
८ कात्तिक, काठमाडौं । चीनका चर्चित लाइभ स्ट्रिम सेल्सम्यान लि जियाकीले अनलाइनमार्फत १२ घण्टामा एक अर्ब ९० करोड बराबरका सामग्री बिक्री गरेका छन् । अलिबाबाको वार्षिक किनमेल महोत्सवपूर्व शुरु गरिएको एक दिने अनलाइन बजारमा उक्त रकम बराबरका सामग्री उनले बिक्री गरेका हुन् ।
आर्थिक मन्दीबीच चिनियाँ उपभोक्ताले निस्फिक्री भएर खर्च गर्न थालेसँगै ‘लिपिस्टिक ब्रदर’ भनेर धेरैले चिन्ने लिले ‘प्रि सेल’को पहिलो दिनमा एक अर्ब ९० करोड बराबरका सामान बेच्न सफल भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।
विभिन्न प्रकारका श्रृंगार सामग्री बेच्दै आएका लिले किनमेल महोत्सपूर्व नै १२ अर्ब युआन बराबरका सामग्री बेच्न सफल भएको ईकमर्स वेभसाइट टाओस्ज डटकमको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । वेभसाइट अनुसार शिसेइदो लोसनदेखि एप्पल एयरपड लगायतका सामग्री बिक्री भएका छन् ।
योसँगै लिले अलिबाबाको अनलाइन बजारमा हालसम्मकै धेरै सामान बेच्न सफल भएको समाचारमा उल्लेख छ । चीनमा शुरु गरिएको लाइभ स्ट्रिमिङ एउटा मिश्रित खाले ई-बजार, इन्फोमर्शियल प्ल्याटफर्म तथा ग्रुप चाट हो जुन महामारी शुरु भएपछि थप लोकप्रिय भनेको छ । तीन हप्ताभन्दा बढी चल्ने किनमेल महोत्सवको पहिलो दिनमा लिको शोलाई १२ घण्टाभित्र २५ करोडले हेरेका थिए ।
‘सामान्यता एक शोलाई दैनिक २० लाखले हेर्ने गरेको देखेका छौं’, लिले वेइवोमा एक पोष्ट गर्दै भनेका छन्, ‘तर आज हामीलाई २५ करोड पटक हेरिएको छ ।’
केही उपभोक्ताले अर्डर गरिएका सामान रद्द गर्न सक्ने भएकाले ‘प्रि सेल शो’ पछि हुने अन्तिम किनमेल घट्ने सम्भावना देखिन्छ । तर यसले कोभिड-१९ लगायतका व्यवधान जारी रहेका बेला नवीन खाले चिनियाँ ई-कमर्शको बढ्दो लोकप्रियता देखाउँछ ।
त्यस्तै, भिया नामक एक लाइभ स्ट्रिमरले १४ घण्टामा ८ अर्ब युआन बराबरमा सामान बेचेका छन् भने चेरी नामक अर्का स्टार सेल्सम्यानले एक अर्ब २० करोड युआन बराबरका सामान बिक्री गरेका छन् ।
प्रतिक्रिया 4