+

नवजात शिशु एकदम ठीक देखिन्छ, तैपनि किन गरिन्छ ‘न्यूबर्न स्क्रिनिङ ?’

२०८३ जेठ  ८ गते १६:५६ २०८३ जेठ ८ गते १६:५६

नेपालमा वंशाणुगत रोगहरूको जोखिम, आफन्तबीच विवाह हुने प्रचलन तथा स्वास्थ्य सेवाको सीमित पहुँचलाई हेर्दा न्युबर्न स्क्रिनिङ अझै महत्वपूर्ण देखिन्छ ।

Shares
नवजात शिशु एकदम ठीक देखिन्छ, तैपनि किन गरिन्छ ‘न्यूबर्न स्क्रिनिङ ?’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युबर्न स्क्रिनिङ नवजात शिशुमा जन्मजात रोगहरू लक्षण देखिनुअघि पत्ता लगाउन गरिने परीक्षण हो जसले समयमै उपचार सम्भव बनाउँछ।
  • नेपालमा न्युबर्न स्क्रिनिङ सबै अस्पतालमा अनिवार्य नभए पनि केही सरकारी र निजी अस्पतालहरूले सेवा उपलब्ध गराइरहेका छन्।
  • जन्मजात हाइपोथाइरोइडिज्म, सिस्टिक फाइब्रोसिस, फिनाइलकिटोनुरिया लगायत रोगहरू न्युबर्न स्क्रिनिङबाट पत्ता लगाउन सकिन्छ र समयमै उपचार सुरु गर्न सकिन्छ।

आमाबाबुको एउटै चाहना हुन्छ, ‘आफ्नो बच्चा स्वस्थ, बुद्धिमान र सुखी जीवन बाँचोस् ।’ 

तर सबै बच्चा जन्मिँदा पूर्ण रूपमा स्वस्थ देखिए पनि केही बच्चामा भने शरीरभित्र केही जन्मजात रोगहरू लुकेका हुन सक्छन् । 

यस्ता रोगहरू छन् भने सुरुवाती अवस्थामा बाहिरबाट देखिँदैनन् । बच्चा सामान्य रूपमा दूध खाइरहेको, सुतिरहेको र खेलिरहेको देखिन सक्छ । तर केही हप्ता, केही महिना वा कहिलेकाहीँ केही वर्षपछि मात्रै ती रोगका लक्षणहरू देखापर्न थाल्छन् ।

रोगको लक्षण स्पष्ट रूपमा देखिने बेलासम्म बच्चाको मस्तिष्क, शरीर, वृद्धि र विकासमा गम्भीर असर परिसकेको हुन सक्छ । कतिपय अवस्थामा बच्चा जीवनभर अरूमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। केही रोगले त बच्चाको ज्यानसमेत लिन सक्छ ।

रोगको लक्षण स्पष्ट रूपमा देखिने बेलासम्म बच्चाको मस्तिष्क, शरीर, वृद्धि र विकासमा गम्भीर असर परिसकेको हुन सक्छ । कतिपय अवस्थामा बच्चा जीवनभर अरूमाथि निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। केही रोगले त बच्चाको ज्यानसमेत लिन सक्छ ।

यही कारणले आधुनिक चिकित्सा विज्ञानले ‘न्यूबर्न स्क्रिनिङ’ भन्ने अवधारणा ल्याएको हो । यो यस्तो परीक्षण हो जसले बच्चामा रोगको लक्षण देखिनुभन्दा धेरै अगाडि नै सम्भावित समस्या पत्ता लगाउन मद्दत गर्छ ।

समयमै रोग पत्ता लागे उपचार सुरु गर्न सकिन्छ र बच्चालाई सामान्य जीवन दिन सकिन्छ ।  विकसित देशहरूमा न्यूबर्न स्क्रिनिङलाई बच्चाको आधारभूत स्वास्थ्य अधिकारकै रूपमा हेरिन्छ ।

नेपालमा पनि यसको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ ।

न्यूबर्न स्क्रिनिङ भनेको के हो ?

न्यूबर्न स्क्रिनिङ भनेको नवजात शिशुमा जन्मजात हुनसक्ने केही गम्भीर रोगहरू पहिचान गर्न गरिने सुरुवाती परीक्षण हो । यो परीक्षण बच्चा पूर्ण रूपमा बिरामी वा लक्षण देखिसकेपछि होइन, बरु रोगको लक्षण देखिनुअघि नै गरिन्छ ।

धेरैजसो जन्मजात रोगहरू सुरुवातमा चुपचाप शरीरभित्र विकसित भइरहेका हुन्छन् । जन्मिएको ४, ६ महिना, १ वर्ष पछि समस्या देखिनसक्छ । त्यो बेलासम्म निकै ढिला भइसकेको हुन्छ ।

न्यूबर्न स्क्रिनिङको मुख्य उद्देश्य भनेको ‘रोग लागिसकेपछि उपचार गर्नु’ होइन, ‘रोगले क्षति पुर्‍याउनुअघि नै लक्षण देखा पर्नु अघि रोग पत्ता लगाउन’ हो । यो परीक्षणले बच्चा भविष्यमा गम्भीर समस्या भोग्न सक्छ कि सक्दैन भन्ने स् संकेत दिन्छ ।

यदि रिपोर्टमा कुनै समस्या देखियो भने त्यसपछि थप परीक्षण गरेर रोग पुष्टि गरिन्छ र आवश्यक उपचार सुरु गरिन्छ ।

न्यूबर्न स्क्रिनिङ के अनिवार्य आवश्यकता हो ?

धेरै अभिभावकले ‘बच्चा त सामान्य देखिन्छ, किन परीक्षण गर्नुपर्‍यो ?’ भन्ने सोच्न सक्छन् । तर समस्या यहीँ छ—धेरै जन्मजात रोगहरू सुरुमा देखिँदैनन् ।

उदाहरणका लागि, जन्मजात हाइपोथाइरोइडिज्म भएको बच्चा जन्मिँदा पूर्ण रूपमा सामान्य देखिन सक्छ । तर केही महिनापछि बच्चा सुस्त हुने, बोल्न ढिला गर्ने, उचाइ नबढ्ने, बौद्धिक विकास कमजोर हुने जस्ता समस्या देखापर्न थाल्छन्।

जबसम्म अभिभावकले समस्या बुझ्छन्, तबसम्म मस्तिष्क विकासमा स्थायी असर परिसकेको हुन सक्छ । यस्तै, सिस्टिक फाइब्रोसिस, फिनाइलकिटोनुरिया, ग्यालेक्टोसेमिया जस्ता रोगहरू पनि सुरुमा सामान्य देखिए पनि पछि गम्भीर समस्या बन्छन् । 

यस्ता रोगहरुले मानसिक, शारीरिक विकासमा असर गरिरहेको हुन्छ । कतिपय बच्चा अल्पआयुमै मृत्युको मुखमा पुग्न सक्छन् । त्यो अवस्ता भोग्न नपरोस् भनेर न्युबर्न स्क्रिनिङ गरिन्छ । समयमै उपचार सुरु गरियो भने बच्चाले सामान्य जीवन बिताउन सक्छ ।

यस्ता रोगहरुले मानसिक, शारीरिक विकासमा असर गरिरहेको हुन्छ । कतिपय बच्चा अल्पआयुमै मृत्युको मुखमा पुग्न सक्छन् । त्यो अवस्ता भोग्न नपरोस् भनेर न्युबर्न स्क्रिनिङ गरिन्छ । समयमै उपचार सुरु गरियो भने बच्चाले सामान्य जीवन बिताउन सक्छ ।

यस परीक्षणको अर्को ठूलो महत्व भनेको परिवारलाई मानसिक र आर्थिक रूपमा जोगाउनु हो । यदि रोग ढिलो पत्ता लाग्यो भने बच्चाको दीर्घकालीन उपचार, अस्पताल खर्च, मानसिक तनाव र सामाजिक समस्या अत्यन्त ठूलो हुन सक्छ ।

न्यूबर्न स्क्रिनिङ कहिले गरिन्छ ?

न्यूबर्न स्क्रिनिङ बच्चा जन्मिएको ४८ घण्टादेखि ७२ घण्टाभित्र गरिन्छ । यो समय सबैभन्दा उपयुक्त मानिन्छ ।

किनभने बच्चा जन्मिएपछि केही समयसम्म शरीरका धेरै मेटाबोलिक प्रक्रिया पूर्ण रूपमा सक्रिय हुँदैनन् । बच्चाले दूध खान थालेपछि मात्रै शरीरका विभिन्न इन्जाइम र हर्मोन प्रणाली सक्रिय हुन थाल्छन् ।

यही कारणले जन्मिने बित्तिकै परीक्षण गर्दा केही रोग छुट्न पनि सक्छन् । सामान्यतया बच्चाले नियमित रूपमा दूध खान थालेको २४–४८ घण्टापछि शरीरको मेटाबोलिजम सक्रिय हुन्छ । त्यसैले, यही समय परीक्षणका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

यदि बच्चालाई समयमै अस्पतालबाट डिस्चार्ज गरियो भने चिकित्सकले पछि फर्केर परीक्षण गर्न पनि सल्लाह दिन सक्छन् । समयको सही छनोट अत्यन्त महत्वपूर्ण हुन्छ, किनकि धेरै रोगहरू सुरुवाती अवस्थामै पत्ता लगाउन सकिए उपचारको सफलता धेरै बढ्छ ।

परीक्षण कसरी गरिन्छ ?

न्यूबर्न स्क्रिनिङको प्रक्रिया निकै सरल, सुरक्षित र छिटो हुन्छ । यसका लागि बच्चाको खुट्टाको कुर्कुच्चामा सानो सुईले घोचेर केही थोपा रगत निकालिन्छ । निकालिएको रगत विशेष फिल्टर पेपरमा राखिन्छ, जसलाई ‘ड्राइड ब्लड स्पट’ भनिन्छ । यही नमुना प्रयोगशालामा पठाएर विभिन्न रोगहरूको परीक्षण गरिन्छ ।

धेरै अभिभावक बच्चालाई पीडा हुन्छ कि भनेर डराउँछन् । यो प्रक्रिया निकै छोटो हुने भएकोले त्यति दुखाइको अनुभूति हुँदैन । बच्चा रोए पनि तुरुन्त सामान्य हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा के भने एउटै सानो रगतको नमुनाबाट धेरै रोगहरूको परीक्षण गर्न सकिन्छ ।  आज विश्वभर प्रयोग हुने यो विधि सुरक्षित, वैज्ञानिक र प्रभावकारी मानिन्छ ।

न्यूबर्न स्क्रिनिङमा परीक्षण गरिने रोगहरू

न्यूबर्न  स्क्रिनिङमा देशअनुसार फरक–फरक रोगहरूको परीक्षण गरिन्छ । नेपालमा सीमित रूपमा केही महत्वपूर्ण रोगहरूको परीक्षण गरिन्छ । यी रोगहरू प्रायः जन्मजात, वंशाणुगत वा मेटाबोलिक समस्या हुन् ।

जन्मजात हाइपोथाइरोइडिज्म

यो थायराइड हर्मोनको कमीका कारण हुने रोग हो । थायराइड हर्मोन बच्चाको मस्तिष्क विकासका लागि अत्यन्त आवश्यक हुन्छ । यदि बच्चामा यो समस्या समयमै पत्ता लागेन भने बच्चा सुस्त हुने, बोल्न ढिला गर्ने, उचाइ नबढ्ने, मानसिक रूपमा कमजोर हुने जस्ता समस्या आउन सक्छन् ।

तर, जन्मिनेबित्तिकै रोग पत्ता लागेर थाइरोइडको औषधि सुरु गरियो भने बच्चाले सामान्य जीवन बिताउन सक्छ । 

कन्जेनिटल एड्रिनल हाइपरप्लेसिया

यो एड्रिनल ग्रन्थीसम्बन्धी रोग हो । यसमा शरीरले आवश्यक स्टेरोइड हर्मोन पर्याप्त मात्रामा बनाउन सक्दैन । यदि बच्चामा यो समस्या समयमै पत्ता लागेन भने गम्भीर कमजोरी, शरीरमा पानी र नुनको असन्तुलन, बारम्बार बिरामी हुने तथा ज्यानसमेत जोखिममा पर्ने अवस्था आउन सक्छ ।

समयमै उपचार सुरु गरियो भने बच्चा सामान्य रूपमा हुर्किन सक्छ ।

सिस्टिक फाइब्रोसिस

यो वंशाणुगत रोग हो, जसले मुख्य रूपमा फोक्सो र पाचन प्रणालीलाई असर गर्छ । यस रोगमा फोक्सोमा बाक्लो खकार जम्ने भएकोले बच्चालाई बारम्बार निमोनिया हुने, खोकी लागिरहने, प्यान्क्रियाजमा असर पर्दा खाना नपच्ने तथा तौल नबढ्ने समस्या हुन्छ ।

पूर्ण उपचार नभए पनि समयमै रोग पत्ता लागेपछि विशेष हेरचाह, फिजियोथेरापी, औषधि र पोषण व्यवस्थापनमार्फत बच्चाको जीवन सहज बनाउन सकिन्छ ।

ग्यालेक्टोसेमिया

यो यस्तो रोग हो, जसमा बच्चाले आमाको दूधमा रहेको ग्यालेक्टोज नामक पदार्थ पचाउन सक्दैन । यसले शरीरमा विषाक्त पदार्थ जम्मा हुन थाल्छ । त्यसकारण कलेजो, आँखा र मस्तिष्कमा असर पर्न सक्छ । समयमै पत्ता लागेन भने बच्चामा मोतिबिन्दु, मानसिक विकासमा समस्या तथा अन्य गम्भीर जटिलता आउन सक्छ ।

जी–६–पीडी डिफिसिएन्सी

यो रगतसम्बन्धी रोग हो । यसमा शरीरले ‘अक्सिडेटिभ तनाव’ सहन सक्दैन । केही औषधि, संक्रमण वा बकुल्लाजस्ता खानेकुराले रातो रक्तकोष फुट्न सक्छ ।

त्यसले गम्भीर एनेमिया, कमजोरी तथा जन्डिस गराउन सक्छ । यदि समयमै रोग पत्ता लाग्यो भने जोखिमयुक्त औषधि र खानेकुराबाट बचाउन सकिन्छ । यसले बच्चालाई गम्भीर समस्याबाट जोगाउँछ ।

फिनाइलकिटोनुरिया 

यो दुर्लभ मेटाबोलिक रोग हो, जसमा शरीरले ‘फिनाइलएलानिन’ नामक अमिनो एसिड पचाउन सक्दैन । यसले शरीरमा विषाक्त पदार्थ जम्मा भई मस्तिष्क विकासमा गम्भीर असर पुर्‍याउन सक्छ ।

समयमै पत्ता लागेन भने बच्चामा बौद्धिक अपांगता, व्यवहारिक समस्या तथा विकासमा ढिलाइ हुन सक्छ । तर, विशेष खानपान व्यवस्थापनमार्फत बच्चालाई सामान्य जीवनतर्फ लैजान सकिन्छ ।

बायोटिनिडेज डिफिसिएन्सी

यो वंशाणुगत रोग हो, जसमा शरीरले बायोटिन (भिटामिन बी ७) पुनः प्रयोग गर्न सक्दैन । यसले छालामा समस्या, कपाल झर्ने, मांसपेशी कमजोर हुने, सुन्ने क्षमता घट्ने तथा स्नायु प्रणालीमा असर गर्न सक्छ ।

समयमै पहिचान गरी बायोटिन सप्लिमेन्ट सुरु गरियो भने बच्चालाई गम्भीर जटिलताबाट जोगाउन सकिन्छ ।

नेपालमा न्युबर्न स्क्रिनिङको अवस्था  

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र फिलिपिन्स लगायत धेरै विकसित देशहरूमा न्युबर्न स्क्रिनिङ नियमित र अनिवार्यजस्तै छ । बच्चा जन्मिने बित्तिकै अस्पतालहरूले परीक्षण गर्छन् । यस्ता देशहरूमा जन्मजात रोगबाट हुने अपाङ्गता र मृत्यु दर उल्लेखनीय रूपमा घटेको छ ।

तर, नेपालमा भने अझै न्युबर्न स्क्रिनिङ सबै अस्पतालमा अनिवार्य भइसकेको छैन । केही सरकारी तथा निजी अस्पताल, ल्याबहरूले मात्रै यो सेवा उपलब्ध गराइरहेका छन् ।

यसो हुनु पछाडि अर्को कारण हो, नेपालमा यसबारे जनचेतना कम हुनु । धेरै अभिभावकलाई यो परीक्षणको महत्व थाहा छैन । केहीले अनावश्यक खर्च सम्झन्छन् ।

तर वास्तवमा यो परीक्षणले भविष्यमा ठूलो खर्च र पीडाबाट जोगाउन सक्छ।

नेपालमा वंशाणुगत रोगहरूको जोखिम, आफन्तबीच विवाह हुने प्रचलन तथा स्वास्थ्य सेवाको सीमित पहुँचलाई हेर्दा न्युबर्न स्क्रिनिङ अझै महत्वपूर्ण देखिन्छ ।

त्यसैले, भविष्यमा सरकारले यसलाई राष्ट्रिय कार्यक्रमको रूपमा विस्तार गर्न आवश्यक छ । ताकी, जन्मजात समस्या लामोसमयसम्म शिशुले भोग्न नपरोस् । 

new born screening न्यूबर्न स्क्रिनिङ
डा. जीवन अधिकारी
लेखक
डा. जीवन अधिकारी
कन्सल्टेन्ट प्याथोलोजिस्ट, नेशनल प्याथ ल्याब

डा. अधिकारी नेशनल प्याथ ल्याबका विभागीय प्रमुख हुन्। प्याथोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९७९३ हो ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नवजात शिशु एकदम ठीक देखिन्छ, तैपनि किन गरिन्छ ‘न्यूबर्न स्क्रिनिङ ?’

नवजात शिशु एकदम ठीक देखिन्छ, तैपनि किन गरिन्छ ‘न्यूबर्न स्क्रिनिङ ?’

तल्लो पेट लगातार दुख्नु कतै ‘पीआईडी’को समस्या त होइन ?

तल्लो पेट लगातार दुख्नु कतै ‘पीआईडी’को समस्या त होइन ?

गर्मीमा धेरै पिइने यी पेय पदार्थहरू :  न साँच्चै शीतलता दिन्छन्, न स्वस्थ हुन्छ

गर्मीमा धेरै पिइने यी पेय पदार्थहरू :  न साँच्चै शीतलता दिन्छन्, न स्वस्थ हुन्छ

असुरक्षित गर्भपतन : कतै समाजिक बाध्यता त होइन ?

असुरक्षित गर्भपतन : कतै समाजिक बाध्यता त होइन ?

कस्तो पौष्टिक तत्त्व हो बायोटिन  ? यस कारण चाहिन्छ हाम्रो शरीरलाई

कस्तो पौष्टिक तत्त्व हो बायोटिन ? यस कारण चाहिन्छ हाम्रो शरीरलाई

अनावश्यक रौं हटाउने ‘लेजर हेयर रिमुभल’ कति सुरक्षित ?

अनावश्यक रौं हटाउने ‘लेजर हेयर रिमुभल’ कति सुरक्षित ?