+
+

झापा आन्दोलनका योद्धाको घर बनाइदिँदै पत्रकार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते २०:१४
मनकुमार तामाङ र उनकी पत्नी फुलमाया । तस्वीरः मनिषा चम्लागाईं

१८ कात्तिक, झापा । झापाका पुराना कम्युनिष्ट नेता मनकुमार तामाङको घर जनसहयोगबाट निर्माण गरिने भएको छ ।

अर्जुनधारा नगरपालिका–१, खुदुनाबारी निवासी ७२ वर्षीय तामाङ काठको जीर्ण घरमा बिरामी पत्नी फुलमायाको हेरचाह गर्दै बस्दै आएका थिए । झापा आन्दोलनका वेला १७ वर्ष जेल जीवन विताएका उनको घर पत्रकारहरुको संयोजनमा बन्न लागेको हो ।

बिहीबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीको अवसरमा उनको घरको शिलान्याश गरिएको छ । आधारभूत सुविधाजनक पक्की घर तीन महिनाभित्र निर्माण गरिने भवन निर्माण समितिका संयोजक तथा पत्रकार कुमार भट्टराईले बताए ।

झापा आन्दोलनका वेला उनी केही समय हालका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अंगरक्षकसमेत भएर काम गरेका थिए

उनले अब बन्ने घर एक तलाको हुने र त्यसमा दुईवटा सुत्ने कोठा, एउटा बैठक कोठा र एउटा भान्सा कोठा हुने गरी घरको नक्शा तयार पारिएकोे जानकारी दिए । कम्युनिस्ट योद्धा तामाङ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सहयोद्धा र जेलका सहयात्री हुन् । कुनै वेला उनी ओलीका अंगरक्षक समेत थिए ।

लामो जेलनेल भोगेका राजनीतिक योद्धाका रुपमा राज्यका तर्फबाट पाएको ७५ हजार रुपैयाँमा झापा र इलामको सीमास्थित जङ्गल छेउमा दुई दशक अघि पाँच कठ्ठा ऐलानी जग्गा खरिद गरेर उनको परिवार काठको घरमा जसोतसो बस्दै आएका थिए ।

मुलुकको राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका व्यक्ति भएकाले तामाङप्रति उच्च सम्मान दर्शाउन घर निर्माण अभियान सञ्चालन गरिएको निर्माण समितिका सह–संयोजक एवं पत्रकार दिपीन राईले बताए ।

जनसहयोग सङ्कलन गरेर १२ लाख रुपैयाँको लागतमा घर निर्माण अभियान सुरु गरिएको समितिका कोषाध्यक्ष पत्रकार मनिषा चम्लागाईँले बताइन् । समितिको सचिवमा पत्रकार विनोद सापकोटा रहेका छन् ।

अहिले तामाङको परिवार बस्दै आएको घर बर्खामा पानी चुहिने गरेको छ । पिउने पानीका लागि पुरानो ट्यूववेल प्रयोग गर्दै आएका छन् ।

तामाङले प्रयोग गर्ने शौचालयको छानो र भित्ता भत्किएर ह्वाङ्गै छ । झापा विद्रोहको जगमा उभिएका र उक्त आन्दोलनलाई आदर्श मान्ने राजनीतिक दल सत्तामा पटकपटक पुग्दा र सहयोद्धा नै मुलुकको कार्यकारी प्रमुखको पदमा पुग्दासमेत तामाङ चाहिँ जीर्ण घरमा कष्टकर जीन्दगी विताइरहेका थिए ।

जीर्ण बनिसकेको तामाङ दम्पत्तीको घर ।

घर शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरि राना, नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देन, नेकपा (माओवादी) केन्द्रका नगर इञ्चार्ज नाराद तामाङ लगायतले मन्तव्य व्यक्त गर्दै मुलुकमा गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि बलिदान गर्न तयार भएर सङ्घर्षमा होमिएका जिउँदा शहीद तामाङको घर निर्माणमा पूर्ण सहयोग रहने बताए ।

घर निर्माण सुरु भएकोमा खुशी व्यक्त गर्दै इञ्चार्ज तामाङले पत्नी फुलमाया तामाङ मुटुको बिरामी भएको र उपचारका लागि अस्पतालमा पुर्‍याउन नसकेको बताए ।

उनी हाल बाँसको चोया काटेर डोको, नाङ्लो, भकारीलगायतका सामान बुनेर बजारमा बेच्दै परिवारको जीविका चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?