+
+
स्मरण :

शब्दचित्रमा प्रा.डा. वेणीमाधव ढकाल

‘स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते’ भन्ने उक्तिलाई सार्थक तुल्याउने कवि, अनुसन्धाता एवं प्राध्यापक वेणीमाधव ढकालले आफ्ना रचना र अनुसन्धान मार्फत नेपाललाई पूर्वीय दर्शनको प्राज्ञिक जगतमा परिचित बनाउनुभएको थियो ।

विष्णु पन्थी विष्णु पन्थी
२०८१ वैशाख ३१ गते १०:०६
प्राध्यापक डा. वेणीमाधव ढकाल

संसार नाट्यशालामा खेला जन्म र मृत्युको
देखाएर लुकी बस्ने सूत्राधार कहाँ छ त्यो ?

माथिको पङ्क्तिका रचनाकार कवि वेणीमाधव ढकाल १८ वैशाख २०८१ मा ७७ वर्षको उमेरमा दिवंगत हुनुभयो ।

योगी नरहरिनाथ तथा डाक्टर स्वामी प्रपन्नाचार्यज्यूको सान्निध्यमा रहेर उहाँले सरयू संस्कृत विश्वविद्यालय उत्तराखण्डमा साहित्य विभागको अध्यक्ष बनी प्राध्यापन गर्नुभएको र पछि भारतको शंकराचार्य नगरको स्नातकोत्तर संस्कृत विश्वविद्यालयमा विशिष्ट विद्वान् रामचन्द्र मालवीय तथा आचार्य पूर्णचन्द्र ढुंगेलसँगै प्राध्यापन गरेको इतिहास छ ।

कवि, प्राध्यापक एवं विशिष्ट अनुसन्धाता प्रा.डा.वेणीमाधव ढकालको जन्म ११ पुस, २००४ मा पश्चिम नेपालको पाल्पामा भएको थियो । ११ वर्षको कलिलो उमेरमा उहाँ बनारस अनि हरिद्वार र ऋषिकेशमा समेत गई अध्ययन गर्नुभएको थियो । उहाँ विद्यार्थी जीवनमा उत्कृष्ट नै भई भारतका विभिन्न विश्वविद्यालयमा औपचारिक रूपमा संस्कृत साहित्य विषय प्राध्यापन गर्नुभएको थियो ।

२०३२ सालपछि उहाँ आफ्नै जन्मभूमि नेपालमा आई प्राध्यापक सेवामा संलग्न हुनुभयो । गृह मन्त्रालयको अनुसन्धान अधिकृतका रूपमा करिब एक वर्ष काम गरेपछि उहाँ १ भदौ, २०३४ देखि त्रिभुवन विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा संस्कृत–साहित्य विषयमा अध्यापन थालेर ३५ वर्षभन्दा बढी योगदान गर्नुभएको देखिन्छ ।

उहाँले नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा लगातार दुई कार्यकाल पूरा गर्नुभयो । सोही विश्वविद्यालयको अनुसन्धान केन्द्रको निर्देशक र विश्वविद्यालयबाट प्रकाशित हुने अनुसन्धानात्मक पत्रिका ‘ऋतम्भरा’ को लगातार दश वर्षभन्दा बढी सम्पादकको रूपमा सक्रिय हुनुभयो । विश्वविद्यालयबाट प्रकाशित दर्जनौं पुस्तकको सम्पादन समेत गर्नुभयो ।

साहित्यिक ग्रन्थका रचनाकार एवं कवि साहित्यकारका रूपमा उहाँको योगदान छ । संस्कृत र नेपाली दुवै भाषामा उहाँका दर्जनौं कृति प्रकाशित छन् । उहाँका काव्यहरूमाथि विश्वविद्यालय तहमा अनुसन्धान भई शोध प्रबन्धहरू पनि लेखिएका छन् । उहाँ स्थापित साहित्यिक गुणसम्पन्न काव्य रचनाकार हुनुहुन्छ ।

विष्णु पन्थी

वेणीमाधव ढकालका पृथूदयमहाकाव्य, मार्गभ्रष्टः, चेतरामचरितम् संस्कृत भाषामा रचना गरिएका काव्यहरू हुन् । शैलेश, जय ज्योतिष्मती मुमा, अर्जुन, दिव्यलक्ष्मी, सौता, त्रिशूल, कुलो, जानकी, उपराग, टुहुरो, ऐन, रश्मिप्रभास जस्ता काव्यहरू नेपाली भाषामा रचना गरिएका छन् ।

उहाँका अन्य केही प्रकाशित र केही अप्रकाशित कृति समेत छन् । पाँचवटा महाकाव्य र ११ वटा खण्डकाव्यहरूका अतिरिक्त लघुतम संस्कृत पद्यहरू र फुटकर कविताहरू नेपाली, हिन्दी एवं संस्कृत तीनवटै भाषामा रचिएका छन् । यसबाहेक विभिन्न पत्रपत्रिकाहरूमा समेत प्रकाशित भएका देख्न पाइन्छन् ।

कवि ढकाल उपन्यास लेखनमा सशक्त हस्ताक्षर हुनुहुन्छ । उहाँका उपन्यास भने हालसम्म अप्रकाशित नै छन् । उहाँले नेपालीमा दक्षिणा र पद्मिनी तथा संस्कृतमा मनस्विनी उपन्यासको रचना गर्नुभएको छ । साहित्यकार ढकालको साहित्यिक विशिष्ट पाटो भनेको नाटक विधा हो ।

उहाँका मौलिक नाटक रचनाहरूमध्ये अतृप्ति, अन्तरात्माको आवाज, माटाको पुकार नामक कृतिहरू अप्रकाशित छन् । उहाँले संस्कृत नाटक लेखन तथा निर्देशन आदि कार्य गरी ख्याति कमाउनुभएको थियो ।

‘काव्येषु नाटकं रम्यम्’ भन्ने उक्ति दोहोर्‍याइरहने कवि तथा नाटककार वेणीमाधव ढकालको नाट्य–साहित्यमा अतिरिक्त दख्खल थियो । हिन्दी भाषामा लेखिएका त्रिशक्ति माताजी की जीवनी, योगदान और विलक्षण लीला र स्वर्गद्वारी के महाप्रभु यी दुई जीवनी नेपाल र भारतमा समेत चर्चित छन् ।

ढकालको विश्लेषणात्मक दृष्टिशक्ति समेत उच्चस्तरीय थियो । उहाँ काव्यहरूको समीक्षा र सम्पादनको क्षेत्रमा निर्वाध रूपमा गतिशील देखिनुभयो । लिच्छविकालिकानामभिलेखानां साहित्यिकमनुशीलनम् शीर्षकमा अनुसन्धान गरी संस्कृत भाषामा शोध प्रबन्ध तयार गरी विद्यावारिधि उपाधि प्राप्त गर्नुभएका ढकालले त्यसबेलाका अभिलेखहरूको सफल विश्लेषण गर्नुभएको छ ।

उहाँको योगदानको भारतीय विशिष्ट विद्वान्हरूले समेत प्रशंसा गरेका छन् । यसलाई अत्युत्कृष्ट शोध प्रबन्धको रूपमा चर्चा गरेका छन् । त्यसरी नै ढकालले संस्कृतका थुप्रै काव्यहरूको टीका, टिप्पणी र व्याख्या लेख्नुभएको छ ।

हरिकेलिमहाकाव्यको सम्पादन, कार्तवीेर्योदयमहाकाव्यको समीक्षण तथा केही सर्गहरूको व्याख्या र टिप्पणी समेत गर्नुभएको छ । संस्कृत–नेपाली काव्य परम्पराका यी दुई महाकाव्यको सम्पादन गरी संस्कृत काव्याकाशमा महनीय योगदान पुर्‍याउनुभएको छ ।

संस्कृतका महाकवि सुकृतिदत्त पन्तद्वारा रचना गरिएको कार्तवीेर्योदय महाकाव्यको प्रारम्भिक सम्पादन डा.स्वामी प्रपन्नाचार्यले गर्नुभएको थियो भने त्यसमा थप योगदान प्रा.डा. ढकालले पुर्‍याउनुभएको छ ।

अर्का नेपाली कवि वंशमणि झाद्वारा संस्कृत भाषामा रचना गरिएको हरिकेलिमहाकाव्यको विशद् विश्लेषण र टिप्पणी सहित सम्पादन गरी संस्कृत साहित्य क्षेत्रमा योगदान पुर्‍याउनुभएका अनुसन्धाता प्राध्यापक ढकालले आफ्नो व्यक्तित्व यसमा उजागर गर्नुभएको छ ।

प्रा.डा.ढकालले सनातन धर्म र संस्कृतिले वैदिक वाङ्मयको व्याख्याका रूपमा रहेका प्रचलित महापुराणहरू र विशिष्ट धर्मग्रन्थहरूको खोजमूलक विस्तृत भूमिका सहित अनुवाद गरी नेपाली समाजलाई गुन लगाउनुभएको छ ।

लामो अनुसन्धानात्मक भूमिका सहित गणेश पुराणको नेपाली अनुवादले सनातन नेपाली समाजलाई विनायक उपासनाका लागि योगदान दिएको छ । नेपालका विभिन्न भागमा भएका गणेश मन्दिरहरू, तिनको ऐतिहासिकता, पूजा परम्परा आदि विषयको गहिरो खोज अनुसन्धान गर्नुभएको छ ।

ढकालले नेपाली समाजको अर्को त्यस्तै महापुराण देवीभागवतको समेत अनुसन्धानमूलक विपुल भूमिका सहित नेपाली अनुवाद नेपाली समाजका निम्ति पस्कनुभएको छ । “कलौ कालिविनायकौ” भन्ने युगसापेक्षित उपासना कर्ममा निरत धर्मपरायण सनातनीहरूका निमित्त योभन्दा अर्को ठूलो गुन केही हुनसक्दैन ।

उहाँले धर्मशास्त्रीय निर्णयका निमित्त प्रचलित पुस्तक निर्णय सिन्धुको समेत लामो भूमिका सहित अनुवाद गर्नुभएको छ । नेपालको पौराणिक महिमा प्रकट हुने हिमवत्खण्ड, शिवमहापुराण, आह्निक सूत्रावली जस्ता भीमकाय ग्रन्थहरूको अनुसन्धानात्मक भूमिका खण्डसहित नेपाली अनुवाद गर्नुभएको छ ।

खप्तड स्वामीद्वारा रचित धर्म–विज्ञानका चारै भागका सम्पादक समूह मार्फत नेपाली भाषानुवाद गर्नुभएको छ । विवाह पद्धतिको नेपाली भाषानुवादसँगै चन्द्रसम्भव महाकाव्यको सम्पादन, हरिहर प्रार्थना पुष्पाञ्जलीको सम्पादन, स्तुति–कुसुमाञ्जलीको सम्पादन लगायत अन्य थुप्रै ग्रन्थको सम्पादन गर्नुभएको छ ।

विभिन्न संघ–संस्थाद्वारा प्रकाशित विभिन्न पत्रपत्रिकाको सम्पादक भएर उहाँले छात्र जीवनदेखि नै काम गर्नुभएकाले उहाँ काव्य सम्पादन कलामा समेत निपुण भएको पाइन्छ । विभिन्न ग्रन्थका पाण्डुलिपि सम्पादन समेत गरी नेपालको प्राज्ञिक, पुरातात्त्विक क्षेत्रमा ठूलो योगदान ढकालले पुर्‍याउनुभएको छ ।

विद्यावारिधिका पचासौं शोधकर्ताको निर्देशक र विशेषज्ञ भई अनुसन्धानात्मक निर्देशन दिनुभएका ढकालले अनौपचारिक रूपमा सयौंलाई प्राज्ञिक र अनुसन्धानको दिशानिर्देश गर्नुभएको छ ।

विद्यालय तहदेखि विश्वविद्यालय स्तरसम्मका प्रायः सबै कक्षाका संस्कृत भाषा एवं साहित्यका पाठ्यक्रम निर्माणदेखि पाठ्यपुस्तक लेखनसम्मका काम कुशलतापूर्वक सम्पन्न गर्नुभएका ढकालको लेखन कुशलतासँगै जाँगर र सक्रियता आश्चर्यजनक थियो ।

एउटा सफल प्राध्यापकमा हुनुपर्ने गुण भनेको व्याख्यात्मकता अथवा व्याख्या–क्षमता पनि हो । प्राध्यापक ढकालमा विषयवस्तुको व्याख्या गर्ने एक विशिष्ट र अद्वितीय क्षमता थियो ।

संस्कृत साहित्यका लक्षणग्रन्थ र लक्ष्य ग्रन्थहरूको व्याख्या र टीका लेखनमा प्राध्यापक ढकालको चामत्कारिक क्षमता देखिन्छ । संस्कृतको सामान्य ज्ञान समेत नभएका मानिसहरू समेत उहाँका टीका र व्याख्या पढेर विषयबोध गर्न सक्षम हुन्छन् ।

समीक्षा र व्याख्या नितान्त फरक विषय हुन् । विषयवस्तुको व्याख्याले मात्रै कृतिको गहिराइसम्म पुग्न सघाउ पुर्‍याउँछ र त्यसको निष्कर्ष निकाल्न पाठक वा अनुसन्धातालाई सहयोग पुर्‍याउँछ ।

एक सफल प्राध्यापकले पाठ्य विषयलाई बुझ्ने गरी व्याख्या गर्न सक्नुपर्दछ । संस्कृत तथा नेपाली व्याख्याका निम्ति विभिन्न नाममा टीका लेखेर विषय–वस्तुलाई स्पष्ट पार्न प्रा.डा. ढकालले भगीरथ प्रयत्न गर्नुभएको देखिन्छ । विविध काव्य र काव्यशास्त्रका चूडामणि–टीका, मीठा–टीका, दिव्यलक्ष्मी–टीका, त्रिशक्ति–टीका आदि अनेक टीका यसका ज्वलन्त प्रमाण हुन् ।

अन्त्यमा

‘स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते’ भन्ने उक्तिलाई सार्थक तुल्याउने कवि, अनुसन्धाता एवं प्राध्यापक वेणीमाधव ढकालले आफ्ना रचना र अनुसन्धान मार्फत नेपाललाई पूर्वीय दर्शनको प्राज्ञिक जगतमा परिचित बनाउनुभएको थियो । नेपाली समाजले उहाँको देहावसानबाट प्राज्ञिक, साहित्यिक एवं बौद्धिक जगतमा ठूलो क्षति व्यहोरेको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?