+
+
Shares

चीनद्वारा न्युजिल्यान्डको जासुसी आरोपको खण्डन

न्युजिल्यान्डको जासुसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डको जासुसी निकायले चीनमाथि आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि गरेको आरोप लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति जनाएको छ।
  • चिनियाँ दूतावासले उक्त आरोप चीन–न्युजिल्यान्ड सम्बन्धलाई कमजोर बनाउने प्रयास भएको बताउँदै जासुसी निकाय चीनविरुद्ध निन्दाको लहर चलाउने अभियानमा लागेको आरोप लगाएको छ।
  • न्युजिल्यान्डको सुरक्षा प्रतिवेदनमा चिनियाँ सेनासँग सम्बन्धित वेधशालाले आफ्नो देशमा गोप्य रूपमा अन्तरिक्ष पूर्वाधार स्थापना गर्न खोजेको दाबीसमेत गरिएको छ।

२९ साउन, वेलिङ्टन (रासस/एएफपी) । न्युजिल्यान्डको जासुसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासुसी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कडा आपत्ति जनाएको छ ।

वेलिङ्टनस्थित चिनियाँ दूतावासले शुक्रबार न्युजिल्यान्डको आरोप चीन–न्युजिल्यान्ड सम्बन्धलाई कमजोर बनाउने प्रयास भएको बताएको छ ।

न्युजिल्यान्ड सुरक्षा गुप्तचर सेवाले यसै साता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा चीनले न्युजिल्यान्डविरुद्ध ‘व्यापक रूपमा’ जासुसी गतिविधि सञ्चालन गरिरहेको चेतावनी दिएको थियो।

प्रतिवेदनले चिनियाँ जासुसले व्यावसायिक सञ्जालका माध्यमबाट राज्यका गोप्य सूचनामा पहुँच भएका न्युजिल्यान्डका नागरिकलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको समेत जनाएको थियो।

जवाफमा चिनियाँ दूतावासका प्रवक्ताले जासुसी निकाय चीनविरुद्ध ‘आरोप र निन्दाको लहर’ चलाउने अभियानको हिस्सा बनेको आरोप लगाएका छन्।

उनले चीनविरुद्ध लगाइएका आरोपले सामान्य आदानप्रदान र सहयोगलाई जासुसी वा हस्तक्षेपका रूपमा चित्रण गरेको तथा कतिपय आरोप पूर्ण रूपमा आधारहीन रहेको बताए।

चिनियाँ दूतावासले न्युजिल्यान्डभित्र तथा बाहिर रहेका केही शक्तिले चीन–न्युजिल्यान्ड सम्बन्ध राम्रो दिशामा अघि बढेको देख्न नचाहेकोसमेत आरोप लगाएको छ।

यो प्रतिक्रिया न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्सले चिनियाँ मूलका एक सांसदलाई आफ्नो देश फर्किन आग्रह गरेको विषयमा चीनले औपचारिक विरोध जनाएको केही सातापछि आएको हो।

दूतावासले शुक्रबार न्युजिल्यान्डका केही अज्ञात समूह तथा व्यक्तिले चीनविरोधी शक्तिका लागि ‘चीनविरोधी शक्तिलाई सहयोग गरिरहेको’ आरोपसमेत लगाएको छ।

न्युजिल्यान्डको जासुसी निकायले चीनसँग सम्बन्धित अर्को गतिविधिबारे पनि चेतावनी दिएको छ। उसका अनुसार चिनियाँ सेनासँग सम्बन्धित पर्पल माउन्टेन वेधशालाले न्युजिल्यान्डमा गोप्य रूपमा भू–आधारित अन्तरिक्ष पूर्वाधार स्थापना गर्ने प्रयास गरेको थियो।

जासुसी निकायका अनुसार उक्त परियोजनामा संलग्न न्युजिल्यान्डको एक स्थानीय कम्पनीलाई नाम नखुलाइए पनि त्यसबाट सैन्य महत्त्वका सूचना सङ्कलन गर्न सकिने सम्भावनाबारे जानकारी नभएको हुन सक्ने बताइएको छ।

प्रतिवेदनले पर्पल माउन्टेन वेधशालाले न्युजिल्यान्डमा आफ्नै भू–आधारित अन्तरिक्ष पूर्वाधार स्थापना गर्न खोजेको यो पहिलो घटना नभएको र भविष्यमा पनि त्यस्तो प्रयास हुन सक्ने चेतावनी दिएको छ।

चीन र न्युजिल्यान्डबीच व्यापार तथा अन्य क्षेत्रमा सहकार्य रहँदै आए पनि पछिल्लो समय सुरक्षा र सम्भावित विदेशी हस्तक्षेपका विषयमा दुवै देशबीच मतभेद बढ्दै गएको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?