+
+
Shares

सेनाभित्रको भ्रष्टाचार लडाइँलाई तीव्र बनाउन चिनियाँ राष्ट्रपतिको आग्रह

चिनियाँ राष्ट्रपति सी जिन्पिङले सत्तारूढ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई सेनाभित्रको भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्र बनाउन र राष्ट्रिय रक्षाको आधुनिकीकरणलाई अघि बढाउन आग्रह गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १३:३०

१५ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन्पिङले सत्तारूढ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई सेनाभित्रको भ्रष्टाचारविरुद्धको लडाइँलाई तीव्र बनाउन र राष्ट्रिय रक्षाको आधुनिकीकरणलाई अघि बढाउन आग्रह गरेका छन्। सरकारी समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार यसबारे जानकारी दिएको छ।

चीनको शीर्ष निर्णय गर्ने निकाय पोलिटब्युरोको सामूहिक बैठकमा राष्ट्रपति सिले भने, ‘बन्दुकको नालले सधैं पार्टीको आदेश पालना गर्नुपर्छ।’

सिन्ह्वाका अनुसार, उनले मानवरहित प्रविधिको बढी प्रयोग र साइबर-सूचना प्रणालीको प्रयोगसहितको बौद्धिक सैन्य प्रणाली स्थापना गर्न आह्वान गरेका छन्।

सिन्ह्वाले जनाएअनुसार सिले भने, ‘उच्च गुणस्तरका साथ राष्ट्रिय रक्षा र सशस्त्र बलको आधुनिकीकरणलाई अघि बढाउन मूल अभिमुखीकरण र मूल्याङ्कनको मापदण्ड सधैं युद्ध क्षमता नै हो।’

सशस्त्र बल ‘पिल्स लिबरेसन आर्मी’ स्थापनाको ९९ औँ वार्षिकोत्सवअघि सिले यस्तो टिप्पणी गरेका हुन्।

केही रक्षा विश्लेषकहरू र सैन्य सहचारीहरूले यो वार्षिकोत्सव धेरै भड्किलो नहुने बताएका छन्। यद्यपि यसले कम्युनिस्ट पार्टीले सैन्य आधुनिकीकरण र युद्ध तयारीमा थप प्रगतिका लागि जोड दिएको शताब्दी वर्षलाई उजागर गर्नेछ।

लन्डनस्थित थिंक ट्यांक ‘इन्डिपेन्डेन्ट इन्स्टिच्युट अफ स्ट्र्याटेजिक स्टडिज’को फेब्रुअरीको रिपोर्टअनुसार सेनाभित्र चलिरहेको भ्रष्टाचारविरोधी कारबाहीले लडाइँको तयारीमा बाधा पुर्‍याएको छ र कमाण्ड संरचनामा गम्भीर कमीकमजोरी छाडेको छ।

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले गत वर्ष एक भनाइ जारी गरेको थियो। अमेरिकी सेनाले चीनका नेताहरू सन् २०२७ सम्ममा ताइवानमाथि हुनसक्ने द्वन्द्व जित्न आफ्ना सैनिकलाई तयार राख्न चाहन्छन् भन्ने विश्वास गरेको पेन्टागनले जनाएको थियो।

अमेरिकी गुप्तचर निकायको भर्खरैको मूल्याङ्कनअनुसार, बेइजिङले हाल सन् २०२७ मा ताइवानमाथि आक्रमण गर्ने योजना बनाएको छैन। चीन बल प्रयोग नगरी नै टापुमाथि नियन्त्रण हासिल गर्न चाहन्छ।

चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नै भूभाग मान्छ। ताइवानलाई आफ्नो कब्जामा लिन चीनले बल प्रयोगको विकल्प कहिल्यै त्यागेको छैन। उसले दैनिक रूपमा टापुवरपर सैन्य जहाज र विमानहरू तैनाथ गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?