+
+
Shares

बन्द उद्योग खोल्ने बालेन नीतिमा कांग्रेसले उठायो प्रश्न

बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीप्रति प्रश्न उठाएका छन् ।
  • सांसद कार्कीले सरकारले उद्योग आफैं चलाउने नभई निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
  • उनले विकासको प्राथमिकता परिवर्तन गर्दै पूर्वाधार निर्माणसँगै स्वदेशी उत्पादन, रोजगारी र उद्योग प्रवर्द्धनमा ध्यान दिन सरकारसँग माग गरेका छन् ।

२ भदौ, काठमाडौं । बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले प्रश्न उठाएका हुन्।

‘सबैभन्दा महत्वपूर्ण कुरा सरकार आफैं उद्योग चलाउने होइन । उद्योग चलाउन निजी क्षेत्रलाई सुरक्षित वातावरणका साथ नीति बनाएर अगाडि बढ्नु पर्छ’ सांसद कार्कीको आग्रह छ, ‘सरकारको काम व्यापारी बन्ने होइन । व्यापार गर्ने वातावरण बनाउने हो । सरकारले कारखाना मेसिन चलाउने होइन । नीति र कानुनको मेसिनरी चलाएर निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण दिने हो।’

उनले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए। उपलब्ध अध्ययन अनुसार कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशत भन्दा बढी र रोजगारीमा पनि निजी क्षेत्रको ठूलो हिस्सा रहेको उल्लेख गरे।

‘अब निजी क्षेत्रलाई शंकाको दृष्टिले होइन, राष्ट्रिय आर्थिक साझेदारीको रुपमा हेर्नुपर्छ’ उनको आग्रह छ। निजी क्षेत्रलाई लगानी गर्न दिनुपर्ने, उद्योग खोल्ने प्रतिस्पर्धा गर्ने र नाफा कमाउन दिनुपर्ने र यसका निम्ति सरकारले स्पष्ट नीति नियम बनाएर वातावरण बनाइदिनुपर्ने उनले बताए । बन्द तथा रुग्ण उद्योगबारे प्रष्ट हुन सरकारलाई उनको आग्रह छ।

‘बन्द उद्योग बारे सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्छ। वर्षौँ सम्म घाटामा उद्योग चलाएर जनताको कर खर्च गर्नु समाधान होइन’ उनले भनेका छन्, ‘सम्भावना भएका उद्योगहरुको व्यावसायिक मूल्यांकन गरौं । निजी क्षेत्रलाई पारदर्शी प्रतिस्पर्धाबाट सहभागी गराऔं र सक्षम व्यवस्थापनलाई जिम्मेवारी दिऔं।’

अर्थात्, उनले पटक पटक सरकारलाइ उद्योग चलाउनेतिर नसोच्न आग्रह गरे, ‘सरकारले उद्योग चलाउने होइन, उद्योग चल्ने वातावरण बनाउने हो। घाटा सरकारले बेहोर्ने बजेट थप्ने र कर जनताले तिरिरहने चक्र अब अन्त्य गर्नुपर्छ।’

साथै उनले विकासको प्राथमिकता बदल्नुपर्ने पनि बताए । ‘हामीले सडक बनायौं, पुल बनायौं, सुरुङ बनायौं, विमानस्थल बनायौं यी सबै आवश्यक छन् तर प्रश्न के हो भने यी पूर्वाधार हुँदै जाने बाटोमा नेपाली उत्पादन कहाँ छ ? रोजगारी कहाँ छ ? उद्योग कहाँ छ ?’ उनले प्रश्न गरे ।

विकासलाई सिमेन्ट र डन्डीमा नापिएको भन्दै उनले प्रश्न गरे, ‘देशको विकास भयो कि विकासको बिल मात्र बढ्यो ?’ अब विकासको प्राथमिकता बदल्नुर्ने आग्रह गर्दै उनले सरकारलाई यसअनुसारको नीति लिन आग्रह गरे ।

उनले भनेका छन्, ‘सडकले उत्पादन बजार पुर्याओस्, सुरुङले व्यापारको समय र लागत घटाओस् । विमानस्थलले त्यसबाट पर्यटक लगानी र व्यापार भित्रियोस् ।’

आफ्नो गृह जिल्ला सोलुखुम्बु सगरमाथाको जिल्ला मात्र नभएर कृषि जलविद्युत र पर्यटनको अथाह सम्भावना भएको जिल्ला भएको बताए । किसानले आलु किवी स्याउ चौँरीको दुध र जडीबुटी उत्पादन गर्छन् तर किसानले उत्पादन गरेको कच्चा पदार्थ मात्रै बेच्ने वातावरण रहेको बताए ।

किसानको उत्पादनमा अरुले बजार खोज्ने र नाफा अरुले कमाउने यस्ते अवस्था बदलिनुपर्ने उनको आग्रह छ ।

‘सरकार आफैं आलुको चिप्स कारखाना खोल्न जाने होइन, सरकारले नीति बनाउने पूर्वाधार दिने सडक विद्युत पुर्याउने हो’ उनले भनेका छन्, ‘निजी क्षेत्रको लगानी सुरक्षा गर्ने हो । उद्योग निजी क्षेत्र ले खोल्ने वातावरण बनाउनुपर्छ ।’

सोलुखुम्बुको किवी सोलुखुम्बुमै प्रशोधन भएर जुस लगायतका उत्पादन बनाउन सकिने, स्याउबाट जुस र अन्य वस्तु, चौरीको दुधबाट गुणस्तरीय चिज र दुध दुग्दजन्य वस्तु उत्पादन गर्न सकिने बताए ।

‘जडीबुटी उत्पादन होस्, जडीबुटी कच्चै न नबेचौं प्रशोधन गरेर मूल्य बढाऔं’ उनले भने, ‘अब किसानले कच्चा पदार्थ बेच्ने होइन आफ्नै उत्पादनको ब्रान्ड बेच्ने सोलुखुम्बु बन्ने वातावरण बनाउन सरकारसँग म जोडदार माग गर्दछु ।’

साथै किसानले पसिना बगाउने नाफा अरुले खाने अवस्थाको अन्त्य हुनुपर्ने आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?