+
+

जम्मु–कश्मीरमा एक सातादेखि भुठभेड जारी, ९ सैनिकसहित २२ जना मारिए

सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ७:३२

१ कात्तिक, काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ ।

मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ ।

भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन सुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मारिए ।

अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसबीच कश्मीरको कुलमागमा आइतबार दुई जना गैरकश्मीरी नागरिकको गोली हानेर हत्या भएको छ । मारिनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह रहेका छन् । अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनी मारिएको एक घण्टापछि कश्मीरको पुलवामा सगीर अहमद मारिए । उनी काठको मिस्त्री थिए । उनीहरुलाई आतंकवादी समूहले गोली हानेर मारेको दाबी गरिएको छ ।

त्यसअघि शनिबार पनि दुई जना मजदुरको गोली हानेर हत्या गरिएको थियो । सर्वसाधारण व्यक्तिको हत्यापछि कश्मीरका राजनीतिक दलहरुले आक्रोश व्यक्त गरेका छन् । यो हत्यापछि भारतीय सुरक्षा बलले थालेको अपरेशनको क्रममा १३ जना आतंकवादीलाई मारेको दाबी गरिएको छ ।

आतंकवादी समूह र सेनाबीच मुठभेड जारी रहेको बेला जम्मु–कश्मीरमा देश विरोधी गतिविधिमा सामेल भएको भन्दै सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ ।

पछिल्लो पटक जम्मु–कश्मीर प्रशासनले अलगाववादी नेता भनेर चिनिने सइद अली शाह गिलानीको नाती अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट बर्खास्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?