गुगलले आफ्नो पूरै प्रविधि प्रणालीलाई जेमिनी एआईमा केन्द्रित गर्ने रणनीतिको निरन्तरता स्वरूप अब एन्ड्रोइडको ‘प्ले स्टोर’ मा पनि व्यापक परिवर्तनको घोषणा गरेको छ। गुगल आई/ओ मा घोषणा गरिएका यी नयाँ सुविधाहरूले प्रयोगकर्तालाई नयाँ एप वा गेमहरू खोज्न सजिलो बनाउनुका साथै गेम खेल्दा एआईको प्रत्यक्ष सहयोग उपलब्ध गराउनेछन्।
जेमिनी एआईले वेब र एन्ड्रोइड दुवै प्लेटफर्ममा प्रयोगकर्ताको रुचि अनुसारका एप तथा गेमहरू सिफारिस गर्न थाल्नेछ। यसै वर्षको अन्त्यसम्ममा यो सेवालाई अझ व्यापक बनाउँदै प्ले स्टोरमा रहेका ४ लाख ५० हजारभन्दा बढी चलचित्र, टिभी शो, र लाइभ खेलकुद स्ट्रिमिङको जानकारी दिने गरी एआई सिफारिस प्रणाली विस्तार गरिने गुगलले जनाएको छ।
यदि तपाईँ प्ले स्टोरमा कुनै विशेष प्रकारको एप वा गेम खोज्दा अलमलमा पर्नुभएको छ भने अब जेमिनी-संचालित नयाँ च्याटबोट ‘आस्क प्ले’ ले तपाईँलाई मद्दत गर्नेछ। यो एउटा विशेष ओभरले स्क्रिन हो, जहाँ प्रयोगकर्ताले आफूलाई चाहिएको एपका बारेमा साधारण भाषामा प्रश्न सोधेर सही विकल्प फेला पार्न सक्छन्।
यसले प्ले स्टोरमा पहिलेदेखि रहेको प्रश्नोत्तर टुललाई अझ सटिक बनाउँदै सर्च नतिजाको माथिल्लो भागमा ‘हाइलाइट्स’ को रूपमा मुख्य जानकारीको सारांश पनि देखाउनेछ।
गेम खेल्न रुचाउनेहरूका लागि गुगलले ‘प्ले गेम्स साइडकिक’ नामक एआई असिस्टेन्ट ल्याएको छ। गेम खेलिरहेकै बेला स्क्रिनको एउटा कुनामा खुल्ने यो फिचरले खेल जित्नका लागि एआई-गेम टिप्स र विभिन्न ‘अचिभमेन्ट्स’ हासिल गर्न सघाउनेछ। गत मार्च महिनादेखि नै केही प्रयोगकर्ताका लागि उपलब्ध गराउन थालिएको यो फिचरलाई अब विश्वभर विस्तार गरिँदै छ। यसमा नयाँ सोसल फिचर्स पनि थपिएका छन्, जसले तपाईँका कुन-कुन साथीहरूले त्यही गेम खेलिरहेका छन् भन्ने कुरा सजिलै देखाउँछ।
गुगलले एप विकासकर्ताहरूका लागि पनि जेमिनी टुलहरू उपलब्ध गराएको छ। यसको मद्दतले उनीहरूले आफ्ना एपहरूलाई लोकलाइज गर्न सक्नेछन्। साथै, बजारमा चलिरहेका चर्चित सर्च ट्रेन्डहरूलाई आफ्ना एप विवरणहरूमा स्वचालित रूपमा लागु गरेर प्रयोगकर्तामाझ एपको पहुँच बढाउन सक्नेछन्।
यो अपडेटसँगै गुगल प्ले स्टोर केवल एप डाउनलोड गर्ने ठाउँ मात्र नभई जेमिनी एआईको सहयोगमा नयाँ डिजिटल सामग्रीहरू अन्वेषण गर्ने एउटा स्मार्ट चौतारी बन्ने देखिएको छ।
प्रतिक्रिया 4