News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको कडा अध्यागमन नीति, भिसा समस्या र उच्च शैक्षिक खर्चका कारण अफ्रिकी विद्यार्थीहरू उच्च शिक्षाका लागि चीनतर्फ आकर्षित भइरहेका छन्।
- अन्तर्राष्ट्रिय वैज्ञानिकहरू र नोबेल पुरस्कार विजेतासमेत अनुसन्धान बजेट कटौती र भूराजनीतिक वातावरणका कारण अमेरिका र बेलायत छाडी चीनमा आबद्ध भइरहेका छन्।
- चिनियाँ विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धानमा गरेको लगानी र अन्तर्राष्ट्रिय र्याङ्किङमा भएको सुधारले विश्वभरका उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न सफल भएको छ।
१५ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कुनै समय अमेरिकी कलेजहरूलाई विश्वस्तरीय शिक्षा र राम्रो करिअरको ढोकाका रूपमा हेर्थे। अमेरिकाको बदलिँदो अध्यागमन नीति, भिसाका कडा सर्तहरू र आइसीईका छापाका कारण उनीहरू पुनर्विचार गर्न बाध्य भएका छन्।
२३ वर्षका कुन्ले अदेयेमीका लागि गत वर्ष लागोसस्थित अमेरिकी दूतावासले विद्यार्थी भिसा नदिएपछि भएको निराशाबाट मुक्त हुन केही समय लाग्यो । एक वर्षपछि उनी उक्त अस्वीकार्यतालाई एउटा वरदान मान्छन्।
नाइजेरियाको व्यावसायिक राजधानीमा अदेयेमीले साउथ चाइना मर्निंग पोस्टसँग कुरा गर्दै भने, ‘मैले मेरो पढाइका लागि साटोमा चीन जाने निर्णय गरेको छु। यो सस्तो छ, स्तर राम्रो छ, र अफ्रिका तथा चीनबीचको व्यापार बढिरहेको छ। यसको अर्थ धेरै अवसरहरू हुन्।’
अमेरिकाले अफ्रिकी विद्यार्थीहरूका लागि प्रवेशमा कडाइ गरिरहेको छ। यस्तो अवस्थामा अफ्रिका महाद्वीपका धेरै मानिसहरू उच्च शिक्षाका लागि चीनतर्फ लागिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो पटक फर्किएपछि ल्याएका धेरै अध्यागमन विरोधी नीतिहरू ल्याएपछि अमेरिका प्रवेशका बाधा झन् बढेका छन्।
ट्रम्पको दोस्रो कार्यकालअघिको दशकमा नाइजेरियाले सबैभन्दा धेरै विद्यार्थी अमेरिका पठाएको थियो। नाइजेरिया अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो।
सन् २०२३-२४ को शैक्षिक सत्रमा नाइजेरियाका २० हजारभन्दा बढी विद्यार्थी अमेरिकामा थिए। न्युयोर्कस्थित इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन (आईआईई) का अनुसार, त्यसपछि घानाका ९ हजारभन्दा बढी र केन्याका करिब ४ हजार ५०० विद्यार्थी अमेरिकामा थिए। इथियोपियाका करिब ३ हजार विद्यार्थी अमेरिकामा थिए। त्यसपछि दक्षिण अफ्रिकाका २ हजार ८०० विद्यार्थी थिए।
ट्रम्पको निर्देशनसँगै पूर्णकालीन अध्ययनका लागि एफ-१ भिसा खोजिरहेका सम्भावित अफ्रिकी विद्यार्थीहरूका लागि नियम कडा भएका छन् ।

अफ्रिकाका आधाभन्दा बढी देशका नागरिकहरूले अमेरिका यात्रामा प्रतिबन्धको सामना गरिरहेका छन्। महाद्वीपमा भिसा प्रक्रिया केन्द्रहरूको सङ्ख्या ५० भन्दा बढीबाट घटाएर २० मा झारिएको छ। धेरै आवेदकहरूले भिसा अन्तर्वार्ता दिनका लागि मात्रै अर्को देश जानुपर्ने अवस्था छ।
अफ्रिकी विद्यार्थीहरूले भिसा अस्वीकार हुने दर उच्च रहेको बताएका छन्। भिसा पाउन सफल भएकाहरूलाई पनि छोटो अवधिको भिसा दिइएको छ। यसले विद्यार्थीहरूको यात्रालाई जटिल बनाएको छ। यसका साथै अमेरिकामा पढाइको खर्च महँगो छ। सरकारी विश्वविद्यालयहरूको औसत वार्षिक खर्च २९ हजार अमेरिकी डलर छ। निजी संस्थाहरूको खर्च ६७ हजार अमेरिकी डलरसम्म पर्छ।
ट्रम्पको यात्रा प्रतिबन्धको सूचीमा परेकाहरूमा अफ्रिकी देशहरूको सङ्ख्या धेरै छ। यो वर्ष अध्यागमन अधिकारीहरूले विद्यार्थीहरूको कागजात अगाडि नबढाएका रिपोर्टहरू आएका छन्। प्रतिबन्धित देशका विद्यार्थीहरूले भिसा नवीकरण वा पढाइसँग सम्बन्धित कामको स्वीकृतिका लागि दिएका कागजात अगाडि बढाइएको छैन।
सेप्टेम्बर १५ देखि अर्को नयाँ नियम लागू हुँदै छ। यसले सन् १९७८ देखि लागू भएको नियमलाई बदल्नेछ। उक्त नियमले विद्यार्थीहरूलाई अमेरिकामा लामो समय बस्न अनुमति दिएको थियो।
जुलाई १६ मा परिवर्तनको घोषणा गर्दै होम्ल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनले भनेका छन्, ‘दशकौँदेखि विदेशी विद्यार्थीहरूलाई अनिश्चित कालका लागि अमेरिका प्रवेश गर्न दिइएको छ। यसले गर्दा हजारौँ मानिसहरूले देश छाड्नबाट जोगाउन पटक-पटक कोर्सहरूमा भर्ना भएर हाम्रो अध्यागमन प्रणालीको दुरुपयोग गरेका छन्। यी भिसाहरूमा स्पष्ट र निश्चित सीमाहरू लागू गरेर संयुक्त राज्य अमेरिकाले आफ्ना सीमाभित्रका व्यक्तिहरूको उचित जाँच, परीक्षण र अनुगमन गर्ने आफ्नो क्षमता फिर्ता लिँदै छ।’
यी सबै नयाँ उपायहरू र अमेरिकी शिक्षाको उच्च खर्चले धेरै सम्भावित विद्यार्थीहरूलाई चीन जानेसहितका विकल्पहरू सोच्न बाध्य बनाएको छ। चीनको शिक्षा मन्त्रालयका अनुसार, सन् २०१० मा १९४ देशका २ लाख ६५ हजार ९० विदेशी विद्यार्थी चीनमा थिए। यो सङ्ख्या बढेर सन् २०२४-२५ को शैक्षिक सत्रमा १९१ देशका ३ लाख ८० हजार पुगेको छ।
सन् २०१० मा एसिया र युरोपपछि अफ्रिका तेस्रो स्थानमा थियो। त्यसबेला कुल विदेशी विद्यार्थीमा अफ्रिकाको हिस्सा करिब १५ प्रतिशत थियो। सन् २०२४-२५ को शैक्षिक सत्रसम्ममा १६.२ प्रतिशत हिस्सासहित अफ्रिका दोस्रो स्थानमा उक्लिएको छ। १५.६ प्रतिशत हिस्सासहित युरोप पछाडि परेको छ। चिनियाँ शिक्षामा चासो बढेसँगै यो सङ्ख्या अझै बढ्नेछ।
अन्तर्राष्ट्रिय र्याङ्किङमा चिनियाँ विश्वविद्यालयहरू
चिनियाँ विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय र्याङकिङ भएको सुधारले पनि यो परिवर्तनमा मद्दत गरेको छ।
नेदरल्यान्ड्सको लेडेन युनिभर्सिटीको सेन्टर फर साइन्स एन्ड टेक्नोलोजी स्टडिजले यो वर्षको सुरुमा एउटा वैज्ञानिक प्रभाव र्याङ्किङ प्रकाशित गरेको थियो ।
त्यसमा दुई चिनियाँ संस्थाहरू हार्भर्ड युनिभर्सिटीभन्दा अगाडि थिए। झेजियाङ युनिभर्सिटी पहिलो र साङ्घाई जिआओ तोङ युनिभर्सिटी दोस्रो स्थानमा थिए । हार्भर्ड युनिभर्सिटी तेस्रो स्थानमा थियो ।

यो रिपोर्टले सन् २०२० देखि २०२३ सम्म कम्तीमा १०० वटा वैज्ञानिक प्रकाशनहरू भएका विश्वभरका एक हजार ५०० भन्दा बढी विश्वविद्यालयहरूको मूल्याङ्कन गर्छ । कुल प्रकाशनहरू र विश्वव्यापी रूपमा धेरै उद्धृत गरिएका शीर्ष १० प्रतिशतभित्र पर्ने प्रकाशनहरूको सङ्ख्या यसका मुख्य सूचक हुन्।
चौथोदेखि नवौँ स्थानसम्म पनि चिनियाँ विश्वविद्यालयहरू नै परेका छन्। सिचुआन र सेन्ट्रल साउथ युनिभर्सिटी, हुवाजङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, सुन यात-सेन, सियान जिआओ तोङ र सिङ्हुआ युनिभर्सिटी यी स्थानमा छन् । क्यानडाको युनिभर्सिटी अफ टोरोन्टो दसौँ स्थानमा परेको छ।
चीनमा पढ्न चाहने अफ्रिकी विद्यार्थीहरूका लागि सिनो-अफ्रिका युनियन एजुकेसन इन्स्टिच्युटले सक्रिय भूमिका खेलेको छ। उसले चिनियाँ र अफ्रिकी कलेजहरूलाई जोड्ने तथा द्विपक्षीय शैक्षिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। संस्थाको एउटा टोलीले गत वर्ष घानाका २० भन्दा बढी कलेजहरूको भ्रमण गरेको थियो। उनीहरूले विद्यार्थीहरूलाई चीनमा उपलब्ध शैक्षिक अवसरहरूबारे जानकारी दिएका थिए।
दशकौँसम्म युरोप र उत्तर अमेरिकामा केन्द्रित भएका शैक्षिक परामर्शदाताहरूले अहिले चीनतर्फ ध्यान मोडिरहेका छन् ।
क्यामरुनको याउन्डेमा रहेको चीन फर एजुकेसन कन्सल्टेन्सीले चिनियाँ विश्वविद्यालयहरूमा धेरै कोर्सहरू अंग्रेजीमा पढाइने कुरा उल्लेख गरेको छ।
उसले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका उत्कृष्ट विश्वविद्यालयहरूमा छात्रवृत्तिको अवसर रहेको पनि बताएको छ। परामर्शदाताहरूको मुख्य दाबी चिनियाँ शिक्षाको उच्च गुणस्तर र सुलभ खर्च नै हो।
विद्यार्थीहरू मात्र होइन, अपर्याप्त बजेट र पश्चिमी देशहरूमा नेतृत्वदायी भूमिका पाउने अवसरको कमीका कारण यो वर्ष दर्जनौँ वैज्ञानिक र विशेषज्ञहरू संयुक्त राज्य अमेरिका र बेलायत छाडेर चीन पुगेका छन्। अमेरिका र बेलायतका शीर्ष शैक्षिक तथा वैज्ञानिक संस्थाहरू छाडेर चीनतर्फ मोडिने प्रख्यात वैज्ञानिकहरूमा याले, क्याम्ब्रिज, एमआईटी र बर्क्लेका अनुसन्धानकर्ताहरू रहेका छन्।
नोबेल पुरस्कार बिजेताहरू पनि चीनतिर
यीमध्ये सबैभन्दा महत्त्वपूर्ण उदाहरण गत वर्ष रसायन शास्त्रतर्फको नोबेल पुरस्कार विजेता ओमार याघीको हो । ओमार याघीले डिसेम्बरमा स्टकहोममा नोबेल पुरस्कार प्राप्त गरेका थिए। उनले युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्क्लेको प्रोफेसर पद छाडेका छन्। उनी चीनको सिङ्हुआ युनिभर्सिटीमा आबद्ध भएका छन्।
त्यहाँ उनले नयाँ एआई-ड्राइभन रिसर्च सेन्टरको नेतृत्व गर्नेछन्। डाक्टर याघीको यो कदम ट्रम्प प्रशासनले अमेरिकी विज्ञानको बजेटमा गरिरहेको निरन्तर कटौतीका बीच आएको हो। चीनले भारी बजेट दिएर अन्तर्राष्ट्रिय वैज्ञानिकहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ।
बेइजिङस्थित सिन्ह्वा युनिभर्सिटीले डाक्टर याघीलाई स्वागत गर्दै एउटा नियुक्ति समारोहको आयोजना गर्यो। विश्वविद्यालयले उनलाई विश्वका प्रमुख रसायनशास्त्रीमध्ये एक भनेको छ। उनले आफ्नो नयाँ पदलाई एउटा अवसरका रूपमा हेरेका छन्। विश्वविद्यालयले जनाएअनुसार, गति सुस्त बनाउन वा भइसकेका काम दोहोर्याउन होइन, तर पहिलेभन्दा बढी ऊर्जा, तीव्रता र आकाङ्क्षाका साथ विज्ञानमा काम गर्न यो अवसर आएको छ।
वासिङ्टन डीसीमा रहेको अमेरिकन एसोसिएसन फर द एडभान्समेन्ट अफ साइन्सकी बजेट विश्लेषक अलेसान्द्रा जिमरम्यानले भनेकी छन्, ‘चीनले रसायन शास्त्रसहित समग्र विज्ञानमा आफ्नो लगानी बढाइरहेको छ।’
उत्कृष्ट रसायन शास्त्रका अनुसन्धान पत्रहरूमा चीनले अमेरिकालाई पछाडि पारिरहेको उनले बताइन्। गत वर्ष अमेरिकाका ६ जना नोबेल पुरस्कार विजेताहरूमध्ये ३ जना देशबाहिर जन्मिएका थिए। यो शताब्दीमा भौतिक शास्त्र, रसायन शास्त्र र चिकित्सा शास्त्रतर्फ अमेरिकाले पाएका नोबेल पुरस्कारहरूमा आप्रवासीहरूको हिस्सा ४० प्रतिशत पुगेको छ।

एउटा अन्तर्वार्तामा युनिभर्सिटी अफ क्यालिफोर्निया, सेन्टा बारबराका रसायन शास्त्र र म्याटेरियल्स साइन्सका प्रोफेसर राम शेशाद्रीले आफ्ना कुरा राखेका छन्। डाक्टर याघी चीन जानुले दुई देशबीच तीव्र रूपमा उभरिरहेको गतिशीलतालाई स्पष्ट पारेको उनले बताए। चीनलाई सङ्केत गर्दै उनले भनेका छन्, ‘म्याटेरियल्स साइन्स र रसायन शास्त्रका धेरै क्षेत्रहरूमा उनीहरूले हामीलाई उछिनिसकेका छन्। नयाँ प्रतिभाहरूलाई आकर्षित गर्न उनीहरू धेरै ठूलो रकम लगानी गर्न तयार छन्।’
गत वर्ष नोबेल पुरस्कार लिन स्टकहोम उड्नुअघि डाक्टर याघीले द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पको अध्यागमन नीतिहरूप्रति चिन्ता व्यक्त गरेका थिए। यी नीतिहरूले वैज्ञानिक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने विश्वविद्यालय, कम्पनी र सरकारको प्रणालीलाई खतरामा पारेको उनले बताएका थिए।
ट्रम्पको राष्ट्रवादबारे उनले भनेका थिए, ‘मलाई लाग्छ यो दुःखद कुरा हो। भिन्न पृष्ठभूमिबाट आउने मानिसहरूले यसमा संलग्न सबैको स्तर सुधार्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ। यो एउटा अद्भुत कथा हो। महान् विचारहरूले अमेरिकालाई मात्र होइन, पूरै संसारलाई सुधार्न सक्छन्।’
डाक्टर याघीबाहेक अमेरिका र बेलायतका शीर्ष संस्थाहरू छाडेर चीन फर्किने प्रमुख वैज्ञानिकहरूमा झाङ काई पनि एक हुन्।
यालेका अग्रणी वैज्ञानिक झाङ काई सेलुलर स्ट्रक्चर ग्रुप डेटा बैंक निर्माण गरिरहेका छन्। आफ्नो आकाङ्क्षा पूरा गर्नका लागि स्वदेश चीन फर्किनु उनका लागि स्वाभाविक रोजाइ थियो। त्यसैगरी ऊर्जा वैज्ञानिक चेन पेइपेइ क्याम्ब्रिज छाडेर हङकङमा आफ्नै ल्याब बनाउँदै छिन्।
केही सुरुवाती करिअरका वैज्ञानिकहरूका लागि घट्दो रिसर्च फन्डिङ र जटिल भूराजनीतिक वातावरणले बेलायती एकेडेमियाको साख बिग्रिँदै गएको छ। यसले गर्दा शीर्ष तहका प्रतिभाहरू स्थिरता र स्रोतसाधनका लागि अन्यत्र हेर्न बाध्य भएका छन्।
युवा वैज्ञानिक पनि चीनतिरै
यस्तै अमेरिका र क्यानडामा सबैभन्दा प्रतिभाशाली युवा वैज्ञानिकका लागि दिइने फेलोसिप जितेका भौतिकशास्त्री दाई लिआङ चीन फर्किएका छन्। उनले ब्ल्याक होलको खोजीसम्बन्धी कामका लागि यो सम्मान पाएका थिए। उनी अमेरिका छाडेर साङ्घाईको पदमा बहाल भएका छन्।
उता उदीयमान चिप वैज्ञानिक जिआङ जियानफेङ एमआईटी छाडेर पेकिङ युनिभर्सिटी पुगेका छन्। अधिकांश प्रोफेसरहरूलाई पीएचडीपछि डाक्टरल भिजिटिङ सुपरभाइजर बन्न आठदेखि १० वर्ष लाग्छ। तर सेमिकन्डक्टर वैज्ञानिक जिआङ जियानफेङले यो काम मात्र १८ महिनामा पूरा गरेका छन्। आफ्नो देश फर्किने निर्णय एउटा स्वाभाविक रोजाइ भएको उनी बताउँछन्।

न्युरोबायोलोजी र एआई क्षेत्रका अन्य शीर्ष विशेषज्ञहरूले पनि अमेरिका छाड्ने निर्णय गरेका छन्। प्रख्यात न्युरोबायोलोजिस्ट र भूतपूर्व तेक्वान्दो क्याप्टेन चिह-यिङ सु फलफूलका झिँगा र लामखुट्टेको सुँघ्ने क्षमतामा अनुसन्धान गर्छिन्। उनले युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगोको फ्याकल्टी भाइस-चेयर पद छाडेर सेन्जेन एकेडेमी अफ मेडिकल साइन्सेज (स्मार्ट) मा आबद्धता जनाएकी छन्।
त्यसैगरी विश्वको पहिलो मोबाइल प्लान्ट आइडेन्टिफिकेसन एप बनाउने चर्चित कम्प्युटर वैज्ञानिक तथा एआई वैज्ञानिक लिङ हाइबिनले पनि संयुक्त राज्य अमेरिकाको आफ्नो पद छाडेका छन्। उनी न्युयोर्कको स्टोनी ब्रुक युनिभर्सिटीका पूर्व एम्पायर इनोभेसन प्रोफेसर र आईइइइ फेलो हुन्। उनले पूर्वी चीनको हाङजाउमा रहेको वेस्टलेक युनिभर्सिटीमा फुल-टाइम भूमिका सम्हालेका छन्।
उत्तर अमेरिकाका शीर्ष कम्प्युटर भिजन वैज्ञानिक लिआङ जिए पनि चीन फर्किएका छन्। बीस वर्षअघि माइक्रोसफ्टमा लिआङ जिएले विकसित गरेका प्रविधिहरू विन्डोज मिडिया प्लेयर र ब्लु-रे डिस्कजस्ता प्रविधिमा समावेश गरिएका थिए। संसारभरका करोडौँ मानिसहरूले यी प्रविधि प्रयोग गरेका थिए।
यसैगरी पुरस्कार विजेता मेमोरी चिप विशेषज्ञले युनिभर्सिटी अफ क्यालिफोर्निया, अर्भिन छाडेका छन्। सेमिकन्डक्टर प्याकेजिङ र मेमोरी चिप्सका यी विशेषज्ञ दुई दशकभन्दा बढी समयपछि पूर्वी चीनको एउटा अग्रणी कन्डक्टिभ मेटेरियल्स कम्पनीमा आबद्ध हुन पुगेका छन्।
अटोमोबाइल र पावर इन्जिनियरिङ क्षेत्रका दिग्गजहरूमा पनि यो स्थानान्तरण प्रस्ट देखिन्छ। विश्वका अग्रणी ईभी मोटर विशेषज्ञ जु जिकियाङ ३८ वर्ष बेलायतमा बिताएपछि हङकङ पोलियुमा आबद्ध भएका छन्। इलेक्ट्रिक मोटर इन्जिनियरिङका विश्वकै एक अग्रणी विशेषज्ञ जु जिकियाङले बेलायतमा चार दशक लामो करिअर छाडेका छन्। उनी हङकङ पोलिटेक्निक युनिभर्सिटीमा इलेक्ट्रिक मेसिन र कन्ट्रोल सिस्टमका चेयर प्रोफेसरका रूपमा आबद्ध भएका छन्।
यसरी एकातिर अमेरिका र युरोपमा भिसाका कडा नियम, कडा अध्यागमन जाँच र अनुसन्धान बजेटमा भइरहेको कटौती छ। अर्कोतिर चीनमा तीव्र रूपमा बढिरहेको सरकारी लगानी, अत्याधुनिक प्रयोगशालाहरू र आकर्षक छात्रवृत्तिहरू छन्। यी दुई विपरीत कारकहरूले गर्दा विश्वका शीर्ष वैज्ञानिकहरू र लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू आफ्नो शैक्षिक र व्यावसायिक भविष्यका लागि पश्चिमी मुलुकहरू त्यागेर चीनतर्फ आकर्षित भइरहेका छन्।
प्रतिक्रिया 4