News Summary
Generated by OK AI. Editorially reviewed.- न्युबर्न स्क्रिनिङ नवजात शिशुमा जन्मजात रोगहरू लक्षण देखिनुअघि पत्ता लगाउन गरिने परीक्षण हो जसले समयमै उपचार सम्भव बनाउँछ।
- नेपालमा न्युबर्न स्क्रिनिङ सबै अस्पतालमा अनिवार्य नभए पनि केही सरकारी र निजी अस्पतालहरूले सेवा उपलब्ध गराइरहेका छन्।
- जन्मजात हाइपोथाइरोइडिज्म, सिस्टिक फाइब्रोसिस, फिनाइलकिटोनुरिया लगायत रोगहरू न्युबर्न स्क्रिनिङबाट पत्ता लगाउन सकिन्छ र समयमै उपचार सुरु गर्न सकिन्छ।
आमाबाबुको एउटै चाहना हुन्छ, ‘आफ्नो बच्चा स्वस्थ, बुद्धिमान र सुखी जीवन बाँचोस् ।’
तर सबै बच्चा जन्मिँदा पूर्ण रूपमा स्वस्थ देखिए पनि केही बच्चामा भने शरीरभित्र केही जन्मजात रोगहरू लुकेका हुन सक्छन् ।
यस्ता रोगहरू छन् भने सुरुवाती अवस्थामा बाहिरबाट देखिँदैनन् । बच्चा सामान्य रूपमा दूध खाइरहेको, सुतिरहेको र खेलिरहेको देखिन सक्छ । तर केही हप्ता, केही महिना वा कहिलेकाहीँ केही वर्षपछि मात्रै ती रोगका लक्षणहरू देखापर्न थाल्छन् ।
रोगको लक्षण स्पष्ट रूपमा देखिने बेलासम्म बच्चाको मस्तिष्क, शरीर, वृद्धि र विकासमा गम्भीर असर परिसकेको हुन सक्छ । कतिपय अवस्थामा बच्चा जीवनभर अरूमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। केही रोगले त बच्चाको ज्यानसमेत लिन सक्छ ।
यही कारणले आधुनिक चिकित्सा विज्ञानले ‘न्यूबर्न स्क्रिनिङ’ भन्ने अवधारणा ल्याएको हो । यो यस्तो परीक्षण हो जसले बच्चामा रोगको लक्षण देखिनुभन्दा धेरै अगाडि नै सम्भावित समस्या पत्ता लगाउन मद्दत गर्छ ।
समयमै रोग पत्ता लागे उपचार सुरु गर्न सकिन्छ र बच्चालाई सामान्य जीवन दिन सकिन्छ । विकसित देशहरूमा न्यूबर्न स्क्रिनिङलाई बच्चाको आधारभूत स्वास्थ्य अधिकारकै रूपमा हेरिन्छ ।
नेपालमा पनि यसको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ ।

न्यूबर्न स्क्रिनिङ भनेको के हो ?
न्यूबर्न स्क्रिनिङ भनेको नवजात शिशुमा जन्मजात हुनसक्ने केही गम्भीर रोगहरू पहिचान गर्न गरिने सुरुवाती परीक्षण हो । यो परीक्षण बच्चा पूर्ण रूपमा बिरामी वा लक्षण देखिसकेपछि होइन, बरु रोगको लक्षण देखिनुअघि नै गरिन्छ ।
धेरैजसो जन्मजात रोगहरू सुरुवातमा चुपचाप शरीरभित्र विकसित भइरहेका हुन्छन् । जन्मिएको ४, ६ महिना, १ वर्ष पछि समस्या देखिनसक्छ । त्यो बेलासम्म निकै ढिला भइसकेको हुन्छ ।
न्यूबर्न स्क्रिनिङको मुख्य उद्देश्य भनेको ‘रोग लागिसकेपछि उपचार गर्नु’ होइन, ‘रोगले क्षति पुर्याउनुअघि नै लक्षण देखा पर्नु अघि रोग पत्ता लगाउन’ हो । यो परीक्षणले बच्चा भविष्यमा गम्भीर समस्या भोग्न सक्छ कि सक्दैन भन्ने स् संकेत दिन्छ ।
यदि रिपोर्टमा कुनै समस्या देखियो भने त्यसपछि थप परीक्षण गरेर रोग पुष्टि गरिन्छ र आवश्यक उपचार सुरु गरिन्छ ।
न्यूबर्न स्क्रिनिङ के अनिवार्य आवश्यकता हो ?
धेरै अभिभावकले ‘बच्चा त सामान्य देखिन्छ, किन परीक्षण गर्नुपर्यो ?’ भन्ने सोच्न सक्छन् । तर समस्या यहीँ छ—धेरै जन्मजात रोगहरू सुरुमा देखिँदैनन् ।
उदाहरणका लागि, जन्मजात हाइपोथाइरोइडिज्म भएको बच्चा जन्मिँदा पूर्ण रूपमा सामान्य देखिन सक्छ । तर केही महिनापछि बच्चा सुस्त हुने, बोल्न ढिला गर्ने, उचाइ नबढ्ने, बौद्धिक विकास कमजोर हुने जस्ता समस्या देखापर्न थाल्छन्।
जबसम्म अभिभावकले समस्या बुझ्छन्, तबसम्म मस्तिष्क विकासमा स्थायी असर परिसकेको हुन सक्छ । यस्तै, सिस्टिक फाइब्रोसिस, फिनाइलकिटोनुरिया, ग्यालेक्टोसेमिया जस्ता रोगहरू पनि सुरुमा सामान्य देखिए पनि पछि गम्भीर समस्या बन्छन् ।
यस्ता रोगहरुले मानसिक, शारीरिक विकासमा असर गरिरहेको हुन्छ । कतिपय बच्चा अल्पआयुमै मृत्युको मुखमा पुग्न सक्छन् । त्यो अवस्ता भोग्न नपरोस् भनेर न्युबर्न स्क्रिनिङ गरिन्छ । समयमै उपचार सुरु गरियो भने बच्चाले सामान्य जीवन बिताउन सक्छ ।
यस्ता रोगहरुले मानसिक, शारीरिक विकासमा असर गरिरहेको हुन्छ । कतिपय बच्चा अल्पआयुमै मृत्युको मुखमा पुग्न सक्छन् । त्यो अवस्ता भोग्न नपरोस् भनेर न्युबर्न स्क्रिनिङ गरिन्छ । समयमै उपचार सुरु गरियो भने बच्चाले सामान्य जीवन बिताउन सक्छ ।
यस परीक्षणको अर्को ठूलो महत्व भनेको परिवारलाई मानसिक र आर्थिक रूपमा जोगाउनु हो । यदि रोग ढिलो पत्ता लाग्यो भने बच्चाको दीर्घकालीन उपचार, अस्पताल खर्च, मानसिक तनाव र सामाजिक समस्या अत्यन्त ठूलो हुन सक्छ ।

न्यूबर्न स्क्रिनिङ कहिले गरिन्छ ?
न्यूबर्न स्क्रिनिङ बच्चा जन्मिएको ४८ घण्टादेखि ७२ घण्टाभित्र गरिन्छ । यो समय सबैभन्दा उपयुक्त मानिन्छ ।
किनभने बच्चा जन्मिएपछि केही समयसम्म शरीरका धेरै मेटाबोलिक प्रक्रिया पूर्ण रूपमा सक्रिय हुँदैनन् । बच्चाले दूध खान थालेपछि मात्रै शरीरका विभिन्न इन्जाइम र हर्मोन प्रणाली सक्रिय हुन थाल्छन् ।
यही कारणले जन्मिने बित्तिकै परीक्षण गर्दा केही रोग छुट्न पनि सक्छन् । सामान्यतया बच्चाले नियमित रूपमा दूध खान थालेको २४–४८ घण्टापछि शरीरको मेटाबोलिजम सक्रिय हुन्छ । त्यसैले, यही समय परीक्षणका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।
यदि बच्चालाई समयमै अस्पतालबाट डिस्चार्ज गरियो भने चिकित्सकले पछि फर्केर परीक्षण गर्न पनि सल्लाह दिन सक्छन् । समयको सही छनोट अत्यन्त महत्वपूर्ण हुन्छ, किनकि धेरै रोगहरू सुरुवाती अवस्थामै पत्ता लगाउन सकिए उपचारको सफलता धेरै बढ्छ ।
परीक्षण कसरी गरिन्छ ?
न्यूबर्न स्क्रिनिङको प्रक्रिया निकै सरल, सुरक्षित र छिटो हुन्छ । यसका लागि बच्चाको खुट्टाको कुर्कुच्चामा सानो सुईले घोचेर केही थोपा रगत निकालिन्छ । निकालिएको रगत विशेष फिल्टर पेपरमा राखिन्छ, जसलाई ‘ड्राइड ब्लड स्पट’ भनिन्छ । यही नमुना प्रयोगशालामा पठाएर विभिन्न रोगहरूको परीक्षण गरिन्छ ।
धेरै अभिभावक बच्चालाई पीडा हुन्छ कि भनेर डराउँछन् । यो प्रक्रिया निकै छोटो हुने भएकोले त्यति दुखाइको अनुभूति हुँदैन । बच्चा रोए पनि तुरुन्त सामान्य हुन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा के भने एउटै सानो रगतको नमुनाबाट धेरै रोगहरूको परीक्षण गर्न सकिन्छ । आज विश्वभर प्रयोग हुने यो विधि सुरक्षित, वैज्ञानिक र प्रभावकारी मानिन्छ ।
न्यूबर्न स्क्रिनिङमा परीक्षण गरिने रोगहरू
न्यूबर्न स्क्रिनिङमा देशअनुसार फरक–फरक रोगहरूको परीक्षण गरिन्छ । नेपालमा सीमित रूपमा केही महत्वपूर्ण रोगहरूको परीक्षण गरिन्छ । यी रोगहरू प्रायः जन्मजात, वंशाणुगत वा मेटाबोलिक समस्या हुन् ।
जन्मजात हाइपोथाइरोइडिज्म

यो थायराइड हर्मोनको कमीका कारण हुने रोग हो । थायराइड हर्मोन बच्चाको मस्तिष्क विकासका लागि अत्यन्त आवश्यक हुन्छ । यदि बच्चामा यो समस्या समयमै पत्ता लागेन भने बच्चा सुस्त हुने, बोल्न ढिला गर्ने, उचाइ नबढ्ने, मानसिक रूपमा कमजोर हुने जस्ता समस्या आउन सक्छन् ।
तर, जन्मिनेबित्तिकै रोग पत्ता लागेर थाइरोइडको औषधि सुरु गरियो भने बच्चाले सामान्य जीवन बिताउन सक्छ ।
कन्जेनिटल एड्रिनल हाइपरप्लेसिया
यो एड्रिनल ग्रन्थीसम्बन्धी रोग हो । यसमा शरीरले आवश्यक स्टेरोइड हर्मोन पर्याप्त मात्रामा बनाउन सक्दैन । यदि बच्चामा यो समस्या समयमै पत्ता लागेन भने गम्भीर कमजोरी, शरीरमा पानी र नुनको असन्तुलन, बारम्बार बिरामी हुने तथा ज्यानसमेत जोखिममा पर्ने अवस्था आउन सक्छ ।
समयमै उपचार सुरु गरियो भने बच्चा सामान्य रूपमा हुर्किन सक्छ ।
सिस्टिक फाइब्रोसिस
यो वंशाणुगत रोग हो, जसले मुख्य रूपमा फोक्सो र पाचन प्रणालीलाई असर गर्छ । यस रोगमा फोक्सोमा बाक्लो खकार जम्ने भएकोले बच्चालाई बारम्बार निमोनिया हुने, खोकी लागिरहने, प्यान्क्रियाजमा असर पर्दा खाना नपच्ने तथा तौल नबढ्ने समस्या हुन्छ ।
पूर्ण उपचार नभए पनि समयमै रोग पत्ता लागेपछि विशेष हेरचाह, फिजियोथेरापी, औषधि र पोषण व्यवस्थापनमार्फत बच्चाको जीवन सहज बनाउन सकिन्छ ।
ग्यालेक्टोसेमिया
यो यस्तो रोग हो, जसमा बच्चाले आमाको दूधमा रहेको ग्यालेक्टोज नामक पदार्थ पचाउन सक्दैन । यसले शरीरमा विषाक्त पदार्थ जम्मा हुन थाल्छ । त्यसकारण कलेजो, आँखा र मस्तिष्कमा असर पर्न सक्छ । समयमै पत्ता लागेन भने बच्चामा मोतिबिन्दु, मानसिक विकासमा समस्या तथा अन्य गम्भीर जटिलता आउन सक्छ ।
जी–६–पीडी डिफिसिएन्सी
यो रगतसम्बन्धी रोग हो । यसमा शरीरले ‘अक्सिडेटिभ तनाव’ सहन सक्दैन । केही औषधि, संक्रमण वा बकुल्लाजस्ता खानेकुराले रातो रक्तकोष फुट्न सक्छ ।
त्यसले गम्भीर एनेमिया, कमजोरी तथा जन्डिस गराउन सक्छ । यदि समयमै रोग पत्ता लाग्यो भने जोखिमयुक्त औषधि र खानेकुराबाट बचाउन सकिन्छ । यसले बच्चालाई गम्भीर समस्याबाट जोगाउँछ ।
फिनाइलकिटोनुरिया
यो दुर्लभ मेटाबोलिक रोग हो, जसमा शरीरले ‘फिनाइलएलानिन’ नामक अमिनो एसिड पचाउन सक्दैन । यसले शरीरमा विषाक्त पदार्थ जम्मा भई मस्तिष्क विकासमा गम्भीर असर पुर्याउन सक्छ ।
समयमै पत्ता लागेन भने बच्चामा बौद्धिक अपांगता, व्यवहारिक समस्या तथा विकासमा ढिलाइ हुन सक्छ । तर, विशेष खानपान व्यवस्थापनमार्फत बच्चालाई सामान्य जीवनतर्फ लैजान सकिन्छ ।
बायोटिनिडेज डिफिसिएन्सी
यो वंशाणुगत रोग हो, जसमा शरीरले बायोटिन (भिटामिन बी ७) पुनः प्रयोग गर्न सक्दैन । यसले छालामा समस्या, कपाल झर्ने, मांसपेशी कमजोर हुने, सुन्ने क्षमता घट्ने तथा स्नायु प्रणालीमा असर गर्न सक्छ ।
समयमै पहिचान गरी बायोटिन सप्लिमेन्ट सुरु गरियो भने बच्चालाई गम्भीर जटिलताबाट जोगाउन सकिन्छ ।
नेपालमा न्युबर्न स्क्रिनिङको अवस्था
अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र फिलिपिन्स लगायत धेरै विकसित देशहरूमा न्युबर्न स्क्रिनिङ नियमित र अनिवार्यजस्तै छ । बच्चा जन्मिने बित्तिकै अस्पतालहरूले परीक्षण गर्छन् । यस्ता देशहरूमा जन्मजात रोगबाट हुने अपाङ्गता र मृत्यु दर उल्लेखनीय रूपमा घटेको छ ।
तर, नेपालमा भने अझै न्युबर्न स्क्रिनिङ सबै अस्पतालमा अनिवार्य भइसकेको छैन । केही सरकारी तथा निजी अस्पताल, ल्याबहरूले मात्रै यो सेवा उपलब्ध गराइरहेका छन् ।
यसो हुनु पछाडि अर्को कारण हो, नेपालमा यसबारे जनचेतना कम हुनु । धेरै अभिभावकलाई यो परीक्षणको महत्व थाहा छैन । केहीले अनावश्यक खर्च सम्झन्छन् ।
तर वास्तवमा यो परीक्षणले भविष्यमा ठूलो खर्च र पीडाबाट जोगाउन सक्छ।
नेपालमा वंशाणुगत रोगहरूको जोखिम, आफन्तबीच विवाह हुने प्रचलन तथा स्वास्थ्य सेवाको सीमित पहुँचलाई हेर्दा न्युबर्न स्क्रिनिङ अझै महत्वपूर्ण देखिन्छ ।
त्यसैले, भविष्यमा सरकारले यसलाई राष्ट्रिय कार्यक्रमको रूपमा विस्तार गर्न आवश्यक छ । ताकी, जन्मजात समस्या लामोसमयसम्म शिशुले भोग्न नपरोस् ।
प्रतिक्रिया 4