+
+
Shares

नेपाल भारत-चीनसँग ‘इन्गेज’नभई अघि बढ्न सक्दैन,सरकारले ग्याप गर्दैछ : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १८:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालले भारत र चीनसँग सन्तुलित र सक्रिय सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
  • प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अपरिपक्व रहेको भन्दै उनले कूटनीतिक वार्ताको वातावरण बिग्रन सक्ने चिन्ता व्यक्त गरे ।
  • उनले सरकारले लोकप्रियतावादको सहारा लिएको र युवा आन्दोलनको स्वरूपप्रति गम्भीर चिन्ता प्रकट गर्दै हिंसात्मक नजिर बन्न नहुने उल्लेख गरे ।

१८ साउन, काठमाडौं । एमालेका विदेश विभाग प्रमुख एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले भारत र चीनसँग सन्तुलित र सक्रिय सम्बन्ध कायम नगरी अघि बढ्न नसक्ने बताएका छन्।

सोमबार एमालेको परराष्ट्र मामिला विभागद्वारा आयोजित पत्रकार अन्तर्क्रियामा बोल्दै उनले दुवै छिमेकीसँग विश्वासको वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए।

‘भारत र चीनसँग इन्गेज नभई नेपाल अघि बढ्न सक्दैन’ उनले भने,’नेपालको सबैभन्दा ठूलो कूटनीतिक शक्ति नै छिमेकी सम्बन्ध हो । तर सरकारले सबैसँग ट्रस्ट बिल्डअप गर्न नसकेको जस्तो देखिन्छ ।’

छिमेकी मुलुकसँग विभिन्न विषयमा समस्या आउन सक्ने भए पनि त्यसका कारण समग्र साझेदारी रोक्न नहुने उनको भनाइ थियो । ‘छिमेकी देशसँग इस्यु हुन सक्छन् । तर बृहत्तर साझेदारी रोकिनु हुँदैन’ उनले भने ।

उनले वर्तमान अवस्थामा नेपालले भारत र चीन दुवैको विश्वास जित्न नसकेको उनको बुझाइ थियो । ‘दुवै देश विश्वस्त हुन सकेका छैनन्, भारत इन्गेज हुनखोजे जस्तो देखिएको थियो । तर फेरि ग्याप भएको जस्तो लाग्छ । यस्तो ग्याप हुनु राम्रो होइन’ उनले भने ।

उनले प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक प्रोटोकललाई मेन्टेन गर्न खोजेको भए पनि यस्ता कुराहरू राष्ट्रय हित र नेपालको फाइदाका सन्दर्भहरू पनि हेरेर गर्नुपर्ने उनको सुझाव थियो । प्रधानमन्त्रीसँग भेटै नहुने भएपछि कतिपय कूटनीतिकहरूको भ्रमण नभएको प्रसंगतर्फ संकेत गर्दै उनले भने,’प्रोटोकल ख्याल गर्नु राम्रो हो। तर हाम्रो फाइदाका लागि कतिपय कुरा हेर्नुपर्ने हुन्छ ।’

सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अपरिपक्व रहेको उनको टिप्पणी थियो। ‘सरकारको तर्फबाट सीमाको विषयमा अपरिपक्व शब्द आए। प्रधानमन्त्रीका अभिव्यक्तिले वार्ताको टेबलमा समस्या पार्ने हो कि भन्ने चिन्ता छ’ उनले भने,’पछिल्ला कूटनीतिक घटनाक्रमले नेपालको अवस्था फ्राजाइल जस्तो देखिएको छ । हामी अप्ठ्यारोमा पर्न लागेको हो कि भन्ने चिन्ता छ ।’

उनले सीमावर्ती क्षेत्रमा लागू गरिएको १०० भन्दा माथीको रकममा भन्सार कामय गर्ने व्यवस्थाले स्थानीय जनतालाई समस्या परेको उल्लेख गर्दै त्यसमा विचार पुर्‍याउनुपर्ने धारणा राखे ।

रास्वपा नेतृत्वको सरकारले नेपाललाई ‘बफर स्टेट’का रूपमा प्रस्तुत गर्न खोजेकोप्रति पनि उनको टिप्पणी थियो । ‘नेपालले आफैं बफर स्टेट भनेको छैन, सरकारले सुरुमा त्यो कुरा भन्न खोजेको छ’ उनल भने ।

ज्ञवालीले सरकार र प्रतिपक्षबीच संवादको अभाव रहेको बताए । तर राष्ट्रिय मुद्दाहरूमा एमाले सरकारले चाहेको बेलामा संवाद गर्न तयार रहेको जानकारी दिए ।

सरकारको परराष्ट्र नीति लोकप्रियतावादमा चलिरहेको उल्लेख गर्दै उनले राजदूत नियुक्ति लगायतमा खुला प्रतिस्पर्धा त्यसकै उदाहरण भएको बताए ।

ज्ञवालीले जेनजी आन्दोलनका विषयमा एमालेको धारणा स्पष्ट रहेको बताउँदै युवाले उठाएका विषय स्वाभाविक भए पनि आन्दोलनको स्वरूपप्रति चिन्ता व्यक्त गरे। उनले नेपालमा राजतन्त्र अन्त्य र माओवादीको आन्दोलन समेत शान्तिपूर्ण रुपमा समाधान भएको उदाहरण दिँदै जेनजी आन्दोलनपछि चाहिँ जस्ता सुकै माग समाधानमा हिंसात्मक बोटो खोज्ने नजिर बस्ने हो कि भन्ने चिन्ता पैदा भएको बताए । ‘अहिले परिवर्तनका कुरा हिंसात्मक बाटोबाट मात्र जाने हो कि भन्ने चिन्ता छ। यो नजिर बन्ला कि भन्ने चिन्ता छ’ उनले भने ।

तराई–मधेशका घटनाप्रति संकेत गर्दै उनले भिड नियन्त्रणमा प्रहरी पटक–पटक असफल भएको टिप्पणी गरे। ‘तराई–मधेशको हकमा भिड नियन्त्रणमा प्रहरी किन असफल हुँदै आयो ? पहिले जनआन्दोलनमा भिड नियन्त्रण गर्न सकिन्थ्यो । देवानगन्जमा किन गोली चलाउनुपर्‍यो? त्यो भिड नियन्त्रण किन गर्न सकेन ?’ उनले प्रश्न गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?