News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको छिङहुवा विश्वविद्यालयमा कार्यरत नेपाली वैज्ञानिक प्रो.डा. हरिहर बस्नेत क्यान्सर कोषिकाको विकासक्रम र उपचारपछि तिनको पुनरागमन रोक्ने जटिल विषयमा अत्याधुनिक अनुसन्धान गरिरहेका छन् ।
- डा. बस्नेतले नेपालमा स्वास्थ्य सेवा सुधारका लागि बिरामीको मेडिकल रेकर्ड डिजिटलाइज गर्ने र औषधिको गुणस्तर सुनिश्चित गर्न डिजिटल ट्र्याकिङ प्रणाली लागू गर्नुपर्ने अवधारणा अघि सारेका छन् ।
- उनले नेपालले विश्वमा भइरहेका अनुसन्धान र प्रविधिलाई आफ्नो स्वास्थ्य प्रणालीमा उपयोग गर्न प्रशासनिक अवरोध हटाउँदै क्लिनिकल ट्रायलमा सहकार्य गर्नुपर्ने खाँचो औंल्याएका छन् ।
२६ साउन, काठमाडौं । क्यान्सर उपचारको चुनौती रोग पत्ता लगाउनु मात्र होइन, रोगले शरीरभित्र कसरी रूप बदल्दै जान्छ भन्ने बुझ्नु पनि हो । यही जटिल प्रश्नको उत्तर खोजिरहेका छन्- प्रो.डा. हरिहर बस्नेत ।
चीनको प्रतिष्ठित छिङहुवा विश्वविद्यालयमा आफ्नै प्रयोगशाला सञ्चालन गरिरहेका बस्नेत अहिले क्यान्सरसम्बन्धी अत्याधुनिक अनुसन्धानमा सक्रिय छन् । उनी ‘प्रिन्सिपल इन्भेस्टिगेटर’का रूपमा काम गर्छन् । अर्थात्, ल्याबमा कुन विषयमा अनुसन्धान गर्ने ? विद्यार्थी तथा प्राविधिक जनशक्ति कसरी छनोट गर्ने ? र, अनुसन्धानको दिशा कता लैजाने भन्ने निर्णयमा उनी स्वतन्त्र छन् ।
छिङहुवा विश्वविद्यालय संसारका शीर्ष विश्वविद्यालयमध्ये पर्छ । बस्नेतका अनुसार अनुसन्धानकर्तालाई सुरुवाती चरणमा विश्वविद्यालय तथा सरकारबाट सहयोग प्राप्त हुन्छ । त्यसपछि अनुसन्धानको परिणाम र सम्भावनाका आधारमा विभिन्न स्रोतबाट थप अनुदान जुटाउने प्रणाली छ । उनको ल्याबमा अहिले सात जना पीएचडी विद्यार्थी छन् ।
उनको अनुसन्धानको केन्द्रमा क्यान्सर छ । क्यान्सर कुन अवस्थामा कसरी परिवर्तन हुन्छ ? प्रारम्भिक अवस्थाबाट अन्तिम चरणसम्म पुग्दा क्यान्सरका कोषिकामा के परिवर्तन आउँछ ? उपचारपछि बाँकी रहेका कोषिका किन पुनः आक्रामक बन्छन् भन्ने विषयमा उनको अनुसन्धान केन्द्रित छ ।
उनकै भाषामा भन्नुपर्दा, क्यान्सरको ‘भाषा’ बुझ्ने प्रयास भइरहेको छ ।
क्यान्सरका कोषिकाले कुन जीन कसरी अभिव्यक्त गर्छन् भन्ने अध्ययनमार्फत तिनका कमजोरी पत्ता लगाउने र त्यही कमजोरीलाई लक्षित गरेर उपचारको नयाँ बाटो खोज्ने उनको अनुसन्धानको एउटा महत्वपूर्ण हिस्सा हो ।
विशेषगरी उपचारपछि पनि बाँकी रहने र पछि पुनः आक्रामक बन्न सक्ने क्यान्सर कोषिकालाई कसरी लक्षित गर्ने भन्नेमा उनको टोलीले काम गरिरहेको छ ।
डा. बस्नेतका लागि अनुसन्धान प्रयोगशालाभित्र सीमित विषय होइन । त्यसको अन्तिम उद्देश्य बिरामीसम्म पुग्नु हो ।

नेपालमा अनुसन्धानको ‘इकोसिस्टम’ नै कमजोर
विदेशमा अनुसन्धान गरिरहेका बस्नेत नेपाल फर्केर हेर्दा सबैभन्दा ठूलो समस्या अनुसन्धान र उपचारबीचको दूरी रहेको देख्छन् ।
उनका अनुसार चीनमा अनुसन्धानबाट आएको परिणामलाई अस्पतालमा लैजान तुलनात्मक रूपमा सहज छ । अनुसन्धानकर्ता, अस्पताल र सरकारबीचको सहकार्यले नयाँ प्रविधि वा उपचारलाई क्लिनिकल अभ्यासमा परीक्षण गर्ने बाटो खोल्छ । नेपालमा भने अनुसन्धान र क्लिनिकल अभ्यासबीच यस्तो पुल कमजोर छ ।
उनी यसलाई प्रशासनिक र ब्युरोक्रेटिक अवरोधसँग जोड्छन् । योग्य अनुसन्धानकर्ताले आफ्नै स्रोत र क्षमताबाट काम गर्न खोज्दा पनि प्रणालीले सहज बनाउनेभन्दा थप अवरोध सिर्जना गर्ने उनको अनुभव छ ।
डा. बस्नेतको दृष्टिमा नेपालले चीन वा अमेरिकासँग हरेक कुरामा प्रतिस्पर्धा गर्नु पर्दैन । बरु उनीहरूले बनाएको अनुसन्धान तथा विकासको ‘इकोसिस्टम’बाट नेपालले लाभ लिन सक्नु पर्छ ।
चीनमा विकसित औषधि नेपालमा सस्तोमा ल्याउन सकिन्छ । सफल भएका प्रविधिमा नेपालमा क्लिनिकल ट्रायल गर्न सकिन्छ । अनुसन्धानसँग नेपाली संस्थालाई जोड्न सकिन्छ भन्ने उनको जोड छ ।
यसको एउटा उदाहरणका रूपमा उनी क्यान्सरको उपचारमा प्रयोग हुने ‘कार्टी’ उपचारको मूल्यको तुलना गर्छन् ।
‘चीनमा सस्तोमा उपलब्ध हुने उपचार नेपालमा निकै महँगो पर्न सक्छ । त्यसैले नेपालले आफ्नै स्रोतबाट सबै अनुसन्धान गर्न नसके पनि विश्वमा भइरहेका अनुसन्धान र प्रविधिलाई आफ्नो स्वास्थ्य प्रणालीमा कसरी उपयोग गर्ने भन्नेमा ध्यान दिनुपर्छ,’ डा. बस्नेत भन्छन् ।

मेडिकल रेकर्ड बिरामीकै साथमा
बस्नेतको अर्को महत्वाकांक्षी योजना स्वास्थ्य सेवा डिजिटल प्रणालीसँग जोड्ने छ । हाल नेपालको स्वास्थ्य प्रणाली अस्पताल केन्द्रित छ । बिरामीले एउटा अस्पतालमा उपचार गराएर अर्को अस्पताल पुग्दा विगतको उपचार, औषधि र परीक्षणसम्बन्धी विवरण सहजै उपलब्ध हुँदैन । यसले उपचारलाई टुक्राटुक्रा बनाएको उनको तर्क छ ।
उनको अवधारणा भने फरक छ– बिरामीको मेडिकल रेकर्ड अस्पतालको होइन, बिरामीसँगै हिँड्नु पर्छ ।
बिरामी काठमाडौंको एउटा अस्पतालमा गए पनि, पोखरा पुगे पनि वा विदेशमा उपचार गराए पनि उसको आवश्यक मेडिकल इतिहास चिकित्सकले हेर्न सक्ने प्रणाली बनाउन सकिने उनको सोच छ । यसले उपचारको निरन्तरता र गुणस्तर सुधार्न सहयोग गर्ने विश्वास छ ।
यसलाई टेलिमेडिसिनसँग जोडेर अस्पतालको भिडसमेत घटाउन सकिने डा. बस्नेतको धारणा छ । उदाहरणका लागि, सामान्य समस्या भएका सबै बिरामी अस्पतालमै पुग्नु पर्ने बाध्यता हटाउन सकिन्छ । अर्को ठाउँमा रहेका विशेषज्ञलाई आवश्यकताअनुसार टाढाको बिरामीसँग जोड्न सकिन्छ । यसरी अस्पतालमा उपलब्ध विशेषज्ञता र जनशक्तिको अधिकतम उपयोग गर्न सकिने उनी बताउँछन् ।
नर्सिङ जनशक्तिलाई समेत यस्तो प्रणालीमा जोड्न सकिने उनको अवधारणा छ । सामान्य रगत संकलनदेखि केही आधारभूत स्वास्थ्य सेवाका लागि बिरामीलाई अस्पतालसम्म ल्याउनु पर्ने अवस्थालाई घरमै सेवा दिने मोडलबाट कम गर्न सकिने उनको तर्क छ ।
डिजिटल रेकर्डदेखि औषधिको ‘ट्रेसिङ’सम्म
डा. बस्नेतको डिजिटल स्वास्थ्य अवधारणा अस्पतालमा मात्र सीमित छैन । फार्मेसीमा बिक्री हुने औषधिको डिजिटल रेकर्ड राख्ने प्रणालीसमेत आवश्यक ठान्छन् उनी ।
कुन औषधि, कुन कम्पनीको, कुन ब्याच नम्बरको र कति मूल्यमा बिक्री भयो भन्ने विवरण डिजिटल रूपमा राख्न सके औषधिको गुणस्तर र बिक्री प्रणालीमा जवाफदेहिता बढाउन सकिने उनको भनाइ छ । गलत औषधि प्रयोग भएको अवस्थामा त्यसलाई कहाँबाट आएको हो भनेर ‘ट्रेस’ गर्नसमेत सहज हुने उनको तर्क छ ।

त्यसैगरी, चिकित्सकले गरेको उपचार, लेखेको औषधि र गराएको परीक्षणको डिजिटल रेकर्ड राख्दा स्वास्थ्य सेवामा जिम्मेवारी निर्धारण गर्न सहज हुने उनको धारणा छ । अहिले कुनै समस्या हुँदा गल्ती कसको भन्ने छुट्याउन कठिन हुने अवस्था रहेको भन्दै उनी डिजिटल ‘फुटप्रिन्ट’ले त्यसलाई बदल्न सक्ने बताउँछन् ।
तर, डिजिटल प्रणाली बनाउँदा बिरामीको गोपनीयता भने केन्द्रमा हुनुपर्ने उनको जोड छ । डा. बस्नेतले परिकल्पना गरेको प्रणालीमा चिकित्सकले बिरामीको आवश्यक मेडिकल जानकारी मात्र हेर्न पाउने छन् । नाम, ठेगाना जस्ता व्यक्तिगत विवरण आवश्यकताभन्दा बाहिर खुला नहुने गरी प्रणाली डिजाइन गरिएको उनी बताउँछन् ।
नेपालमा नयाँ सुरुवात गर्ने प्रयास
बस्नेतको यो डिजिटल स्वास्थ्य कार्यक्रम अहिले प्रारम्भिक चरणमा छ । उनले नेपालका केही सरकारी अस्पतालसँग छलफल अघि बढाइरहेका छन् । एकै पटक पूरै अस्पतालमा प्रणाली लागु गर्नुभन्दा पहिले एउटा सानो विभागबाट सुरु गरेर त्यसलाई परीक्षण, सुधार र विस्तार गर्ने योजना छ ।
डा. बस्नेत एकातिर क्यान्सरका कोषिकाले बोलेको ‘भाषा’ बुझेर उपचारका नयाँ सम्भावना खोजिरहेका छन् । अर्कोतिर, नेपालको स्वास्थ्य प्रणालीमा बिरामीको मेडिकल रेकर्डदेखि औषधिको बिक्रीसम्मलाई डिजिटल र जवाफदेही बनाउने सपना देखिरहेका छन् ।
उनका लागि नेपाल फर्किनुको अर्थ विदेशमा सिकेको कुरा दोहोर्याउनु मात्र होइन, त्यहाँ बनेको ज्ञान, प्रविधि र प्रणालीलाई नेपालले कसरी उपयोग गर्न सक्छ भन्ने खोजी पनि हो ।
उनी भन्छन्, ‘नेपालले सबै कुरा आफैं बनाउन नसक्ला । तर संसारले बनाइसकेको ज्ञान र प्रविधिबाट लाभ लिन भने सक्छ । त्यसका लागि अनुसन्धानप्रति खुला सोच, कम प्रशासनिक अवरोध र स्वास्थ्य प्रणालीलाई बिरामी केन्द्रित बनाउनु पर्छ ।’
गुण्डुको स्कुलदेखि छिङहुवा विश्वविद्यालयसम्म
बस्नेतले आफ्नो औपचारिक शिक्षा भक्तपुरको गुण्डुस्थित स्थानीय विद्यालयबाट सुरु गरे । कक्षा १० सम्म ओम सेकेन्डरी स्कुलमा अध्ययन गरे । त्यसपछि काठमाडौंको सेन्ट जेभियर्स कलेज, माइतीघरबाट आईएससी पूरा गरे ।
विद्यालय तहमा सुरु भएको उनको अध्ययन त्यसमै सीमित रहेन । उच्च शिक्षाका लागि भारत पुगे । त्यहाँको हेडमफर कलेजमा फिजिक्स र म्याथमेटिक्सलाई मुख्य विषय बनाएर अध्ययन गरे ।
तर, भौतिकशास्त्र र गणित पढ्दै गर्दा उनको रुचि विस्तारै अर्को दिशातर्फ मोडियो– जीवविज्ञानतर्फ ।
‘फिजिक्स र म्याथ पढ्दै जाँदा अलि बढी ट्रान्सलेसनल बायोलोजीमा रुचि लाग्यो,’ उनी आफ्नो शैक्षिक यात्रालाई सम्झँदै भन्छन् ।
त्यही रुचिले बस्नेतलाई अमेरिकासम्म पुर्यायो ।
बस्नेतले क्यालिफोर्नियाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा बायोमेडिकल साइन्समा पीएचडी गरे । सन् २००८ देखि २०१४ सम्म पीएचडीको अध्ययन तथा अनुसन्धान गरे ।
पीएचडीका क्रममा उनको अनुसन्धानको केन्द्र आधारभूत जीवविज्ञान थियो । कोषभित्र हुने जैविक प्रक्रियालाई बुझ्ने क्रममा एउटा निश्चित जैविक संयन्त्रबारे अनुसन्धान गरे ।
तर, आधारभूत विज्ञानमा मात्र सीमित भएर बस्न उनलाई मन लागेन ।
अनुसन्धानले मानिसको रोग र उपचारमा प्रत्यक्ष योगदान गर्न सक्नु पर्छ भन्ने सोचले उनलाई अर्को चरणमा पुर्यायो । त्यसपछि आफूलाई क्यान्सर अनुसन्धानतर्फ केन्द्रित गरे ।
पीएचडीपछि डा. बस्नेत अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा पोस्टडक्टोरल अनुसन्धानका लागि पुगे । यो क्यान्सर अनुसन्धानका क्षेत्रमा विश्वकै चर्चित संस्थामध्ये एक हो ।
उनले विशेषगरी क्यान्सरको मेटास्टासिस अर्थात् क्यान्सर शरीरको एक भागबाट अर्को भागमा फैलिने प्रक्रियामा अनुसन्धान गरे ।
सन् २००४ देखि २०२१ सम्म अमेरिकामा बसेपछि बस्नेतले आफ्नो अनुसन्धान यात्रालाई चीनतर्फ मोडे ।
चीन जाने निर्णयमा धेरै कारण थिए । त्यसमध्ये एउटा थियो- नेपालसँग भौगोलिक र पारिवारिक रूपमा नजिक हुने इच्छा । अर्को थियो– आफूले सिकेको र विकास गरेको विज्ञानलाई फरक वातावरणमा प्रयोग गर्ने अवसर ।
उनको सोच त्यतिबेला सरल थियो । अमेरिकाको स्तरको अनुसन्धान चीनमा गर्न सकियो भने भविष्यमा त्यसबाट नेपालले पनि लाभ लिन सक्छ ।
तर, चीन पुगेर अनुसन्धान गर्नु त्यति सहज थिएन ।
चिनियाँ विश्वविद्यालयमा विद्यार्थीहरू ल्याब रोज्नुअघि विभिन्न प्रयोगशालामा घुमेर अनुसन्धानको वातावरण र काम हेर्थे । बस्नेतले आफ्नो अनुसन्धान अरू ल्याबको भन्दा आकर्षक र प्रभावकारी छ भनेर विद्यार्थीलाई विश्वास दिलाउनुपर्ने अवस्था थियो ।
अर्थात्, त्यहाँ उनी अनुसन्धानकर्ता थिएनन्, आफ्नै अनुसन्धानको सम्भावना प्रमाणित गर्नुपर्ने प्रतिस्पर्धी पनि थिए ।
यही चुनौतीलाई आफ्नो वैज्ञानिक यात्राको अर्को साहसिक अध्यायका रूपमा लिए ।
प्रतिक्रिया 4