+
+
बन्दको मारमा विद्यालय :

प्याब्सन अध्यक्ष भन्छन्- सुरक्षाको प्रत्याभूति नभएकाले विद्यालय खोलेनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते ११:४४

३० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको विद्यालय प्रभावित भएको छ ।

बन्दका कारण काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्र पोखरा, धरान, विराटनगर लगायतका अधिकांश निजी तथा सामुदायिक विद्यालयमा आज पठनपाठन हुन सकेको छैन । निजी विद्यालय सन्चालकहरुले जोखिम उठाउन नसक्ने भएकाले अधिकांश विद्यालय बन्द गरिएको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) का अध्यक्ष टिका पुरी बन्दको आह्वान भएपछि शान्ती सुरक्षाको प्रत्याभूति नभएकाले अधिकांश बन्द भएको बताए । उनले भने ‘विद्यार्थीको ज्यानको, विद्यालयको, सवारी साधनको सुरक्षाको कुरा आउँछ । शान्ती सुरक्षाको प्रत्याभूति छैन । हाम्रा विद्यालयहरु डराए । एक दिनको कुरा हो त्यसैले जबरजस्ती नगरौं भनेर खोलिएन ।’ बन्द हड्तालको पक्षमा नभएपनि बाध्यात्मक परिस्थितिले गर्दा विद्यालय खोल्न नसकेको उनको भनाइ छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा निर्वाध रुपमा विद्यालय सञ्चालन गर्नको लागि मन्त्रालयले पहल नगरेपछि विद्यालय बन्द भएको बताउँछन् । उनी भन्छन् ‘तरकारी, पानी, एम्बुलेन्स, दमकल जस्ता गाडीलाई खुला गरेको भनिरहँदा विद्यालयको गाडीलाई पनि खोल्न पर्थ्यो । त्यो किसिमको पहल शिक्षा मन्त्रालयले गर्नु पर्थ्यो, गरेन । हामीले जोखिम मोल्ने हिम्मत गर्न सकेनौं ।’

लामो समयपछि भौतिक रुपमा विद्यालय सञ्चालन हुन थालेको बेला भएको बन्दले विद्यार्थी प्रभावित भएका छन् । सामुदायीक विद्यालयहरु खुले पनि विद्यार्थी नआएपछि पठनपाठन हुन नसकेको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यामिक विद्यालयका हेरम्बराज कँडेलले बताए । उनले भने, ‘हामी विद्यालय आयौं । तर विद्यार्थी नै आएनन् । १०, ११ जना विद्यार्थी मात्रै आएका छन् । त्यसैले हामीले आज पठनपाठन गर्न सकेनौं ।’

बिहानैदेखि यातायात, बजार, व्यवसाय बन्द रहेका कारणले पनि विद्यार्थीहरुमा विद्यालय नलाग्ने भ्रम परेको हुन सक्ने कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?