+
+
Shares

विश्वमा अमेरिकाभन्दा चीनलाई सकारात्मक रूपमा हेर्ने मानिस बढे

दक्षिण एसियामा अमेरिकालाई भारतीय र चीनलाई पाकिस्तानीले अधिक मनपराउने गरेको अध्ययनको निष्कर्ष छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्यू रिसर्च सेन्टरको पछिल्लो सर्वेक्षणअनुसार विश्वका अधिकांश देशमा अमेरिकाभन्दा चीनप्रति बढी सकारात्मक धारणा देखिएको छ ।
  • सर्वेक्षण गरिएका ३६ मध्ये २५ देशमा चीनप्रति सकारात्मक दृष्टिकोण राख्नेहरूको संख्या अमेरिकाको तुलनामा धेरै पाइएको छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति धेरै देशमा बढी विश्वास रहेको अनुसन्धानले देखाएको छ ।

३२ असार, काठमाडौं । अहिले विश्वका धेरै देशहरूमा अमेरिकाभन्दा चीनलाई बढी सकारात्मक रूपमा हर्ने क्रम बढेको एक अध्ययनले देखाएको छ । प्यू रिसर्च सेन्टरको अध्ययनदे यस्तो देखाएको हो । प्यू रिसर्च सेन्टर अमेरिकामै रहेको स्वतन्त्र र प्रतिष्ठित अनुसन्धान संस्था हो । यो संस्थाले यस्तो नतिजा पहिलो पटक अभिलेख गरेको बीबीसीले उल्लेख गरेको छ ।

धेरै देशहरूमा चीनप्रतिको सकारात्मक धारणा अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । अमेरिकाप्रतिको धारणा कमजोर भएको अध्ययनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ दुवैमाथि धेरै विश्वास व्यक्त गरेका छैनन् । तर ट्रम्पको तुलनामा सी चिनफिङले बढी विश्वास प्राप्त गरेका छन्।

अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको बढी सम्मान गर्ने धारणा अझै कायम रहे पनि, अन्य देशहरूको मामिलामा हस्तक्षेप गर्ने विषयमा चीन अमेरिकाभन्दा कम हस्तक्षेपकारी रहेको धारणा आएको छ ।

प्यू रिसर्च सेन्टरले फेब्रुअरीदेखि मेसम्म ३६ देशका ४२ हजार भन्दा बढी व्यक्तिसँग सर्वेक्षण गरेको थियो। सहभागीहरूलाई चीन र अमेरिकाप्रति आफ्नो धारणा धेरै सकारात्मक, केही सकारात्मक, केही नकारात्मक वा धेरै नकारात्मकमध्ये कुन हो भनेर सोधिएको थियो।

अध्ययनले ३६ मध्ये २५ देशमा अमेरिकाभन्दा चीनप्रति सकारात्मक धारणा राख्ने मानिसहरूको संख्या बढी रहेको देखाएको छ ।

सन् २००२ देखि विश्वका महाशक्तिहरूप्रतिको जनमत अध्ययन गर्दै आएको प्यू रिसर्च सेन्टरका अनुसन्धानकर्ता जोनाथन शुलम्यानका अनुसार, यति धेरै देशमा यस्तो नतिजा पहिलो पटक देखिएको हो।

यसअघि पनि अमेरिकाप्रतिको सकारात्मक धारणा घटेको थियो । सन् २००८ मा जर्ज डब्लु बुसको कार्यकालको अन्त्यतिर र सन् २०१७ मा ट्रम्पको पहिलो कार्यकाल सुरु हुँदा यस्तै नतिजा आएको थियो ।

तर त्यसबेला पनि चीनप्रतिको सकारात्मक धारणा अमेरिकाको बराबरी वा केही कम मात्र थियो। स्पेन, इन्डोनेसिया, इटाली, ग्रीस र क्यानडा चीनतर्फ सबैभन्दा बढी झुकेका देशहरूमध्ये परेका छन्।

यस वर्षको सर्वेक्षणमा पोल्यान्ड, फिलिपिन्स, दक्षिण कोरिया, भारत, जापान र इजरायल ६ देशले मात्र अमेरिकालाई बढी रुचाएका छन् । तीमध्ये अधिकांश अमेरिका निकट सहयोगी राष्ट्रहरू हुन् ।

अर्को विश्लेषणमा २० देशको औसत हेर्दा, पछिल्ला वर्षहरूमा अमेरिकाप्रतिको सकारात्मक धारणा लगातार घट्दै गएको छ भने चीनप्रतिको सकारात्मक धारणा बढ्दै गएको देखिएको छ।

सर्वेक्षण गरिएका एकतिहाइभन्दा बढी देशहरूमा चीनप्रतिको सकारात्मक धारणा हालका वर्षहरूमा उल्लेखनीय रूपमा बढेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

यस वर्ष इटाली, स्पेन, कोलम्बिया, मेक्सिको, इन्डोनेसिया, मलेसिया, नाइजेरिया र टर्कीमा चीनप्रतिको सकारात्मक धारणा अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।

अनुसन्धानले मध्यम आय भएका देशहरूमा चीनप्रति सकारात्मक धारणा बढी छ भने धनी देशहरूमा चीनप्रति नकारात्मक धारणा बढी पाइन्छ।

तर यस प्रवृत्तिको एउटा अपवाद सिङ्गापुर बनेको छ । सर्वेक्षण गरिएका देशहरूमध्ये प्रतिव्यक्ति आय सबैभन्दा बढी भएका देशहरूमध्ये एक भए पनि त्यहाँ चीनप्रति सकारात्मक धारणा उच्च छ।

चीनप्रतिको सबैभन्दा सकारात्मक धारणा पाकिस्तानमा देखिएको छ । जहाँ करिब ९० प्रतिशत उत्तरदाताले चीनलाई समर्थन गरेका छन् । सबैभन्दा कम सकारात्मक धारणा जापानमा देखिएको छ । जहाँ ११ प्रतिशतले मात्र चीनप्रति सकारात्मक दृष्टिकोण व्यक्त गरेका छन्।

सी चिनफिङ र ट्रम्पप्रति विश्वास 

सर्वेक्षणमा सहभागीहरूलाई विश्व मामिलामा सही निर्णय गर्न सी चिनफिङ र ट्रम्पमाथि कति विश्वास छ भनेर पनि सोधिएको थियो।

समग्रमा दुवै नेताप्रतिको विश्वासको स्तर कम थियो र अधिकांश देशमा यो ५० प्रतिशत भन्दा कम रह्यो। तर धेरै देशहरूमा ट्रम्पभन्दा सी चिनफिङप्रति बढी विश्वास देखियो।

सी चिनफिङले पाकिस्तानमा ८३ प्रतिशत र जापानमा ७ प्रतिशत विश्वास प्राप्त गरेका छन् । ट्रम्पले सबैभन्दा बढी फिलिपिन्समा ६८ प्रतिशत र सबैभन्दा कम वेस्ट बैंक/पूर्वी जेरुसेलममा ४ प्रतिशत विश्वास प्राप्त गरेका छन् ।

अनुसन्धानकर्ता शुलम्यानका अनुसार, ‘धेरै मानिसहरूमा सी चिनफिङबारे निकै बलियो धारणा छैन, जबकि ट्रम्पबारे मानिसहरूले स्पष्ट र धेरै सकारात्मक वा धेरै नकारात्मक धारणा व्यक्त गर्ने सम्भावना बढी हुन्छ।’

व्यक्तिगत स्वतन्त्रता र विदेश नीति

सर्वेक्षणले अमेरिकी सरकारले आफ्ना नागरिकहरूको व्यक्तिगत स्वतन्त्रता चीनको तुलनामा बढी सम्मान गर्छ भन्ने धारणा अझै बलियो रहेको देखाएको छ। तर दुवैबीचको अन्तर भने घट्दै गएको छ।

प्यूले केही मध्यम आय भएका देशहरूमा महाशक्तिहरूको विदेश नीतिबारे पनि प्रश्न सोधेको थियो।

त्यसमा ७५ प्रतिशत उत्तरदाताले अमेरिका अन्य देशहरूको मामिलामा धेरै वा केही हदसम्म हस्तक्षेप गर्छ भन्ने बताएका छन्। चीनका बारेमा भने ४५ प्रतिशतले त्यही धारणा व्यक्त गरेका छन्।

मत सर्वेक्षण संस्था ग्यालपले पनि गत वर्ष चीनले विश्वव्यापी अनुमोदन दरमा अमेरिकालाई उछिनेको जनाएको थियो। यो अन्तर पछिल्ला २० वर्षकै सबैभन्दा ठूलो थियो।

तर एसिया सोसाइटीको वार्षिक अध्ययनले भने कोरोना महामारीका बेला कमजोर बनेको चीनको अन्तर्राष्ट्रिय छवि पछिल्ला वर्षहरूमा केवल सीमित मात्रामा सुधार भएको देखाएको छ।

कार्नेगी चाइनाका गैरआवासीय अनुसन्धानकर्ता चोङ जा इयानका अनुसार प्यूको यो नतिजा आश्चर्यजनक होइन। उनले भने, ‘अमेरिकी नीतिहरूको अस्थिरता, सैन्य शक्तिको प्रयोग र त्यसबाट उत्पन्न आर्थिक असरले धेरै देशहरूलाई चिन्तित बनाएको छ।’

सर्वेक्षण सुरु भएको केही समयअघि ट्रम्पले ग्रीनल्यान्डलाई अमेरिकामा गाभ्ने विषयमा कडा अभिव्यक्ति दिएका थिए। त्यस अवधिमा अमेरिकाले इरानसँग युद्ध पनि सुरु गरेको थियो।

डा. चोङका अनुसार, ‘चीन अत्यन्त लोकप्रिय छ कि छैन भन्ने प्रश्न खुला नै छ। तर अहिलेको अवस्थामा चीन धेरैलाई अमेरिकाभन्दा बढी पूर्वानुमान गर्न सकिने शक्ति जस्तो लाग्छ। विशेषगरी विकासशील देशहरूमा बेइजिङले आफ्नो छवि सुधार्न धेरै प्रयास गरेको छ।’ (बीबीसीको रिपोर्टमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?