२ असार, काठमाडौं । चालु आर्थिक वर्ष कोशी प्रदेशमा चिया तथा कफी उत्पादन बढेको छ ।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कोशीमा चिया ०.९ र कफी उत्पादन १७.६ प्रतिशतले बढेको हो ।
राष्ट बैंकको चालु आवको अर्धवार्षिक प्रतिवेदन अनुसार कोशी प्रदेशको समग्र कृषि बाली उत्पादन ४.४ प्रतिशत घटेको छ । गत आव सोही अवधिमा यस्तो उत्पादन ७ प्रतिशतले बढेको थियो ।
खाद्य, नगदे तथा अन्य बाली उत्पादनमा धान ४ प्रतिशतले घटेको छ भने मकै ०.३, गहुँ २.५, कोदो ०.३, जौ १३.७, फापर २.५१ र आलु २ प्रतिशतले बढेको छ ।
त्यसैगरी तरकारीे उत्पादन ६.४ प्रतिशत, फलफूल २.६ र मसला उत्पादन ११.८ प्रतिशतले घटेको छ ।
यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३९.८ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने गत आव सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ४०.८ प्रतिशत थियो ।
चालु आव पुससम्म कोशीमा दूध १.९ प्रतिशत र माछा उत्पादन १६.५ प्रतिशतले बढेको छ भने मासु उत्पादन ५.१, अन्डा १८.५ र ऊन उत्पादन ०.४ प्रतिशतले घटेको छ ।
चालु आव कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आव आर्थिक वृद्धिदर २.७२ प्रतिशत रहेको संशोधित अनुमान छ ।
२०८२/८३ मा कोशीको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: ३२.४७ प्रतिशत, १७.६७ र ४९.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
चालु आव पहिलो ६ महिनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.७ प्रतिशत घटेको छ भने गत वर्ष सोही अवधिमा ३.४ प्रतिशत घटेको थियो ।
त्यसैगरी समग्र कृषि बालीले ढाकेको कुल क्षेत्रफलमध्ये धान २ प्रतिशत, आलु १, सनपाट २८.४, दलहन ०.३ र तरकारी तथा बागवानी ३.७ प्रतिशतले घटेको छ भने मकै ०.३, गहुँ र कोदो ०.२, जौ ११.२, फापर २.५, फलफूल २.२, मसला ०.९, चिया ५.१ र कफी १४.४ प्रतिशतले बढेको छ ।
त्यस्तै काठ उत्पादन १ करोड ५ लाख ७४ हजार ५२ क्युबिक फिट छ । यो गत आव सोही अवधिको तुलनामा ११.२ प्रतिशत कम हो ।
२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २ प्रतिशतले कमी भई ५५ अर्ब १६ करोड ८४ लाखमा सीमित भएको छ ।
आव २०८२/८३ पहिलो ६ महिनामा यस प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४२.९ प्रतिशत छ । गत आव सोही अवधिमा उक्त उद्योगको औसत क्षमता उपयोग ४८.६ प्रतिशत थियो ।
उत्पादित वस्तु अनुसार चालु आव सोही अवधिमा भटमास तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९९.५ प्रतिशत छ भने वनस्पति घिउ र घरेलु धातुका सामान उत्पादन गर्ने उद्योग क्षमता उपयोग सबैभन्दा कम ४.३ प्रतिशत छ ।
भटमास तेल उत्पादन सबैभन्दा बढी २०९.६ प्रतिशत बढेको छ भने जीआई तार उत्पादन सबैभन्दा बढी ६३ं.९ प्रतिशत घटेको छ । चालु आव पहिलो ६ महिनामा यस क्षेत्रका उद्योगमा कुल १७ हजार ९ सय ५३ जनाले रोजगारी प्राप्त गरेका छन् । यो संख्या गत आव सोही अवधिको तुलनामा ३.४ प्रतिशत बढी हो ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल औद्योगिक कर्जा १ खर्ब ६४ अर्ब ५ करोड छ, जुन यस प्रदेशमा प्रवाहित कुल कर्जाको २६.८ प्रतिशत हो ।
२०८२ पुस मसान्तसम्म यस प्रदेशमा वाणिज्य बैंकका ७ सय ६४, विकास बैंकका १ सय ९४, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८ सय ५६ गरी बैंक तथा वित्तीय संस्थाका कुल १ हजार ८ सय ५० शाखा पुगेका छन् ।
२०८२ असार मसान्तको तुलनामा २०८२ पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.१ प्रतिशतले वृद्धि भई ५ खर्ब ८१ अर्ब २४ करोड पुगेको तथा कुल कर्जा प्रवाह ०.३ प्रतिशतले कमी भई ६ खर्ब ११ अर्ब ६४ करोड पुगेको छ ।
२०८१ पुस मसान्तमा कोशीमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १ सय १९ प्रतिशत रहेकोमा २०८२ पुस मसान्तमा यस्तो अनुपात १०५.१ प्रतिशत छ ।
प्रतिक्रिया 4