+
+

रोममा जी-२० शिखर सम्मेलन सुरु हुँदै, महामारीविरुद्ध सबै एकजुट हुन गुटेरेसको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १४:४४

१३ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जी-२० का नेताहरूलाई जलवायु परिवर्तन र विश्वव्यापी कोभिड महामारीबारे मिलेर समाधान निकाल्न अपिल गरेका छन् ।

विश्वका २० औद्योगिक राष्ट्रको समूह जी-२० को शिखर सम्मेलनको पूर्वसन्ध्यामा बोल्दै महासचिव गुटेरेसले जलवायु र कोभिड महामारीलाई मिलेर समाधान गर्न अपिल गरेका हुन् । ठूला शक्ति राष्ट्रबीच रहेको अविश्वासको खतरनाक अवस्था हटाउँदै जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने विनाश रोक्नुपर्ने र खोप वितरणमा देखिएको विश्व्यापी ‘अनैतिक अन्तर’ कम गर्नुपर्ने उनको भनाइ थियो ।

जलवायुसम्बन्धि ग्लास्गो सम्मेलन विफल भए गम्भीर जोखिम उत्पन्न हुने पनि गुटेरेसले बताए । ‘यदि ग्लास्गो सम्मेलन परिणामविहीन भयो भने गम्भीर जोखिम उत्पन्न हुने कुराप्रति सबै प्रस्ट हुनुपर्छ’, शुक्रबार रोममा बोल्दै उनले भने ।

त्यस्तै, गुटेरेसले विकासशील राष्ट्रलाई जलवायुसँग जुध्नका लागि हरेक वर्ष एक खर्ब अमेरिकी डलर दिने भनेर गरेको बाचा पालना गर्न समेत जी-२० राष्ट्रलाई अनुरोध गरेका छन् । जी-२० मुलुकको शिखर सम्मेलनको सबैभन्दा मुख्य उद्देश्य अन्याय, असमानता र भू-राजनीतिक मतभेदबाट उत्पन्न अविश्वास हटाउँदै पुन: विश्वास निर्माण गर्नु रहेको उनको भनाइ थियो ।

गुटेरेसले कोभिड-१९ विरुद्धको विश्वव्यापी खोप अभियानलाई भू-राजनीतिक विभाजनले अवरोध गरेको पनि बताए । उनले खोप थुपार्ने र खोप राष्ट्रवादको समेत आलोचना गरेका छन् । धनी मुलुकका मानिसले कोभिड खोपको तेस्रो डोज लिन सुरु गरेको तर ५ प्रतिशत अफ्रिकीले मात्रै हालसम्म खोप लगाएको अवस्थाप्रति संकेत गर्दै उनले धनी मुलुकको आलोचना गरेका हुन् ।

इटलीको राजधानी रोममा आजदेखि विश्वका प्रमुख २० राष्ट्रको समूह जी-२० को दुई दिने शिखर सम्मेलन सुरु हुँदैछ । सो शिखर सम्मेलनमा कोभिड महामारी, आर्थिक पुनर्उत्थान, बढ्दो इन्धन मूल्य लगायतका विषयमा नेताहरूले छलफल गर्ने बताइएको छ ।

त्यस्तै, बेलायतको ग्लास्गोमा भोलिदेखि जलवायुसम्बन्धी कोप-२६ सम्मेलन सुरु हुँदैछ । कोप-२६ सम्मेलनका क्रममा हरित गृह ग्यास उत्सर्जन कटौती गर्नेबारे छलफल हुने छ । जैविक ऊर्जाको साटो अन्य वैकल्पिक उपाय अपनाउने, बाढी-पहिरो र आगजनी जस्ता समस्यासँग कसरी जुध्ने भनेर समेत छफल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?