तल्लो पेटको सामान्य तर फरक दुखाइबाट शुरु भएको मेरो नवीन यात्रा एउटा रोगसँगको लडाइँ मात्र रहेन; यो त मेरो अस्तित्व, आत्मविश्वास र नारी भएर बाँच्नुको अर्थसँग जोडिएको यात्रा रह्यो । हेटौंडामा गरिएको सामान्य भिडियो एक्स–रेले भोलिपल्ट नै मलाई काठमाडौं पुर्यायो । त्यो समय म घरमा एक्लै थिएँ । धेरैलाई एक्लोपन अभिशाप लाग्न सक्छ, तर मैले जीवनको सबैभन्दा कठिन मोडमा एक्लोपनलाई आफ्नो शक्तिको रूपमा बदलेकी छु । मानिसहरू भीडमा पनि असहाय हुन्छन्, तर मैले वर्षौं पहिलेदेखि एक्लै भएर पनि भित्रबाट उठ्न जानेकी छु । आज मैले बुझेकी छु, एक्लोपनले मानिसलाई तोड्ने मात्र हैन धेरै पटक आफैंसँग साक्षात्कार समेत गराउँछ ।
उपचारका लागि म काठमाडौंस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टर पुगें । परीक्षणपछि डा. जागेश्वर गौतमले मेरो दाहिने अण्डाशयमा जटिल ट्युमर रहेको बताए । “केही ट्युमर समयसँगै आफैं हराउँछन्, तर केहीले जीवन नै बदलिदिन्छन्” उहाँका शब्दहरूले मेरो मनमा एउटा ठूलो सन्नाटा छोडेको थियो । पित्तथैलीमा पत्थरी समेत देखिएको कारण अन्ततः डा. गौतम र डा. कमल कोइरालाको टोलीले पत्थरी र ट्युमरको एकैपटक शल्यक्रिया गर्ने निर्णय गर्यो ।
पच्चीस वर्षअघि सन्तान जन्माएको रातपछि म आफ्नो उपचारका लागि भनेर अस्पताल बसेकी थिइनँ । त्यसैले शल्यक्रियाको खबरले म भित्रैदेखि डराएकी थिएँ । मृत्युको डरभन्दा ठूलो डर अपूर्ण जिम्मेवारीको हुँदोरहेछ । अप्रेसनअघि जब मैले छोराको अनुहार हेरें, उसका आँखामा आफ्नी आमालाई गुमाउनुपर्ने हो कि भन्ने भय स्पष्ट देखिन्थ्यो । त्यो क्षण म बिरामी मात्र थिइनँ, एउटी आमा पनि थिएँ । मैले आफ्नो आँसु लुकाएँ, किनकि आमाहरू धेरै पटक आफ्ना सन्तानलाई साहस दिन आफ्ना पीडाहरू निलेर मुस्कुराउँछन् । नारीको शक्ति यो पनि हो, उनी आफू भित्रभित्रै भाँचिएर पनि अरूलाई बलियो बन्न सिकाउँछिन् ।
बिहान ६ बजे नै रूपा र म अस्पताल पुग्यौं । हामी बीच रगतको नाता भन्दा ज्यादा संवेदनाको नाता छ । संवेदनाको नाता जहाँ र जहिले पनि थप उचाइमा हुन्छ, यो मेरो आफ्नै मूल्यांकन हो । हेटौंडामा गरिएको पहिलो परीक्षणदेखि काठमाडौंको अस्पतालका गल्लीहरूमा समेत रूपाले मेरो हात छोडिनन् । समाजले रगतको नातालाई ठूलो भन्छ, महत्व दिन्छ । तर, मनले बनाएको सम्बन्ध नै सबैभन्दा सशक्त आधार हो भन्ने मलाई मेरै जीवनले सिकायो ।
ल्याप्रोस्कोपी विधिबाट गर्ने भनिएको शल्यक्रिया सफल हुन सकेन र अन्ततः ओपन सर्जरी गर्नुपर्यो । लगभग पाँच घण्टासम्म चलेको शल्यक्रियाले मेरो शरीर मात्र चिरेन, मेरो पुरानो जीवनलाई पनि दुई भागमा बाँडिदियो— एक, रोगअघि बाँचिरहेकी म, र अर्को, मृत्युको मुखमा पुगेर फर्किएकी म । जब होश खुल्यो, मैले महसुस गरें— मानिसको जीवन कति क्षणभंगुर रहेछ । हामी भविष्यका धेरै योजना बनाउँछौं, तर समयले कहिले, कहाँ र कसरी रोकिदिन्छ भन्ने कसैलाई थाहा हुँदैन । समाजले नारीको शरीरलाई कमजोर शरीरका रूपमा हेर्छ, तर पीडा सहेर पनि फेरि उठ्न सक्ने सामर्थ्य नारीभित्र मात्र हुन्छ । बच्चा जन्माउँदा होस् वा मृत्यु जस्तै पीडादायी रोगसँग जुध्दा— नारीहरू सधैं जीवनको पक्षमा उभिएका हुन्छन् । मेरो शरीरमा लागेको टाँकाले घाउ मात्र सिएन, त्यसले मलाई अझ गहिरो चेतना दियो—जीवनको अर्थ केवल सास फेर्नु होइन, हरेक पीडाहरूलाई पैतालाले थिचेर त्यही पीडामाथि मुस्कुराउँदै उभिनु र अगाडि बढ्नु पनि रहेछ ।
सफल भनिएको शल्यक्रियापछि पनि म वास्तवमा मुक्त भएकी थिइनँ । शरीरभरिका ४० भन्दा बढी टाँकाहरू, उठ्न–बस्न समेत मेरो शरीर अन्य दुई जनाको सहारामा निर्भर भएको अवस्था र अस्पतालको निर्जीव गन्धले मलाई लगातार सम्झाइरहन्थ्यो—म अब पहिलेकी जस्ती छैन । शारीरिक पीडा त थियो नै त्योभन्दा गहिरो घाउ मनभित्र बन्दै गइरहेको थियो ।
अपरेशनको भोलिपल्ट बिहान जब म ब्युँझिएँ, मनले सबैभन्दा पहिले फुस्फुसाएको वाक्य थियो— “म बाँचेछु ।” त्यो केवल बाँचिएको घोषणा थिएन, मृत्युको अँध्यारो सुरुङबाट फर्किएर आएको चेतनाको पहिलो कम्पन पनि थियो । शरीरभरि असह्य पीडा, पेटमा परेको चिरा, चिरामा लागेका टाँकाहरू र उठ्न–बस्न समेत अरूको सहारामा निर्भर हुनुपरेको अवस्थाले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा समेत विक्षिप्त बनाएको थियो ।
जीवन एकाएक आफ्नै नियन्त्रणबाट बाहिर गएको महसुस भयो । त्यो समय मेरी आमा, भाइबुहारीहरू, छोराछोरी, भदाभदै, थोरै आफन्त र केही साथीहरूले मेरो अवस्था प्रति दिएको साथ, सहयोग र व्यवहारले औषधिले भन्दा छिट्टै र राम्रोसँग काम गर्यो । बिस्तारै मेरा घाउहरूमा खाटा बस्न खोज्दैथियो, म सकसका बीच कोठा भिक्र–बाहिर हिंड्न सक्ने हुँदै थिएँ, ठिक त्यही बेला समयले मेरो हातमा अर्को कठोर सत्य थमाइदियो ।
शल्यत्रियाको नवौं दिन बायोप्सीको रिपोर्ट आयो । मेरो ठीक अगाडि बसेर मेरै छोरो मलाई त्यो खबर सुनाइरहेको थियो । उसको काँपेको आवाज मेरा कानमा ठोक्किएलगत्तै मैले उसको अनुहार हेरें । ऊ मभन्दा बढी विचलित थियो । त्यही क्षण फेरि एकपटक म बिरामी कम, आमा बढी बनें । आफ्नो पीडाभन्दा कैयौं गुणा बढी छोराको डर, असुरक्षा र भविष्यले मलाई पोल्यो । २४ वर्ष पहिलेदेखि लगातार एकल अभिभावकको जिम्मेवारी बोकेकी मसँग अब रोएर बस्ने सुविधा थिएन । भनिन्छ नि, कुनै युद्धमा न्वारानदेखिको बल प्रयोग गर्नुपर्छ । मैले पनि जीवनमा थप अर्को पटक आफ्ना सम्पूर्ण शक्तिहरू एकैठाउँमा उभ्याएँ ।
शल्यक्रियापछि अस्पतालको शय्यामा पाँच दिन शारीरिक संघर्ष गरेपछि काठमाडौंको रानीवनस्थित ह्वाइट रुममा सरेकी मैले अब मानसिक युद्ध शुरु गर्नुपर्थ्यो । त्यो युद्ध अझ घातक थियो, किनकि त्यसका लागि म बिल्कुल तयार थिइनँ । अपरेशनको एघारौं दिन टाँका काट्न अस्पताल पुगें । डाक्टरले सामान्य परामर्श दिए, तर त्यो पर्याप्त थिएन ।
आज क्यान्सर भएको छ भन्ने थाहा पाएको लगभग सात महिना बितिसक्दा पनि मैले आवश्यक गहिराइको परामर्श पाएकी छैन । विडम्बना, म स्वयं परामर्शदाता हुँ । एचआईभी/एड्ससँग सम्बन्धित परामर्श क्षेत्रमा लामो समय काम गर्दा बिरामीको मनोविज्ञान कसरी बुझ्ने भन्ने ज्ञान र अनुभव मसँग थियो । अन्ततः मैले आफैंलाई परामर्श दिन थालें । आफूले आफैंलाई सम्झाउनु सजिलो हुँदैन, तर त्यसरी आफूलाई आफ्नै परामर्शले थाम्न सकियो भने भविष्यमा भत्किने सम्भावना कम हुँदोरहेछ ।

साथीभाइ, आफन्त र इष्टमित्रहरूले दैनिकी सहज बनाउन सक्छन्, आर्थिक सहयोग गर्न सक्छन्, तर मनभित्र दन्किरहेको ज्वारभाटा महसुस गर्न सक्दैनन् । मानिसको सबैभन्दा ठूलो युद्ध बाहिर होइन, आफ्नै छातीभित्र चलिरहेको हुन्छ । र त्यो युद्ध जित्न सबैभन्दा पहिला आफ्नै आत्मासँग हातेमालो गर्न सक्नुपर्छ ।
क्यान्सर भएको छ भन्ने खबर सुन्दा मैले पहिलो पटक आफ्नै अस्तित्वमाथि शंका गरें । मानौं त्यो रिपोर्ट अरू कसैको हो र मेरो भागमा जबरजस्ती थमाइएको छ । पत्याउन खोज्दा पनि मनले अस्वीकार गरिरह्यो । जीवनभर अरूका पीडा सुन्दै, अरूलाई साहस दिंदै हिंडेकी मानिस म, आफ्नै पीडाको अगाडि भने यतिसम्म निरीह हुनुपर्ने रहेछ भन्ने मैले त्यतिबेला महसुस गरें । लामो समयदेखि हरेक बिहान गर्दै आइरहेको शारीरिक व्यायाम, व्यालेन्स डाइट, पत्रु भनिने खानाहरूलाई गरिएको तिरस्कार आदिले मलाई जिस्काइरहेको झैं लाग्यो । नतिजा स्वीकार गर्नुको विकल्प थिएन । जसोतसो सत्य स्वीकार गर्न थालें, तर ‘मलाई क्यान्सर भएको छ’ भन्ने वाक्य उच्चारण गर्ने साहस भने जुटाउन सकिनँ ।
समाजले क्यान्सरलाई रोगका रूपमा मात्र नभएर एक प्रकारले जीवनको अन्तिम क्षणको दृष्टिले हेर्ने गरेकोले मलाई झन् मौन बनाएको थियो । मानिसहरूलाई क्यान्सरले भन्दा पहिले डरले हराउँछ भन्ने कुरा मैले आफ्नै अनुभवबाट बुझ्दै थिएँ ।
ओम हस्पिटलबाट टाँका काटेर फर्कंदा डा. जागेश्वर गौतमले भनेका थिए— “समयमै उपचार शुरु गर्नु ।” तर उपचार शुरु गर्नुभन्दा पहिले मैले आफ्नो मनलाई तयार पार्नुपर्ने थियो । शरीरको घाउभन्दा गहिरो घाउ मनमा लागेको थियो । म आफूलाई सम्झाउँदै थिएँ— यदि मलाई बाँच्नु छ भने अब डर होइन, साहस रोज्नुपर्छ । केही समयपछि मैले आफ्नै मनसँग सम्झौता गरें । मृत्युको सम्भावनालाई स्वीकार गरेपछि माक्रै जीवनसँग लड्ने शत्ति जन्मिंदोरहेछ ।
कमजोर शरीर लिएर म थप उपचारका लागि चितवनको भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगें । डाक्टरले इन्डोस्कोपी, कोलोनोस्कोपी, इको लगायत अनेकौं परीक्षण गरे । ती सबै प्रक्रिया मेरा लागि असाध्यै कठिन रहे । प्रत्येक परीक्षणले शरीरलाई मात्र होइन, मनलाई समेत थकित बनाइरहेको थियो । कहिलेकाहीं लाग्थ्यो— मानिसको शरीरभन्दा धेरै उसको धैर्यको परीक्षा लिइँदोरहेछ । परीक्षणका नतिजा सामान्य आए पनि क्यान्सर विशेषज्ञका अनुसार मेरो शरीरलाई ६ साइकल किमोथेरापी आवश्यक थियो ।
मंसिर २९ गते शुरु भएको किमोथेरापी हरेक २१ दिनको अन्तरमा चढ्दै जाँदा चैत २२ गते समाप्त भयो । त्यो अवधिमा मेरो कपाल झर्यो, आँखीभुइँ र परेला हराए, स्वाद भाग्यो, शरीर गल्दै गयो, हातखुट्टा पोल्ने र झमझमाउने पीडा बढ्दै गयो, तर मेरो बाँच्ने इच्छा भने झन् बलियो बन्दै गयो । मैले महसुस गरें— क्यान्सरले शरीरलाई कमजोर बनाउन सक्छ, तर आत्मबललाई हराउन सक्दैन ।
यो यात्राले मलाई जीवनको गहिरो दर्शन सिकाएको छ । मानिस वास्तवमा तब परिपक्व हुन्छ जब ऊ आफ्नै असुरक्षासँग सामना गर्छ । पीडाले मानिसलाई केवल रुवाउँदैन, उसलाई अरूको दुःख देख्ने आँखा र पीडा बुझ्ने मन समेत दिन्छ । आज म बुझ्छु— जीवनको सुन्दरता केवल स्वस्थ दिनहरूमा हुँदैन, कठिन समयलाई पार गर्ने साहसमा पनि हुन्छ । मृत्युको छायाँ नजिकै देखेपछि मैले जीवनलाई अझ गहिरोसँग प्रेम गर्न सिकेकी छु ।
केहीदिन पहिले मुनु सिग्देल दिदीले भन्नुभएको थियो, “शान्ति, तिमीले कति धेरै मान्छे बनाएर राख्न सकेकी रहिछ्यौ !”
त्यसबेला मैले गहिरोसँग महसुस गरें— सबै मानिसहरू केवल सुखका दिनका साथी हुँदारहेनछन् । केही सम्बन्धहरूले रोगले थिचेका, जीवन र मृत्युसँग सङ्घर्ष गरिरहेका दिनहरूमा पनि आफ्नो वास्तविक अनुहार कायम राख्दा रहेछन् । क्यान्सरसँग जुधिरहेका मेरा दिनहरूमा मैले कहिल्यै कल्पना समेत नगरेका व्यक्तिहरूबाट साथ, सहयोग, शुभकामना र आशिष पाएँ । कतिपय अपरिचित मानिसहरू समेत मेरा लागि आफ्ना बनेर उभिए । तर यही यात्राले सम्बन्धहरूको अर्को कठोर सत्य पनि देखायो ।
जब म बिरामी भएँ, शरीरले साथ छोड्न थाल्यो, आर्थिक अवस्था कमजोर बन्दै गयो, तब ‘बहिनी’ भन्ने दाइदिदीहरू, ‘साथ’ भन्ने साथीहरू, ‘दिदी’ भन्ने केही भाइबहिनीहरू बिस्तारै हराउँदै गए । सामाजिक सञ्जालमा म अनलाइन देखिंदा दिनरात ‘हाइ, हेल्लो’ र इमोजी पठाउनेहरूले पनि बाटो बदल्न थाले । त्यसबेला बुझें— केही सम्बन्धहरू शब्दले होइन, संकटले चिनाउँछ । दुःखले मानिसलाई केवल कमजोर बनाउँदैन, वरिपरिको सत्य देख्ने आँखा पनि बनाइदिन्छ । मेरो जीवनमा त्यही भयो ।

पहिलो पटक किमो लगाउन भरतपुरको क्यान्सर अस्पताल पुगेकी म डे–केयर सेन्टरमा मृत्युसँग संघर्ष गरिरहेका अनुहारहरू हेरेर स्तब्ध भएँ । पाँच वर्षभन्दा कम उमेरका नानीबाबुहरू समेत किमो बगिरहेको क्यानुलासँग जुधिरहेको दृश्यले मेरो छाती चरक्क बनायो ।
किमो शुरु हुनुअघि नर्सहरूले कपाल झर्ने कुरा बताएका थिए । त्यो सामान्य चिकित्सकीय सूचना थियो, तर एक महिलाको जीवनमा त्यो ‘कपाल झर्नु’ मात्र हुँदैन । पितृसत्ताले नारीको सुन्दरताको मापन नै लामो, बाक्लो र कालो कपालबाट गर्छ । छोरी जन्मिएदेखि नै आमाहरूले तेल हालेर, गुँथेर, स्याहार गरेर कपाललाई नारीत्वको प्रतीक बनाइदिन्छन् । मेरा आमा र हजुरआमाले पनि त्यसै गर्नुभएको थियो ।
हाम्रो घरमा छोरी–बुहारीलाई कपाल काट्ने छुट थिएन । मानौं कपाल केवल शरीरको अंग होइन, संस्कारको अनुशासन हो । तर जब म आफ्नै निर्णयको मालिक भएँ, कहिले लामो त कहिले छोटो कपाल राखें । किनकि आफ्नो इच्छाले गरेको परिवर्तन स्वतन्त्रता हो, तर अरूको दबाबमा गरिएको त्यही परिवर्तन बन्धन बन्छ । क्यान्सरले मलाई त्यही बन्धनको बीचमा ल्याइदियो । मलाई थाहा थियो— अब मेरो कपाल झर्नेछ, आँखीभुईं र परेला हराउनेछन्, ऐनामा देखिने मेरो अनुहार समाजले ‘सुन्दर’ भनेको स्वरूपबाट अलग हुनेछ ।
एकदिन घाममा बसेर आफैंले कपाल कोर्दा थाहा पाएँ—मेरो कपाल झर्न थालिसकेको रहेछ । मैले कमलालाई भनें, “नानी, मेरो त कपाल झर्न थालेछ नि !” उसले मलिन स्वरमा उत्तर दिई, “हिजोअस्ति पनि झरेको थियो दिदी, तपाईंले थाहा नपाउनुहोस् भनेर मैले मेरो स्वेटरको गोजीमा खाँदेको ।” त्यो क्षण केवल कपाल झरेको क्षण थिएन, त्यो प्रेमले पीडा लुकाउन खोजेको क्षण थियो ।
त्यसैदिन मैले मेरो जेठो भाइ माधवलाई कपाल सिनित्त पारिदिन भनें । कपाल सिनित्त पारेपछि उसले मेरो हातमा एकसय रुपैयाँको नोट थमाइदियो र भन्यो “दिदी रुन्छे भनेर मैले उल्टो चलनको सुरुवात गरेको हुँ ।” उसले गरेको यो हर्कत मेरो मुहारमा मुस्कान ल्याउनको लागि थियो त्यो मैले बुझेकी थिएँ । मेरो हुलिया देखेर मेरी आमाले तुरुक्क आँसु झारिन् र हत्तपत्त पुछिन् । म भने रोइनँ । बरु हल्का भएँ । अब मलाई मेरा कपालहरू ओछ्यानमा टाँसिन्छन् र भान्सामा झर्छन् भन्ने डर रहेन । ऐनामा टल्किएको मेरो खाली टाउकोले मलाई एउटा गहिरो प्रश्न सोध्यो—फेरि उम्रिने चीजलाई हामी किन यति धेरै महत्व दिन्छौं ?
कपाल खुइल्याएर हल्का महसुस भएपछि मैले अनुमान लगाएँ शायद हल्का हुने कारणले नै होला सम्बन्ध टुट्दा मानिसहरू कपाल काट्छन् । उनीहरू केवल कपाल फ्याँकिरहेका हुँदैनन्, सम्झनाको बोझ, नियन्त्रणको पीडा र आफूभित्रको पराधीनता फ्याँकिरहेका हुन्छन् । क्यान्सरले मेरो कपाल खोस्यो, तर त्यससँगै उसले समाजले मेरो शरीरमाथि बनाएको मिथ्या परिभाषा पनि खोस्यो । आज मलाई लाग्छ— कपाल फेरि उम्रिन्छ, तर समय, विश्वास र केही सम्बन्धहरू कहिल्यै पलाएर फर्किंदैनन् । त्यसैले जीवनमा सबैभन्दा धेरै स्याहार गर्नुपर्ने कुरा हाम्रो कपाल होइन, हाम्रो चेतना र आत्मसम्मान रहेछन् ।
म घुमिरहने, हिंडिरहने मान्छे । बाटो, यात्रा र भेटघाटमै आफूलाई जीवित महसुस गर्ने म, अहिले आफ्नै घरभित्र कैद भएको सात महिना पुग्यो । उपचारका क्रममा अस्पतालसम्म पुगें, तर यो पीडाभित्रको लामो समय यही चार भित्ताभित्र बित्यो । अनौठो के भयो भने, यही बन्द कोठाले मलाई मानिसहरूलाई नयाँ ढंगले चिन्न सिकायो ।
पूर्ण रूपमा हेटौंडा बसेको पन्ध्र वर्ष भयो । ती पन्ध्र वर्ष एकातिर राख्ने हो भने, पछिल्ला सात महिनाले मलाई मानिसहरूको व्यवहार, सम्बन्ध र संवेदनाको वास्तविक अनुहार धेरै देखायो ।
जीवनमा कहिल्यै धेरै समय सँगै नबिताएका साथीहरू मेरो घर आए । आफन्तहरू आए । मैले मेरा थोरै अनुभव सुनाएँ, उनीहरूले आफ्ना धेरै कथा सुनाए । तर यो समय मेरा केही मौन अपेक्षाहरू पनि थिए । म चाहन्थें, कसैले मेरो चिल्लो तालु, झरेका आँखीभुइँ र परेला, फुलेको अनुहारबारे धेरै चासो नदेखाउन् ।
म चाहन्थें, क्यान्सरसँग हारेर बिस्तारै मरेका मानिसहरूको कथा नभई, क्यान्सर जितेर बाँचेका मानिसहरूको प्रसङ्ग सुनियोस् । तर धेरैजसोले मृत्युका कथाहरू नै बोकेर आए । “तीन महिनामै सकिएछ”, “कपाल झरेछ नि !”, “स्वास्नी मान्छेलाई त लामो बाक्लो कपाल नै सुहाउँछ” भन्ने वाक्यहरू सहज रूपमा उच्चारण भए । कसैले “टाउको छोप्नुस् त, म हेर्न सक्दिनँ” भने, कसैले “मुडुलो टाउको पनि सुहाउँदो रहेछ” भनेर सान्त्वना दिन खोजे ।
यी शब्दहरूले मलाई दुःखी मात्र बनाएनन्, मानिसहरूको चेतनाको तह पनि देखाए । म पहिले बडी सेमिङले सजिलै चित्त दुखाउने मान्छे थिइनँ । तर बिरामी अवस्थामा शरीरमाथिका टिप्पणीहरू मनभित्र गहिरो गरी बिझ्दा रहेछन् । यही समयमा मैले बुझें— मानिस बिरामी हुँदा औषधिभन्दा धेरै संवेदनशील व्यवहारको आवश्यकता पर्दोरहेछ । छोटाछोटा वाक्यहरूले घाउ बल्झाइदिंदा रहेछन्, र सानै आत्मीयताले पनि बाँच्ने शक्ति दिंदोरहेछ ।
क्यान्सरसँगको कठिन यात्रामा मेरो छोराले र केही नजिकका साथीहरूले मलाई कहिल्यै बिरामी जस्तो व्यवहार गरेनन् । धेरै दिनसम्म मेरो फोन बन्द रहँदा वा नउठ्दा पनि हालखबर सोध्नेहरूलाई छोराले शान्त स्वरमा भन्थ्यो, “आमा ठिक हुनुहुन्छ, सामान्य अपरेशन भएको हो । आराम गर्दै हुनुहुन्छ ।” उसका ती शब्दहरूले मलाई रोगभन्दा माथि उठेर बाँच्ने शक्ति दियो ।
किमो चलिरहेकै समयमा पनि मैले फूलका बिरुवा किन्न, रोप्न, गोड्न र पानी हाल्न छोडिनँ । ती साना बिरुवाहरू पनि त जीवन नै थिए । तिनलाई हुर्काउँदै गर्दा मैले आफ्नै जीवनलाई फेरि हरियो बनाउन सिकें । साथीहरू अहिले भन्छन्, “तिम्रो ऊर्जा देखेर तिमीलाई क्यान्सर भएको जस्तो लाग्दैनथ्यो ।” केही छिमेकी, आफन्त र साथीहरूले आफ्नै करेसाबारीमा फलाएका विषादीरहित तरकारी, अन्न र फलफूल ल्याइदिए । मैले त्यही बेला थप बुझें— मानिस औषधिले मात्र होइन, आत्मीयता, विश्वास र प्रेमले पनि बाँच्दोरहेछ ।
उपचारको क्रममा मैले पटक–पटक सरकारी र निजी अस्पतालका ढोकाढोका चहारें । ती यात्राहरूले मलाई एउटा गहिरो यथार्थ बुझायो—अस्पताल उपचार गर्ने स्थान मात्र रहेनछ, त्यहाँ बिरामीको मनोविज्ञानको पनि उपचार भइरहेको हुन्छ । मेरा अनुभवले के भन्छ भने सरकारी अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीहरूको तुलनामा निजी अस्पतालका स्वास्थ्यकर्मीहरू बिरामीप्रति बढी संवेदनशील र आत्मीय देखिए । उनीहरू मिठो बोल्थे, बिरामीलाई देख्नेबित्तिकै मुस्कान सहित स्वागत गर्थे । बिरामीका अगाडि एकअर्कामाथि आरोप–प्रत्यारोप गर्दैनथे । अस्पतालको ढोकाबाट भित्र छिरिसकेका बिरामी र कुरुवालाई सकेसम्म गुनासो गर्नुपर्ने अवस्था नआओस् भन्ने प्रयास उनीहरूको व्यवहारमै झल्किन्थ्यो ।
सरकारी अस्पतालमा भने मैले फरक दृश्यहरू देखें । बिरामीकै अगाडि कर्मचारीहरू बीच दोषारोपण हुने, बिरामीको व्यक्तिगत हिस्ट्री समेत खुला रूपमा साझा गरिने अवस्थाले मनलाई थप असुरक्षित बनाउँथ्यो । एउटा बिरामीको अगाडि अर्को बिरामीको पीडा, जटिलता वा मृत्युका सम्भावनाबारे डाक्टरहरू बीच छलफल हुँदा त्यो सुनिरहेका बिरामीको मनमा कस्ता–कस्ता भय, आशंका र निराशाका तरङ्ग उठ्छन् भन्ने संवेदनशीलता कमै देखिन्थ्यो ।
बिरामी शरीरले मात्र थाकेका हुँदैनन्, उनीहरू मानसिक रूपमा समेत अत्यन्त कमजोर अवस्थामा पुगेका हुन्छन् । त्यसैले अस्पतालको वातावरण, स्वास्थ्यकर्मीको भाषा, अनुहारको भाव र व्यवहारले समेत उपचारमा गहिरो प्रभाव पारिरहेको हुन्छ । कहिलेकाहीं एउटा आत्मीय शब्द, एउटा सम्मानपूर्ण व्यवहार वा एउटा सानो मुस्कानले औषधिभन्दा ठूलो काम गरिदिन्छ । स्वास्थ्य सेवा केवल प्रविधि र औषधिको विषय होइन, यो मानवीय संवेदना र विश्वासको समेत प्रश्न हो ।
युद्धभूमिमा उभिएको सिपाहीले बन्दुक समाउँदा हारको कल्पना गर्दैन । ऊसँग एउटा विश्वास हुन्छ— ‘म बाँच्छु, म जित्छु ।’ आज म पनि त्यही विश्वास बोकेर क्यान्सरसँग लडिरहेकी छु । विगत सात महिनादेखि मेरो शरीरभित्र एउटा अदृश्य युद्ध चलिरहेको छ । कहिले औषधिका गन्धले सास भारी हुन्छ, कहिले किमोको कारण हातखुट्टा झमझमाउँछन्, कहिले ऐनाले आफ्नै बदलिएको अनुहार देखाउँछ । तर म कमजोर भएकी छैन, म फेरि आफूलाई नयाँ ढंगले चिनिरहेकी छु ।
समाजले नारीलाई सधैं सहने पात्र बनायो— पीडा लुकाएर मुस्कुराउन सिकायो । तर मैले बुझें, नारी हुनु भनेको चुपचाप सहनु मात्र होइन, आफ्नो अस्तित्वका लागि निर्भीक उभिनु पनि हो । मेरो कपाल सिनित्त पारेर काटेको दिन मैले सौन्दर्य गुमाइनँ, बरु आत्मविश्वासको नयाँ रूप पाएँ । मेरो शरीर थाकेको होला, तर मेरो चेतना अझ बलियो बनेको छ । क्यान्सरले मलाई मृत्युको डरभन्दा पनि जीवनको मूल्य सिकायो । अब म हरेक बिहानलाई जितको सुरुवात ठान्छु । म केवल रोगसँग लडिरहेकी बिरामी होइन, आफ्नै अस्तित्व, आत्मसम्मान र सपनाको रक्षा गरिरहेकी एक योद्धा नारी हुँ । मलाई थाहा छ— यो युद्धको अन्त्य मेरो विजयसँगै हुनेछ ।
यो कठिन यात्राले मलाई दुनियाँभन्दा बढी आफ्नै आत्मासँग भेट गरायो । जीवनको सबैभन्दा कठिन घडीमा मानिसले सबैभन्दा पहिला आफ्नै काँध समात्न सिक्नुपर्दो रहेछ भन्ने मैले गहिराइमा बुझें । मेरो असहज अवस्थाबारे चासो राख्दै घरसम्म आउने, फोन गरेर स्वास्थ्य लाभको कामना गर्ने, आर्थिक रूपमा सहयोग गर्ने धेरै मानिसप्रति म सदैव कृतज्ञ रहनेछु । बोल्नै गाह्रो हुँदा पनि मैले आफ्ना भोगाइहरू सुनाएँ, किनभने उनीहरूको उपस्थितिमा माया र मानवीयता थियो । तर यही यात्राले समाजको अर्को अनुहार पनि देखायो- जहाँ सहयोगीभन्दा सल्लाहकार धेरै भेटिन्छन् ।

कतिपयले मलाई देख्नेबित्तिकै “ठिक त हुन्छ नि ? अब छोराको बिहे गरिदेऊ” भने । केही शिक्षित भनिएका मानिसहरू बारम्बार “सन्चो भयो ?” भन्दै चिच्याइरहे, मानौं क्यान्सर कुनै सामान्य रुघाखोकी हो । अझ “पाठेघर निकालेको हो ?” भन्ने प्रश्नले भने मलाई गहिरो रूपमा झस्कायो । त्यतिबेला मैले महसुस गरें— हाम्रो समाज अझै महिलाको अस्तित्वलाई उसको शरीर, प्रजनन क्षमता र पारिवारिक भूमिकासँग मात्रै जोडेर हेर्छ । मेरा लागि क्यान्सर शरीरको मात्र लडाइँ थिएन, यो समाजको संवेदनहीन दृष्टिकोणसँगको संघर्ष पनि थियो । तर यही संघर्षले मलाई अझ दृढ बनायो । अब म आफूलाई केवल बिरामीका रूपमा होइन, आफ्नो अस्तित्व र सम्मानका लागि उभिएकी सचेत महिलाका रूपमा चिन्ने भएकी छु ।
अहिले फर्केर हेर्दा मलाई लाग्छ— क्यान्सरले मेरो शरीरलाई मात्र होइन, मेरो सोच, सम्बन्ध र जीवन हेर्ने दृष्टिलाई पनि नयाँ जन्म दियो । म शून्यमा पुगें, तर त्यही शून्यबाट फेरि आफूलाई निर्माण गर्न सिक्दैछु । कहिलेकाहीं जीवनले मानिसलाई सबैभन्दा अँध्यारो ठाउँमा पुर्याउँछ, ताकि उसले आफूभित्रको उज्यालो चिन्न सकोस् । मेरा झरेका कपाल, शरीरका टाँका, निद्राविहीन रातहरू र मनभित्रका भयहरू अब पीडाका स्मृति मात्र होइनन्, ती मेरा पुनर्जन्मका साक्षी हुन् ।
आज म ऐनामा केवल एउटा बिरामी शरीर देख्दिनँ । म त्यहाँ संघर्षबाट परिपक्व भएकी एउटी सचेत नारी देख्छु, जसले पीडालाई कमजोरी होइन, चेतनामा रूपान्तरण गरेकी छ । जीवनले मलाई अझै कति परीक्षा लिने हो थाहा छैन, तर अब म डराएर होइन, दृढ भएर बाँच्न चाहन्छु । मैले बुझें जीवन भनेको मृत्युको प्रतीक्षा होइन— हरेक चोट, हार र अँध्यारोपछि पनि फेरि उठेर उज्यालोतर्फ हिंडिरहन सक्ने साहस हो ।
प्रतिक्रिया 4