लामो समयदेखि वैज्ञानिकहरूका लागि टाउको दुखाइको विषय बनेको ब्रीदिङ लेजर पल्सको रहस्य समाधान भएको छ। एस्टन विश्वविद्यालयका शोधकर्ताहरूसहितको एक अन्तर्राष्ट्रिय टोलीले यी रहस्यमय लेजरहरूको व्यवहार व्याख्या गर्न सक्ने एउटा नयाँ र एकीकृत गणितीय मोडेल विकास गरेको छ।
साधारण लेजरहरू स्थिर हुन्छन्, तर ‘ब्रीदिङ’ लेजरहरूले उत्पन्न गर्ने प्रकाशका पल्सहरू भने मानिसले सास फेरेझैँ लयबद्ध रूपमा खुम्चिने र फुल्ने गर्छन्। यस्तो अनौठो व्यवहारका कारण यी लेजरहरू आँखाको शल्यक्रिया, बायोमेडिकल इमेजिङ र उन्नत उत्पादन प्रविधिमा अत्यन्तै उपयोगी मानिन्छन्। तर, यिनको कार्यप्रणालीलाई बुझ्न वैज्ञानिकहरूले अहिलेसम्म दुई छुट्टाछुट्टै गणितीय मोडेलहरू प्रयोग गर्दै आएका थिए।
नयाँ अनुसन्धानअनुसार लेजर पावरको न्यूनतम सीमा भन्दा माथि र तल हुने दुवै प्रकारका ‘ब्रीदिङ’ व्यवहारलाई अब एउटै मोडेलले व्याख्या गर्न सक्ने भएको छ। शोधकर्ताहरूले लेजर क्याभिटीभित्र हुने प्रकाशको तीव्र गति र लेजरको ऊर्जा आपूर्तिमा हुने ढिलो परिवर्तनलाई जोडेर एउटा साझा मोडेल तयार पारेका हुन्। एस्टन इन्स्टिच्युट अफ फोटोनिक टेक्नोलोजीकी डा. सोनिया बोस्कोलोका अनुसार अल्ट्रासफ्ट लेजरहरूमा देखिने छिटो र ढिलो दुवै प्रकारका ब्रीदिङ चक्रहरू अब एउटै सिमुलेसनबाट दुरुस्तै निकाल्न सकिन्छ । जुन पहिले असम्भव मानिन्थ्यो।
यो खोजले ‘फिजिकल रिभ्यु लेटर्स’ मा स्थान पाएको छ। यसअघि असम्भव मानिएको यो सफलताले लेजर प्रविधिको डिजाइनमा नयाँ युगको सुरुवात गरेको छ। यसले भविष्यमा अझ शक्तिशाली, भरपर्दो र विशेष अनुप्रयोगका लागि अनुकूल लेजर प्रविधि विकास गर्न इन्जिनियरहरूलाई ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ। यो नयाँ ढाँचाले जटिल लेजर व्यवहारहरूको भविष्यवाणी गर्न र धेरै सिमुलेसनहरूमा निर्भर रहनुपर्ने बाध्यतालाई हटाउन सहयोग गर्नेछ।
प्रतिक्रिया 4