधारको थालनी गर्दा विश्वविद्यालय शिक्षा हासिल गर्ने २०-३० वर्ष उमेर समूहका मानिस (हाल उक्त समूहका मानिस ५५ वर्ष वा सोभन्दा माथि पुगेका) २ प्रतिशत मात्रै थिए । तर हाल उच्च शिक्षा हासिल गर्ने यो उमेर समूहका मानिसको संख्या २७ प्रतिशत छ र बढ्ने क्रम जारी रहने छ ।

चीनमा हाल विज्ञान, प्रविधि, इन्जिनियरिङ एवं गणित (STEM) विषयमा स्नातकोत्तर र विद्यावारिधि गर्नेको संख्या अमेरिकाभन्दा क्रमश: सात र तीन गुणा बढी छ । गत वर्षको एक चिनियाँ सर्वेक्षणले विद्यालय शिक्षा पूरा गरेका र उच्च शिक्षा हासिल गर्न चाहने चिनियाँ विद्यार्थीको संख्या अमेरिकामा भन्दा धेरै भएको दाबी गरेको छ ।

चीन पश्चिमी जीवन स्तरसहितको औद्योगिक मुलुकको रूपमा जन्मिँदै छ । विश्व बैंकका पूर्व अधिकारी तथा अर्थशास्त्री लिन यिफुले प्रतिव्यक्ति जीडीपी अमेरिका बराबर हुन थालेका चीनका अति विकसित प्रान्त र सहरहरू मुलुकभित्रकै अर्को मुलुक भएको बताउँछन् । यसै महिनामा सार्वजनिक हुन लागेको आफ्नो किताबमा उनी लेख्छन्-

अमेरिका र जर्मनीले उन्नाइसौं शताब्दीको अन्त्यतिर दोस्रो औद्योगिक क्रान्तिको नेतृत्व गरेका थिए । त्यतिबेला बेलायतमा सबैभन्दा बढी आय र प्रविधि विकास भएको थियो । अमेरिका र जर्मनी आयको हिसाबले लगभग बेलायत बराबर हुने चरणमा प्रवेश गरेका थिए । क्रयशक्ति समता (purchasing power parity) हेर्दा सन् १८७० मा अमेरिकाको प्रतिव्यक्ति जीडीपी बेलायतको तुलनामा ७६.६ प्रतिशत र जर्मनीको ५७.६ प्रतिशत थियो ।

मेरो देशमा सबैभन्दा धेरै प्रतिव्यक्ति जीडीपी भएका सात प्रान्त र सहर (बेइजिङ, शाङ्घाई, तियानजिङ, जियाङसु, झेजियाङ, फुजियान र ग्वाङडोङ) को कूल जनसंख्या ३५ करोड छ । यी सात प्रान्त र सहरको प्रतिव्यक्ति जीडीपी अमेरिकाको तुलनामा ५४.५ प्रतिशत छ । यो दर झण्डै दोस्रो औद्योगिक क्रान्तिको नेतृत्व गर्दा बेलायतको तुलनामा जर्मनीसँग भएको प्रतिव्यक्ति जीडीपी बराबर हो ।

‘प्रविधि अनुसन्धान तथा विकासका हकमा मानव पुँजी मुख्य इनपुट हो’, लिन थप्छन् । उनका अनुसार अमेरिकाभन्दा चार गुणा बढी जनसंख्या भएको चीनमा दक्ष जनशक्ति (ट्यालेन्ट पुल) को संख्या पनि निकै धेरै छ ।

चीन आफ्नो जनसंख्याका कारण वस्तु तथा सेवाको न्यून सीमान्त लागतसहित ठूलो अर्थतन्त्र र अन्तर्राष्ट्रिय बजारमा सशक्त प्रतिस्पर्धी बन्न सकेको उनी बताउँछन्- ‘जब विकसित मुलुकसँग प्रतिस्पर्धा गर्दा नयाँ प्रविधिका मापदण्ड देखिन थाल्छन् तब मेरो देशको जनसंख्या र बजारको आकारले तुलनात्मक लाभ प्रदान गर्छन् ।’

यसबाहेक, लिन भन्छन्- ‘मेरो देशमा उद्योगको सबैभन्दा पूर्ण सेट छ र यही कारण नयाँ प्रविधिले छोटो समय र कम लागतमै अवधारणबाट उत्पादनको स्वरूप धारण गर्न सक्छ ।’

चीन चौथो औद्योगिक क्रान्तिको नेतृत्व गर्न गम्भीर, दत्तचित्त र अनुशासित देखिन्छ । अमेरिकाले यसप्रति मिठा कुरा मात्रै गर्छ, समस्यातर्फ ध्यान दिँदैन र उसले ‘विविधता’ र ‘समता’को विषयमा ध्यान दिँदा राम्रो होला ।

(लेखक अमेरिकी अर्थशास्त्री एवं लेखक हुन् । लामो समयदेखि एसिया टाइम्समा स्पेङ्गलरको नाममा स्तम्भ लेख्दै आएका उनका लेखहरू अनलाइन तथा विभिन्न जर्नलमा प्रकाशित छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?