News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग मन्त्रालयले पाँचतारे होटलमा ग्यासको कालोबजारी भएको आरोप लगाउँदै नाम सार्वजनिक गरेपछि होटल एसोसिएसन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- होटलले पाहुनाको संख्या र मागअनुसार आवश्यक ग्यास मौज्दात राख्नु व्यावसायिक आवश्यकता भएको भन्दै हानले यसलाई कालोबजारी भन्न नमिल्ने स्पष्ट पारेको छ ।
- एकतर्फी अनुगमनले पर्यटनको छवि धुमिल हुने भन्दै हानले अनुगमन गर्दा सम्बन्धित निकायसँग समन्वय गरी तथ्यपरक र मर्यादित ढंगले अघि बढ्न आग्रह गरेको छ ।
२९ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाँचतारे होटलको नामै तोकेर ग्यासको कालोबजारी गरेको भन्दै सूचना प्रवाह गरेसँगै व्यवसायीले कडा आलोचना गरेका छन् ।
होटल एसोसिएसन नेपाल (हान) ले काठमाडौंमा रहेको संघको सदस्य पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा खाना पकाउने ग्यास सञ्चितिका विषयमा सार्वजनिक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
होटलमा रहेको खाना पकाउने ग्यास होटलमा रहेको ग्राहक संख्या, बुकिङ संख्या र माग अनुरूप तयार गर्ने खानाको किसिम र परिमाण अनुसार पकाउन आवश्यक परिमाणमा उपलब्ध रहेको हानले स्पष्ट पारेको छ । ग्यास सञ्चितिमा अन्यथा नरहेको समेत हानको भनाइ छ ।
होटलहरूमा ठूलो संख्यामा कर्मचारी तथा कामदार कार्यरत रहने, दैनिक स्वदेशी तथा विदेशी पाहुनालाई बिहानको खाना, दिवा भोजन तथा रात्रिभोज लगायत विभिन्न प्रकारका खाद्य सेवा उपलब्ध गराउनुपर्ने तथा होटल परिसरमा नियमित रूपमा सभा, सम्मेलन, गोष्ठी, उत्सव, भोज लगायत ठूला कार्यक्रम आयोजना हुन्छन् ।
अन्य सामान्य व्यवसायको तुलनामा खाना पकाउने प्रयोजनका लागि ग्यास खपत स्वाभाविक रूपमा बढी हुने हुँदा होटलको नियमित सञ्चालन, पाहुना सेवा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक परिमाणमा ग्यास मौज्दात राखिनुलाई अस्वाभाविक वा कालोबजारीको आशयमा बुझ्न उचित नहुने संघको ठहर छ ।
राज्यको नीति नियमको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा ग्यास लगायत आधारभूत अत्यावश्यक पदार्थ नियमित आपूर्तिको प्रत्याभूति नभई अन्तर्राष्ट्रिय पर्यटकलाई स्तरीय सेवा दिन नसकिने यथार्थ हुँदाहुँदै अनुगमनका नाममा सरकारी एकतर्फी अव्यावहारिक निर्देशनले सेवा प्रवाहमा कठिनाइ आउने हानले स्पष्ट पारेको छ ।
देशकै प्रतिष्ठित होटलको नामै किटेर सञ्चारमाध्यममा समाचार आउँदा राष्ट्रिय पर्यटन छवि धुमिल हुने खतरा औँल्याउँदै हानले सम्बद्ध सरकारी पक्षलाई अनुगमनका नाममा त्रास र अनिश्चय नबढाउन अनुरोध गरेको छ ।
पर्यटन क्षेत्रको निर्वाध सञ्चालन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको परिप्रेक्ष्यमा अन्य सरकारी निकायले नियमसंगत गर्ने अनुगमनमा समेत पर्यटन मन्त्रालयको जानकारी र समन्वय अनिवार्य हुनुपर्नेमा जोड दिइएको छ ।
हानले होटल तथा आतिथ्य उद्योगमा गरिने सरकारी अनुगमनमा समेत आफ्नो विशेषज्ञ सेवा निर्वाध उपलब्ध गराउने जनाएको छ ।
प्रचलित ऐन, कानुन तथा सरकारी मापदण्ड पूर्णपालना गर्दै सञ्चालित होटल उद्योगको संवेदनशीलता, यसको अत्यावश्यक सेवाको प्रकृति तथा दैनिक सञ्चालनका व्यावहारिक पक्षसमेत ध्यानमा राखी अनुगमन तथा नियमनका कार्य समन्वयात्मक, मर्यादित र तथ्यपरक ढंगले अघि बढाइनु आवश्यक रहेको हानको भनाइ छ ।
अनुगमन क्रममा देखिएका विषयलाई एकतर्फी सञ्चारमाध्यममा प्रस्तुत गर्दा समग्र होटल उद्योग तथा व्यवसायीको प्रतिष्ठामा मात्र नभई अन्तर्राष्ट्रिय जगतमा समेत नकारात्मक असर पर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले यसतर्फ सम्बन्धित निकायको विशेष ध्यानाकर्षण गराइएको छ ।
होटल उद्योगसँग सम्बन्धित यस्ता विषयमा अन्तरमन्त्रालय, सम्बन्धित विभाग, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाबीच आवश्यक समन्वय कायम गरी समस्याको दीर्घकालीन तथा व्यावहारिक समाधानका लागि राज्यसँग समन्वय र सहकार्य गर्न हान सदैव तत्पर रहेको पनि जनाएको छ ।
राज्यलाई संकट पर्दा हरसम्भव समस्या समाधान र सहजीकरणका लागि विगतमा झैं हरपल हानको सहयोग रहने पनि जनाइएको छ । होटलहरूमा रहेका एलपी ग्यास नाफा आर्जनको लागि बिक्री वितरण गर्न वा कालोबजारी गतिविधि प्रश्रय दिन नभई नितान्त व्यावसायिक र सेवा प्रयोजनका लागि हो भन्ने विषय सरल ढंगमा मनन गर्नसमेत मन्त्रालयलाई हानले सूचित गरेको छ ।
ठूला अन्तर्राष्ट्रिय ब्रान्डका होटलका भान्सा विशिष्ट उपयोग हुने औद्योगिक किसिमका हुने र यसको सञ्चालनबारे प्राविधिक एवं व्यवस्थापकीय प्रक्रियाको जानकारी लिएर गरिने सरकारी अनुगमनको निर्णय एकतर्फी एवं स्वेच्छाचारी नहुने हुँदा यसतर्फ पनि ध्यान पुर्याउन समेत भनिएको छ ।
प्रतिक्रिया 4