+
+

विश्व जलवायु सम्मेलनलाई डाइनोसरको सम्बोधन !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १७:२७

१६ कात्तिक, काठमाडौं । करिब ६ करोड ६० लाख वर्षअघि नै पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डाइनोसर स्कटल्याण्डमा जारी विश्व जलवायु सम्मेलन (कोप–२६) मा एकाएक देखियो ।

स्कटल्याण्डको ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलनको क्रममा डाइनोसरले सम्बोधन गरेको झण्डै २ मिनेट ३२ सेकेन्डको भिडियो अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पति लोप हुने खतरा बढ्दै छ भन्ने सन्देश प्रवाह गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले यो चेतनामूलक भिडियो कोप–२६ मा प्रस्तुत गरेको हो ।

अंग्रेजी भाषामा तयार पारिएको यो भिडियो सन्देशलाई नेपालीमा पनि अनुवाद गरिएको छ । नेपाली सिनेजगतका वरिष्ठ कलाकार नीर शाहाले भिडियो सन्देशमा आवाज भरेका छन् ।

विश्व जलवायु सम्मेलन हलको एक ढोकाबाट भीमकाय जन्तु डाइनोसरको प्रवेश हुन्छ । सम्मेलन हलभित्र डाइनोसरको प्रवेशसँगै सहभागीहरुमा एक खालको त्रास उत्पन्न हुन्छ र डरले चिच्याउन थाल्छन् ।

सहभागीहरुको कोलाहल र चित्कारका बीच डाइनोसर सरासर मञ्चतर्फ अगाडि बढ्छ । पोडियम नजिकै एक व्यक्ति उभिएर बसेका हुन्छन् । उनी पनि डरले थरथर कामिरहेका हुन्छन् । डाइनोसरले उनलाई सोध्छन्–

डाइनोसर : ठीक छ ?

व्यक्ति : टाउको हल्लाएर ‘ठीक छ’ भन्ने संकेत गर्छन् ।

डाइनोसर : केही गर्नुपर्छ ?

व्यक्ति : टाउको हल्लाएर ‘अहँ’ ।

ल, त भन्दै डाइनोसर पोडियमतर्फ अगाडि बढ्छ र सम्बोधन शुरु गर्छ ।

सुन्नुस् मानिसहरु । जीवजन्तुको लोपबारे मलाई थाहा छ । मलाई बताउन दिनुस् । स्वाभाविक रुपमा तपाईंहरुलाई पनि थाहा छ कि लोप हुनु राम्रो कुरा होइन । तर, आफैंलाई जानीजानी समाप्त पार्ने ? सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरा हो यो ।

हामीलाई त एउटा भन्ने बाटो छ । हाम्रो विनाशको कारण उल्का पिण्ड थियो । तर तपाईंहरुको बहानाचाहिँ के ? तपाईंहरु विनाशकारी जलवायु विपत्ति तिर जाँदै हुनुहुन्छ । यस्तो अवस्थामा पनि सरकारहरु खर्बौं रुपैयाँ जीवाशेष इन्धनमाथि अनुदान दिन खर्च गरिराखेका छन् ।

त्यो पैसाले अरु के–के गर्न सकिन्छ भन्ने सोच्नुभएको छ ? विश्वमा अहिले पनि चरम गरिबी छ । आफ्नो विनाशको लागि खर्च गर्नुभन्दा गरिबलाई सहयोग गर्नु ठूलो पूण्यकर्म जस्तो लाग्दैन तपाईंलाई ? मलाई एकिछन यथार्थ बोल्न दिनुस् । तपाईंलाई एउटा अद्धितीय अवसर प्राप्त भएको छ । महामारीको घाउ निको पार्न र अर्थनीति पुनर्निर्माण गर्न मेरो एउटा सुझाव राम्ररी सुन्नुहोस् । लोप हुने बाटो कदापी नरोज्नुस् । बहाना बनाउन छोड्नुस् । आफ्नो जातिलाई लोप हुनबाट जोगाउनुस् । धन्यवाद ।

सभाहलमा तालीले गुञ्जिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?