News Summary
Generated by OK AI. Editorially reviewed.- दुर्लभ मेलानोमा क्यान्सर पीडित शान्ति थामी पाटन अस्पतालमा ४ साइकल इम्युनोथेरापीपछि क्यान्सरमुक्त भएकी छिन्।
लामो समयदेखि थाइराइड, कम्मर दुखाइ र विभिन्न स्वास्थ्य समस्या भोगिरहेकी शान्ति थामीको दैनिकी संघर्षपूर्ण नै बितिरहेको थियो । त्यसै क्रममा करिब एक वर्षअघि उनको खुट्टाको कुर्कुच्चामा सानो कालो दाग देखापर्यो ।
सुरुमा उनले यसलाई सामान्य घाउ, एलर्जी वा चोट ठानेर घरेलु उपचार गरिन् । तर दाग बढ्दै गयो, घाउ बन्यो, सुन्नियो र दुख्न थाल्यो ।
समस्या जटिल बन्दै गएपछि परिवारले वीर अस्पताल पुर्यायो । त्यहाँबाट थाइराइड विशेषज्ञ, छाला रोग विशेषज्ञ हुँदै प्लास्टिक सर्जरी विभागमा पुगिन् । धेरै जाँच, परामर्श र अनिश्चय पछि भदौतिर पहिलो बायोप्सी भयो ।
२०८२ असोज (दशैंको टीकाको भोलिपल्ट) उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि सुरु भयो शल्यक्रियाको लामो श्रृंखला । असोजदेखि मंसिरसम्म ३ महिनाभित्रै ५ वटा ठूला शल्यक्रिया भए । खुट्टाको कुर्कुच्चा, पिँडौला र अन्य भागबाट बारम्बार घाउ काटियो । एक पटक संक्रमण भयो, अर्को पटक निको हुन ढिलाइ भयो । परिवारले ३ लाखभन्दा बढी खर्च गर्यो, तर स्पष्ट निदान पाउन सकेनन् ।
५औं शल्यक्रियापछि मात्र डाक्टरले परिवारलाई बोलाएर भने– ‘यो मेलानोमा हो, निकै दुर्लभ र आक्रामक प्रकारको क्यान्सर ।’
यो क्यान्सर यति खतरनाक थियो कि छिटो फैलिन्थ्यो, शरीरका अन्य अंगमा हमला गर्थ्यो र सामान्य उपचारले सजिलै नियन्त्रण हुँदैनथ्यो । धेरै ठाउँमा ‘उपचार सम्भव छैन’, ‘जीवन छोटो छ’ जस्ता नकारात्मक कुरा सुन्नुपरेको थियो परिवारले ।
आशाको नयाँ किरण : इम्युनोथेरापी
वीर अस्पतालबाट निराश भएर फर्किएको यो परिवारले अन्तिम आशा पाटन अस्पतालमा पाए । त्यहाँ डा. अरुण शाही लगायत क्यान्सर विशेषज्ञ टिमले उनलाई इम्युनोथेरापी उपचारमा राख्ने निर्णय गरे । बंगलादेशमा उत्पादित तर नेपालमा स्वीकृत औषधि प्रयोगमा ल्याइयो ।
हालसम्म ४ साइकल इम्युनोथेरापी पूरा भइसकेको छ । वैशाख १५ गते चौथो साइकल लगाइएको थियो । उपचार प्रत्येक २१ दिनमा चल्ने र कुल २ वर्षसम्म निरन्तरता दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । प्रत्येक ३ साइकलपछि पेट स्क्यान गरिन्छ ।

पछिल्लो पेट स्क्यान रिपोर्ट आएपछि परिवारमा खुसीको सञ्चार भयो । शान्तिको शरीरमा क्यान्सर देखिएन । चिकित्सकहरूले ‘क्यान्सर फ्री’ अवस्थाको संकेत गरे । खुट्टाको पुरानो घाउ निको हुँदै गएको छ, सुन्निने समस्या घटेको छ र स्वास्थ्य अवस्था बिस्तारै सुधार हुँदै गएको छ।
क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाहीले यो परिणामलाई ‘मेडिकल मिराकल’ भनेका छन् । उनी भन्छन् ‘दुर्लभ र आक्रामक क्यान्सरमा यति छोटो समयमा यस्तो उत्कृष्ट प्रतिक्रिया विरलै देखिन्छ ।’
आर्थिक संघर्ष उस्तै
शान्तिको यो यात्रा केवल चिकित्सकीय होइन, आर्थिक र भावनात्मक लडाइँ पनि हो । एउटा साइकल इम्युनोथेरापीको खर्च ३ लाख ६० हजारदेखि ४ लाख रुपैयाँसम्म पर्छ । परिवारको मासिक आम्दानी जम्मा ४० हजार पनि छैन ।
ऋण काढेर, आफन्तबाट सहयोग मागेर, विदेशमा रहेका आफन्तहरूको सहाराले उपचार चलाइएको छ । आमाको उपचारकै लागि शान्ति थामीका छोरीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । परिवारका एक सदस्य भन्छन्, ‘दिदी बहिनीहरू विदेश गएको पीडा पनि यो उपचारकै कारण हो ।’
केही सहुलीयत पाए पनि आगामी साइकलहरूको चिन्ता अझै कायम छ ।
प्रेरणादायी सन्देश
शान्ति थामीको यो कथा हार नमान्ने, आशा नछोड्ने र लडिरहने हरेक नेपालीका लागि उदाहरण बनेको छ । यो सफलताले दुई ठूला सन्देश दिएको छ । पहिलो– नेपालमै आधुनिक उपचार सम्भव छ, विदेश जानुअघि स्थानीय विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
दोस्रो– क्यान्सरको उपचारमा ढिलो पहिचान र नकारात्मक परामर्श ठूलो समस्या हो । चिकित्सकहरूले आशा जगाउने परामर्श दिनुपर्छ ।
शान्तिको यो यात्राले स्पष्ट प्रमाणित गर्छ कि क्यान्सर भनेको अन्त्य होइन, नयाँ सुरुवात हुन सक्छ । सही समयमा सही उपचार, दृढ इच्छाशक्ति र परिवारको साथ भएपछि जित्न सम्भव हुन्छ । ढिलो पहिचानले समस्या ठूलो बनाउँछ तर सही चिकित्सक र आधुनिक उपचारले जीवन फर्काउन सक्छ ।
नकारात्मक कुरा सुनेर आशा तोड्नु हुँदैन किनकि चिकित्सा विज्ञानले हरेक दिन नयाँ सम्भावना खोलिरहेको छ । शारीरिक पीडाभन्दा ठूलो मानसिक शक्ति हुन्छ भन्ने कुरा शान्तिले ५ वटा शल्यक्रिया, संक्रमण र अनिश्चितताको बीचमा पनि प्रमाणित गरेकी छिन् ।
सरकार र समाजलाई आह्वान
यो एउटा परिवारको व्यक्तिगत संघर्ष मात्र होइन, यो समग्र नेपाली समाज र सरकारका लागि ठूलो आह्वान पनि हो । सरकारले इम्युनोथेरापी लगायत आधुनिक क्यान्सर औषधिमा तत्काल कर छुट दिने, मूल्य नियन्त्रण गर्ने र स्वास्थ्य बीमामा समावेश गर्नुपर्ने डा. अरुण शाहीको सुझाव छ ।
‘यस्ता महँगा औषधिका लागि विशेष सहुलीयत कोष र सहुलीयतपूर्ण ऋणको व्यवस्था गर्नुपर्छ’ डा. शाही भन्छन्, ‘साथै नेपालमै क्यान्सर औषधि उत्पादन गर्न स्थानीय औषधि उद्योगलाई प्रोत्साहन र प्राविधिक सहयोग दिनुपर्छ ।’
यसले औषधिको मूल्य घटाउनुका साथै रोजगारी सिर्जना गर्ने र दक्ष जनशक्ति विदेश पलायनबाट हुनेबाट समेत जोगाउने बुझाइ डा. शाहीको छ ।

सबै सरकारी अस्पतालमा क्यान्सर उपचार केन्द्रको क्षमता विस्तार गरी ग्रामीण क्षेत्रसम्म पहुँच पुर्याउनु पनि अत्यावश्यक रहेको उनी बताउँछन् । सरकारले इम्युनोथेरापी जस्ता आधुनिक उपचार पद्धतिलाई सर्वसुलभ बनायो भने आर्थिक अवस्था कमजोर भएका बिरामीको पनि जीवन जोगाउन सकिने डा. शाहीको भनाइ छ ।
उनका अनुसार यसमा समाजका सबै तहबाट सहयोग आवश्यक छ । क्यान्सर बिरामी र उनीहरूको परिवारलाई अनावश्यक डर देखाउनु हुँदैन । आर्थिक रूपमा कमजोर परिवारलाई व्यक्तिगत, सामाजिक, संघसंस्थाहरूले पनि सहयोग गर्न सक्छन् ।
शान्ति थामी अहिले पनि उपचारको क्रममा छिन् । उनी पूर्णरूपमा निको भएर परिवारसँग फर्किने दिनको सपना देखिरहेकी छिन् ।
प्रतिक्रिया 4